७ वैशाख २०८१ शुक्रबार
खेल

सामूहिक नेतृत्वमा दुवै उम्मेदवारको जोड

नेपालमा फुटबल झन्डै १ सय वर्षअघि राणाहरूले आफ्नै सौख पूरा गर्न भित्र्याएको भनाइ छ। सन् १९३४ देखि औपचारिक रूपमा प्रतियोगिता हुन थालेको इतिहास भए पनि सन् १९५१ मा पहिलोपल्ट नेपालमा फुटबल संघ स्थापना भएको थियो। तत्कालीन जनरल नरशम्शेर जबराको अध्यक्षतामा स्थापित फुटबल संघले १९७२ मा विश्व फुटबलको सर्वोच्च निकाय फिफाको सदस्यता पाएको थियो। जबकि त्यसअघि १९५४ मै नरशम्शेरले नेपाललाई एसियाली फुटबल महासंघ (एएफसी) को सदस्य बनाइसकेका थिए। दक्षिण एसियाली फुटबल महासंघ (साफ) मा भने नेपाल १९९७ को संस्थापक सदस्य नै हो।

झन्डै एक शताब्दीको इतिहास बोके पनि फुटबल संघ पहिलोपल्ट नेतृत्वका लागि निर्वाचन गर्ने अन्तिम तयारीमा छ । अध्यक्षका रूपमा १८ वर्ष अखिल नेपाल फुटबल संघ (एन्फा) हाँकेका गणेश थापालाई फिफाले १० वर्षे प्रतिबन्ध लगाएपछि निर्वाचनको वातावरण जुरेको थियो । थापा निलम्बनमा रहँदा कार्यवाहक अध्यक्षका रूपमा नेतृत्व प्रदान गरेका उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको पनि गतवर्ष करेन्ट लागेर मृत्यु भएपछि एन्फामा अध्यक्ष र उपाध्यक्ष दुई पद रिक्त रह्यो । तिनै रिक्त पदपूर्तिका लागि एएफसीले तत्काल निर्वाचन गर्न निर्देशन दिएपछि कात्तिक ८ मा एन्फाको निर्वाचन हुने भएको छ । यसअघि सधैँ निर्वाचन तथा साधारणसभा औपचारिकतामै सीमित हुने गरेको एन्फामा पहिलोपटक अध्यक्ष पदका लागि आ–आफ्नो पक्षको नेतृत्व गर्दै वर्तमान कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ र उपाध्यक्ष एवं थापाविरुद्धको आन्दोलनका अगुवा कर्माछिरिङ शेर्पा मैदानमा उत्रिएका छन् । उम्मेदवारी दिने चर्चा चले पनि पूर्वराष्ट्रिय खेलाडी विज्ञानराज शर्माले चुनावी प्रतिस्पर्धामा आफूलाई उभ्याएनन् । एन्फा अध्यक्ष पदका अर्का प्रत्याशी मनाङ मस्र्याङ्दी क्लबका संस्थापक अध्यक्ष टासी घलेले पनि उम्मेदवारी दिन पाएनन् । घलेको उम्मेदवारीका लागि एन्फा निर्वाचन निर्देशिकामा रहेको पाँच प्रस्तावक र पाँच समर्थक हुनुपर्ने प्रावधान बाधक रह्यो । उम्मेदवारी दिन नसकेपछि घलेले एन्फा निर्वाचनलाई लोकतन्त्रमा हुन लागेको घोर अलोकतान्त्रिक अभ्यासका रूपमा बयान गरेका छन् । उपाध्यक्षमा भने श्रेष्ठ पक्षबाट मणि कँुवर तथा शेर्पा पक्षबाट दीपक खातीले उम्मेदवारी दिएका छन् । यसैगरी राष्ट्रिय टोलीका पूर्वकप्तान उपेन्द्रमान सिंहले पनि उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । आइतबार दुवै पदका लागि उम्मेदवारी दर्ता गराउने अन्तिम दिन थियो । यसै सेरोफेरोमा नागरिक दैनिकका लागि अजय फुयाल र सुजन श्रेष्ठले अध्यक्ष पदका दुवै प्रत्यासीसँग एउटै प्रश्न सोध्दा उनीहरूले दिएका उत्तरको संक्षेप:

नरेन्द्र श्रेष्ठ

कार्यवाहक अध्यक्ष एन्फा

तपाईको उम्मेदवारी किन ?

– मेरो उम्मेदवारी नेपाली फुटबलको विकासमा हामीले यसअघि थालेका कामको निरन्तरताका लागि हो । हामीले फुटबलमा धेरै काम गरेका छौं, सँगै आगामी दिनका लागि पनि थुप्रै योजना बनाएका छौं । त्यसलाई अलपत्र छोड्न मिल्दैन । त्यसैले मेरो नेतृत्व अहिलेको आवश्यकता हो ।

विजयी भए के गर्नुहुन्छ ?

