२४ असार २०७७ बुधबार
खेल

फुपुल्हामुलाई एसियाली स्तरको पदक

काठमाडौं- दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदकधारी खेलाडी फुपुल्हामु खत्रीले आइतबार एसियाली जुनियर जुडो च्याम्पियनसिपमा कांस्य पदक जितेकी छिन्। ओलम्पियन फुपुल्हामुले भारतको कोचीमा आइतबार सम्पन्न प्रतियोगिताको १७औं संस्करणमा इरानकी मोहम्दीबान्दबोनी नासिमलाई सिमिवाजा(घाटीमा लक लगाएर)मा पराजित गरिन्। ६७ केजीको प्रतिस्पर्धामा फुपुल्हामुलाई क्वार्टरफाइनलमा हराएकी दक्षिण कोरियाकी ली सोहीले स्वर्ण पदक जितिन। उक्त तौल समुहमा काजकिस्तानकी सालुकी अजहरले रजत जितिन भने कांस्य पदक जित्ने अर्की खेलाडी उज्वेकिस्तानकी माममुन ओभा माखिलो थिइन।

फुपुल्हामु पछिल्लो समय नेपालको लागी महत्वपूर्ण सफलता हासिल गर्ने खेलाडी हुन्। उनले भारतमा भएको १२औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जितेकी थिइन। ब्राजिलमा सम्पन्न रियो ओलम्पिनमा पनि उनको प्रदर्शन सुधारोन्मुख थियो।

प्रयोग गरेको टेक्निक सफल नहुँदा कोरियाली खेलाडीसँग हार्नु परेको फुपुल्हामुको भनाई थियो। 'काउन्टरमा कोरियनलाई कम्मरमा समातेर लडाउन खोजेकी थिएँ। पावर ब्यालेन्स नहुँदा त्यो सफल भएन। त्यही गल्तीलाई विपक्षीले सदुपयोग गरिन,' फुपुल्हामुले भनिन, 'कोरियनसँग हारे पनि इरानीलाई हराउन कठिन भएन। मेरो लक्ष्य प्रतियोगितामा जसरी भए पनि पदक जित्ने थियो। त्यो पूरा भएको छ। खुसी छु। एसियाली स्तरको खेलमा सबै प्रतिद्वन्द्वी बलिया हुन्छन। मलाई साग र ओलम्पिकको अनुभवले पदक जित्न सहयोग पुग्यो।'

यसैगरी प्रतियोगितामा आइतबार नेपालकी पुनम महर्जन ७० केजी तौल समुहमा चाइनिज ताइपेइकी चाङ सु चु र काजिकिस्तानकी कास्यान झानरसँग पराजित भएकी थिइन। शनिबार देखी सुरु भएको एसियाली जुनियर जुडोमा नेपालको ७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

नेपालबाट किरण गडेल, सुदीश दोङ, रामभक्त तामाङ, अञ्जु पाण्डे, मनीषा महर्जन, फुपुल्हामु र पुनमले प्रतिस्पर्धा गरेका थिए।

सोही प्रतियोगिता दौरान भएको १०औं एसियाली क्याडेट जुडो च्याम्पियनसिपमा नेपालकी मनिता प्रधान श्रेष्ठले शुक्रबार कांस्य पदक जितेकी थिइन। उनले ५७ केजी तौल समुहमा किर्गिस्तानकी काडीरोभा जिरेगुललाई वाजारीमा हराउँदै कांस्य प्राप्त गरेकी थिइन।

खेलाडीसँगै भारत पुगेका नेपाल जुडो संघका अध्यक्ष दिपकहर्ष बज्राचार्यले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन भएको बताए। उनले भने, 'फुपुले इरानी खेलाडीविरुद्ध आत्मविश्वासका साथ खेलिन। उनले आफ्नो क्षमताअनुसार उत्कृष्ट खेलेकी थिइन। फुपुसँगै मनिता र केही ब्वाइज खेलाडीले पनि राम्रो खेले।'

जुडो युनियन एसियाको एजुकेशन एन्ड कोचिङ निर्देशकको भुमिकामा सहभागी भएका बज्राचार्यले अनुभवको आधारमा नेपाली खेलाडीको प्रदर्शनबाट उत्साहित भएको बताए।

प्रकाशित: २७ भाद्र २०७३ १०:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App