७ वैशाख २०८१ शुक्रबार
खेल

प्रतियोगिता आयोजना गर्न प्रदेश खेलकुद परिषदद्वारा बजेट विनियोजन

प्रदेशस्तरीय खेलकुद प्रतियोगिताको आयोजना गर्न गण्डकी खेलकुद परिषदले आवश्यक बजेट छुट्टाएको छ। केही खेल सम्पन्न भईसकेको छ। केही खेल भने आयोजनाका संघारमा छन्।  

प्रदेश खेलकुद परिषद गण्डकीले राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गरिएको विभिन्न ३५ खेलको लागि बजेट छुट्टाइएको परिषदका उपाध्यक्ष ध्वजकुमाजर गुरुङले बताए। ‘बजेट छुट्टाएपनि प्रदेश र संघका निर्वाचनले आचार संहिता लाग्यो,’ उनले भने, ‘प्रदेशमा मन्त्रीमण्डल बनेपछि छुट्टाएको खेलकुद बजेटले धमाधम प्रतियोगिता आयोजना गर्ने तयारी छ।’ 

परिषदले प्रदेशस्तरीय फुटबल तथा क्रिकेट प्रतियोगिताको लागि १०÷१० लाख रुपैयाँ उपलब्ध गराएको छ। छुट्टाईएको बजेटले क्रिकेट प्रतियोगिता आयोजनाको तयारी गरिएको कास्की जिल्ला क्रिकेट संघले जनाएको छ। ‘छुट्टाएको बजेटबाट क्रिकेट प्रतियोगिता गर्ने तयारीमा छौं,’ क्रिकेट संघ कास्कीका अध्यक्ष सन्जयकान्त सिग्देलको भनाई छ।  

भलिबल तथा बास्केटबल प्रतियोगिताको लागि १६ लाख रुपैयाँ छुट्टाइएको परिषद उपाध्यक्ष गुरुङले जानकारी दिए। त्यसैगरी जुडो, आर्चरी, हाप्किडो, शारीरिक सुगठन, साईक्लिङ, जिमन्याष्टिक, हक्की, टेबल टेनिस(टिटी), मुआथाई, आईटिफ तेक्वान्दो र लन टेनिसको लागि ३३ लाख रुपैयाँ छ। ‘११ वटा खेललाई ३ लाख रुपैयाँका दरले छुट्टाइएको छ,’ उनले सुनाए।

बक्सिङ, फुलकन्ट्याक्ट कराँते, तेक्वान्दो, भारोत्तोलन, ह्याण्डबल, ट्रायथलोन, व्याडमिन्टनलाई गरी ४५ लाख रुपैयाँ छुट्टाइएको छ। उसु, रग्बी, फेन्सिङ, पौडी, गल्फ, कबड्डी, स्क्वास, बुद्धिचाल, कुस्ती, सेपाकताक्रो र खो खो खेलको लागि पनि २२ लाख रुपैयाँ छुट्टाइएको छ।  

‘सबै खेललाई समेटेर बजेट बनाइएको हो,’ परिषद उपाध्यक्ष गुरुङ सुनाउँछन्। कास्की जिल्ला आर्चरी संघले आगामी फागुनको पहिलो साता प्रदेशस्तरीय आर्चरी प्रतियोगिता गर्ने तयारी समेत गरेको छ। आर्चरी संघले दोस्रो गण्डकी प्रदेशस्तरीय आर्चरी प्रतियोगिता गर्ने जनाएको छ। आगामी फागुन ५ र ६ गते गर्ने उल्लेख गरेको छ। संघले रिकर्भ ओपन पुरुष र महिला दुवै इभेण्टमा प्रतिस्पर्धा गराउने जनाएको छ।

 त्यस्तै स्टाण्डर्ड पुरुष तर्फ र ६० वर्ष माथिको पुरुषको भेट्रान्स प्रतियोगितालाई समेत समेटिएको कास्की जिल्ला आर्चरी संघले जनाएको छ। ‘विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगिता गर्ने तयारीमा छौं’ कास्की जिल्ला व्याडमिन्टन संघका अध्यक्ष सुशीलकुमार श्रेष्ठले भने, ‘प्रदेशको बजेटले विद्यलायस्तरीय आयोजना गर्ने छौ।’  

आगमी अप्रिल ६ मा विश्व टेबल टेनिस दिवस हो। विश्व टेबल टेनिस दिवसको अवसरमा कास्की जिल्ला टेबल टेनिस संघले जिल्लास्तरीय टेबलटेनिस प्रतियोगिता आयोजना गर्ने तयारीमा जुटेको संघका अध्यक्ष उत्तम जोशीले बताए। ‘विश्व टेबलटेनिस दिवसमा जिल्लास्तरीय प्रतियोगिता आयोजना गर्छौ’ उनले भने–‘भेट्रान्स टेबलटेनिस पनि योजनामा छौं प्रदेशले दिने बजेटले प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्ने तयारी समेत छ।’  

प्रकाशित: १९ माघ २०७९ १०:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App