– फुटबल विकासका लागि हामीले अहिले गरिरहेका कामलाई निरन्तरता दिनु मेरो पहिलो प्राथमिकता हुनेछ । खासगरी ग्रासरुट विकासका कार्यक्रम, विभिन्न जिल्ला फुटबल संघ र काठमाडौंका क्लबहरूलाई सशक्त बनाउँदै उनीहरूलाई अझै क्रियाशील गराउनु मेरो प्राथमिकता सूचीमा अगाडि पर्ने अर्को विषय हो । किनकि नेपालको फुटबल विकासको सबैभन्दा बलियो खम्बा क्लब र जिल्ला नै हुन् । फुटबललाई अगाडि बढाउने योजना बुन्न यी दुई पक्षको सन्तुलित विकास सबैभन्दा जरुरी छ ।

३. हारेमा तपाईको भूमिका फुटबलमा के हुन्छ ?

– म पूरा जीवन फुटबलमा लागेको मान्छे हुँ । म क्लबमार्फत सधैँ फुटबलमा लागिरहनेछु । अहिले पनि म एनआरटी क्लबमा सक्रिय छु । हारेँ भने पनि फुटबलबाट भाग्न सक्दिनँ । फुटबलमै जीवन बिताउने हुँ । म हारेँ भने पनि क्लबमार्फत सक्रिय हुन्छु र फुटबल संघमा पनि कुनै जिम्मेवारी दिए सहयोगीको भूमिकामा काम गर्न सधँै तत्पर रहनेछु ।

४. प्रशासनिक सुधारका योजना के के छन् ?

– एन्फामा आर्थिक पारदर्शिता गर्नु, सामूहिक नेतृत्वका आधारमा संस्था चलाउनु, देशको अवस्थाअनुसार विकेन्द्रीकरणका योजना ल्याउनु, जिल्लालाई थप स्वायत्त पार्दै सक्रिय बनाउनु, एन्फाको प्रशासनिक नियमावली बनाएर लागू गर्नु मेरो योजनाका विषय हुन् । साथमा म सामूहिक नेतृत्वमा विश्वास गर्ने मानिस भएकाले टिमका अन्य साथीहरूको सल्लाहअनुसार अरु विकासका कार्यक्रम ल्याइनेछ ।

५. मैदानभित्रको फुटबल विकासका लागि कस्ता योजना छन् ?

– रेफ्री र प्रशिक्षकको क्षमता वृद्धि नगरी फुटबल माथि उकास्न सकिन्न । त्यसैले यस्ता प्राविधिकको क्षमता वृद्धिका लागि एन्फाले गरिरहेका कार्यक्रमलाई निरन्तरता दिँदै एएफसी र फिफासँग अनुरोध गरेर थप कार्यक्रम ल्याउने । राष्ट्रिय टिमलाई सधैँ तयार राख्नु मेरो अर्को प्राथमिकताको विषय हो । सबै उमेर समूह, महिला तथा महिलाका पनि सबै उमेर समूहमा हामीसँग सधैँ तयार राष्ट्रिय टोली चाहिन्छ । मुख्य रूपमा महिलामा साफ च्याम्पियनसिप तथा पुरुषमा पनि साफ च्याम्पियनसिप र एएफसी सोलिडारिटी कपमा च्याम्पियन हुनु हाम्रो लक्ष्य हो । त्यहीअनुसार तत्काल तयारी थालिनेछ । यसपालिबाट ए डिभिजन लिगलाई निरन्तरता दिने, राष्ट्रिय लिगलाई अझ व्यवस्थित गर्ने, महिला लिगलाई निरन्तरता दिने र महिलामा सबै उमेर समूहका प्रतियोगिता गर्ने हामीले योजना बनाएका छौं ।

६. जिल्ला फुटबल संघ र क्लबहरूबीच द्वन्द्वको अवस्था छ । यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?

