६ वैशाख २०८१ बिहीबार
खेल

फिफा अध्यक्षले विश्वकपमा ४८ टोलीको प्रस्ताव गर्ने

बोगोटा(रोयटर्स)– निर्वाचनका बेला विश्वकपमा सहभागी टोली संख्या बढाएर ४० पु¥याउने एजेन्डा ल्याएका फिफा अध्यक्ष जियानी इन्फान्टिनोले सोमबार अझै ठूलो विश्वकप गर्ने प्रस्ताव गरेका छन्।

इन्फान्टिनोले विश्वकपमा ४८ टोली सहभागी गराउने प्रस्ताव गर्दै १६ टोली नकआउट प्रणालीमा पहिलो चरण खेलेर घर फर्किने व्यवस्था सुझाएका छन् । बाँकी रहेका ३२ टोलीले अहिलेजस्तै समूह चरण खेलेर नकआउट चरणमा छानिने प्रावधानअनुसार खेल्ने इन्फान्टिनोको प्रस्तावमा छ ।

बोगोटाको सर्जियो आर्बोलेडा विश्वविद्यालयमा बोल्ने क्रममा इन्फान्टिनोले आफ्नो प्रस्तावमाथि फिफाको काउन्सिलले जनवरीमा निर्णय गर्ने बताएको कोलम्बियाली सञ्चारमाध्यमले जनाएको छ । फिफाका एक प्रवक्ताले कोलम्बियाली सञ्चारमाध्यममा छापिएको समाचारबारे पुष्टि गरेका छन् ।

‘यो विश्वभरका फुटबलप्रेमीको चाहना सम्बोधन गर्ने सबैभन्दा उत्कृष्ट उपाय हुनसक्छ । हामी यो विषयमा यही महिना छलफल सुरु गर्नेछौं र फिफाले २०१७ मा सबथोक निर्णय गर्नेछ,’ इन्फान्टिनोले भने, ‘यस बाहेक पनि अरु धेरै सुझाव आएका छन् । सबै प्रस्तावलाई छलफलमा राखेपछि सर्वोत्कृष्टमा निर्णय गरिनेछ ।’

इन्फान्टिनोको प्रस्तावअनुसार आयोजक देशमै पहिलो चरणमा ३२ टोलीले नकआउट प्रणालीमा एक खेल खेल्नेछन् । जित्ने टोली समूह चरणका लागि छानिनेछन् भने पराजित हुने टोली एक खेलबाटै घर फर्किने छन् । पहिलो चरणमा उच्च वरीयताका १६ टोलीले भने खेल्ने छैनन् । यसरी पहिलो चरणमा वाइ पाएका शीर्ष वरियताका १६ टोलील समुह चरणमा छनोट भएर आएका १६ टोलीसँग मिसिन्छन् ।

‘हामी अहिले हुँदै आएको ३२ टोलीको विश्वकपलाई पनि निरन्तरता दिन चाहन्छौं । तर यस्तो व्यवस्था स्विकार्ने हो भने थप १६ टोलीले महोत्सवको हिस्सा बन्न पाउने छन्,’ इन्फान्टिनोले भने, ‘फिफा विश्वभर फुटबललाई उत्तिकै लोकप्रिय र विकसित गर्न चाहन्छ । विश्वभरका फुटबलप्रेमीका लागि विश्वकप सबैभन्दा ठूलो प्रतियोगिता हो । यो एउटा प्रतियोगितामा मात्र सीमित छैन । फुटबल विश्वकप भनेको एउटा ठूलो सामाजिक इभेन्टका रूपमा स्थापित भइसकेको छ ।’

प्रकाशित: १९ आश्विन २०७३ ०१:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App