– नेपाली फुटबलमा जिल्ला र काठमाडौंका क्लब दुवै मेरुदण्ड हुन् । खासमा सतहमा भनिएजस्तो जिल्ला र क्लबबीच कुनै द्वन्द्व छैन । तथापि दुवैलाई सन्तुलित रूपमा कसरी सशक्त बनाउँदै लाने भन्ने विषयमा छलफल सुरु भइसकेको छ । एएफसीको नियमअनुसार २०१८ सम्ममा क्लब लाइसेन्सिङ लागू गर्नैपर्ने बाध्यता छ । त्यसैले हामी २०१७ मा ट्रायलका रूपमा त्यो लागू गर्ने योजनामा छौं । यस्ता कार्यक्रम सञ्चालन गर्दा सतहमा देखिएका धेरै कुरा आफै मिल्छन् । देश संघीयतामा जाने पक्का भइसकेको छ । संघीयता लागू भएपछि हामीले पनि एन्फाको विधान त्यहीअनुसार परिमार्जन गर्नुपर्छ । त्यतिबेला एएफसी, जिल्ला, क्लब तथा अन्य सरोकारवालाहरूको संयुक्त प्रयासमा केही समस्या भए पनि त्यसलाई मिलाइने छ ।

७. अध्यक्षमा उम्मेदवारी दिन पाँच प्रस्तावक र पाँच समर्थक हुनुपर्ने व्यवस्था प्रजातान्त्रिक हो ?

– एएफसी र फिफाको गाइडलाइनअनुसार चल्नुपर्ने बाध्यता थियो । फिफा र एएफसीले २०७० कात्तिक ७ मा भएको अघिल्लो चुनावकै निर्देशिकाअनुसार यसपालि निर्वाचन गर्नू भन्ने निर्देशन जारी गरेपछि त्यसलाई हामीले पालना गर्नैपर्छ । नत्र हामीलाई एक प्रस्तावक र एक समर्थक हुनु वा पाँच÷पाँच हुनुले खास अर्थ राख्दैन । हामी एक प्रस्तावक र एक समर्थकमात्र राख्ने व्यवस्थाका लागि पनि सहमत थियौं ।

८. यो निर्वाचनपछि नेपाली फुटबलको विवाद दीर्घकालीन रूपमा समाप्त हुन्छ ?

– विवाद समाप्त गर्नैपर्छ । फुटबल विकास गर्ने हो भने मिलेर जानैपर्छ । चुनाव भएपछि एउटाले जित्ने अर्कोले हार्ने स्वाभाविक हो । हार्नेले स्पोर्टसम्यान स्पिरिटअनुसार त्यसलाई स्विकारेर जित्नेलाई सहयोग गर्नुपर्छ । चुनावको प्रक्रियामा कोही समेटिएका छैनन् भने तिनलाई पनि समेटेर अघि बढाउनुपर्ने जिम्मेवारी जित्नेमा रहन्छ ।

कर्माछिरिङ शेर्पा

उपाध्यक्ष, एन्फा

१. तपाईको उम्मेदवारी किन ?

– नेपाली फुटबलमा परिवर्तनका लागि मेरो उम्मेदवारी हो । परिवर्तन भनेको आर्थिक सुशासन, प्रशासनिक र नीतिगत पारदर्शिता हो । संस्थामा सामूहिक नेतृत्वको विकास गर्न, विकेन्द्रीकरणको सिद्धान्तका आधारमा संघको विकास गर्न, फुटबललाई ग्रासरुटबाटै व्यवस्थित ढंगले विकास गर्दै लैजान र क्लब फुटबललाई व्यावसायिक बनाउन पनि मेरो उम्मेदवारी हो ।

२. विजयी भए के गर्नुहुन्छ ?

– एन्फामा आर्थिक नियमावली छैन । नेतृत्वमा आउनेबित्तिकै आर्थिक नियमावली ल्याउँछु । तत्काल राष्ट्रिय खेलकुद परिषद (राखेप) को आर्थिक नियमावलीका आधारमा खर्च व्यवस्थापन गर्ने काम थाल्छु । २ महिनाभित्र साधारणसभा बोलाएर आर्थिक र प्रशासनिक नियमावली अनुमोदन गर्नेछु । विधानमा केही समस्या छन्, त्यसैले तत्काल विधान परिमार्जन गर्नुपर्नेछ । संघमा भएका विभिन्न समितिहरूलाई कार्यविधि बनाएर सक्रिय बनाउने, जिल्लालाई अनुदानको व्यवस्था गर्ने र सबै ४५ जिल्लामा ट्रेनिङ सेन्टर बनाउनका लागि बजेटको व्यवस्थापन गर्दै लिगलाई निरन्तरता दिन तत्काल पहल गर्नेछु ।

३. हारेमा तपाईको भूमिका फुटबलमा के हुन्छ ?

–  त्यस्तो भयो भने क्लब सञ्चालन गरेर फुटबल विकासमा योगदान गर्छु र संन्यासको बाटोतिर उन्मुख हुन्छु ।

४. प्रशासनिक सुधारका योजना बुँदागत रूपमा ?

– प्रशासनिक काम कारबाही चुस्त दुरुस्त बनाउने, सरकारी नियमअनुसार ९ देखि ५ बजेसम्म कार्यालय सञ्चालन गर्ने, विभिन्न विभागहरू छुट्टाएर त्यसअनुरुप काम बाँडफाँट गर्ने व्यवस्था मिलाउँछु । जिल्ला र क्लबका साथीहरूले अहिले अत्यावश्यक सूचना पनि भनेको समयमा पाउने अवस्था छैन । त्यसैले सरकारी नियमअनुसार कार्यालय सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।

५. मैदानभित्रको फुटबल विकासका योजना ?

– फुटबल विकासको मेरुदण्ड भनेको ग्रासरुट नै हो । फुटबलको विकास गर्न ग्रासरुटमा दीर्घकालीन योजना चाहिन्छ । हाललाई सबै जिल्लामा टे«निङ सेन्टरको व्यवस्था गर्नु मेरो प्राथमिकतामा हुनेछ साथमा एकेडेमीको व्यवस्थित सञ्चालन पनि अहिलेको आवश्यकता हो । लिग खेल्ने क्लबलाई खेलेरै टिक्न सक्ने बनाउनु मेरो योजना हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता नियमित आयोजना गर्ने र सहभागिता जनाउने, राष्ट्रिय टोलीको तयारीलाई वैज्ञानिक बनाउने र सुक्ष्म अध्ययन गरेर छनोट प्रक्रिया पारदर्शी बनाउने, अन्तर्राष्ट्रिय नियम र मापदण्डअनुसार खेलाडीलाई अभ्यास गर्ने व्यवस्था मिलाउने काम गरिनेछ ।

६. जिल्ला फुटबल संघ र क्लबहरूबीच द्वन्द्वको अवस्था छ । यसलाई कसरी व्यवस्थापन गर्नु हुन्छ ?

– खासमा मैले क्लब र जिल्लाबीचमा अहिले कुनै द्वन्द्व देखेको छैन । कसैले स्वार्थका लागि द्वन्द्व सिर्जना गरेको हो । अहिले सबैले फुटबलमा विकास र पारदर्शितामात्र चाहेको मैले पाएको छु । जिल्ला र क्लबबीच राम्रो सम्बन्ध छ । फुटबल राजनीतिमार्फत पदमा बसिरहन चाहनेले कहिले जिल्ला देखाएर क्लब तर्साउने र कहिले क्लब देखाएर जिल्ला तर्साउने काम गरेका हुन् । तर मेरो विचारमा फुटबल विकासका लागि सबै एक छन् ।

७. अध्यक्षमा उम्मेदवारी दिन पाँच प्रस्तावक र पाँच समर्थक हुनुपर्ने व्यवस्था प्रजातान्त्रिक हो ?

– एकैपटक सबै परिवर्तन सम्भव हुँदैन । हामीले सधैँ संस्था विधि र विधानअनुसार चल्नुपर्छ भन्दै आएका छौं । अहिलेको समय तत्काल निर्वाचन गरेर धेरै कुरालाई ठिक ठाउँमा ल्याउने बेला हो । तत्काल विधान परिवर्तन सम्भव हुँदैन । पूर्ण प्रजातान्त्रिक विधान तत्काल ल्याउन सम्भव थिएन । त्यसका लागि मस्यौदा समिति बनाउने, फिफा, एएफसी र राखेप जस्ता निकायको गाइडलाइन लिने, त्यसपछि मस्यौदा गरेर कार्यसमितिबाट पास गर्ने र साधारणसभाबाट अनुमोदन गराउने लामो प्रक्रिया पूरा गर्नुपर्छ । पुरानै विधानमा चुनाव स्विकार्नु अहिलेको बाध्यता हो । विधान कहिल्यै पनि अपरिवर्तनीय हुँदैन। समयअनुसार परिवर्तन हुँदै जाने क्रममा यो व्यवस्था पनि आगामी दिनमा रहन्न।

८. यो निर्वाचनपछि नेपाली फुटबलको विवाद दीर्घकालीन रूपमा समाप्त हुन्छ?

– विगतमा एन्फा संस्थागत रूपमा नचलेको, आर्थिक पारदर्शिता नभएको, विधि र विधानअनुसार नचलेको, ग्रासरुट र विकेन्द्रीकरणको आधारमा विकास नभएको, क्लब फुटबललाई व्यावसायिक नबनाइएको लगायतका कुरा उठाएर विवाद भएका हुन् । आगामी दिनमा यी सबै काम गर्ने हो भने मानिसलाई काम गरेरै फुर्सद हुँदैन । विवाद गर्ने समय कसैसँग हुँदैन । फेरि अहिलेसम्म पनि फुटबलमा भएका विकृति र विसंगतिविरुद्ध आवाज उठाउँदा त्यसलाई विवाद भन्न मिल्दैन जस्तो मलाई लाग्छ।

प्रकाशित: १२ आश्विन २०७३ ०१:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App