coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

क्रिकेट संघका अध्यक्ष चन्द भन्छनः राजीनामा माग्नुको तुक छैन

बैठकपछि निर्णय सार्वजनिक गर्दै नेपाल क्रिकेट संघका पदाधिकारीहरु। तस्बिरः धन बस्नेत÷नागरिक

नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले कार्यसम्पादन समितिको राजीनामा माग्नुमा कुनै तुक नरहेको उल्लेख गरेका छन्। बुधबार पोखरामा अघिल्लो दिन बसेको संघको बोर्ड बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष चन्दले पाँच सदस्यीय टोलीले राजीनामा माग्नुको तुक नरहेको स्पष्ट पारे।  

‘राजीनामा बाहिर हल्ला गरेर मागेर होईन्, साधारण सभामै आफना धारणा राखेर माग्ने हो’, अध्यक्ष चन्दले भने, ‘संघको विधान ३५(१)मा स्पष्ट उल्लेख छ। ३३ प्रतिशत सदस्यले लिखित माग गरेर आएपछि ३५ दिनभित्रमा विशेष साधारण सभा बोलाउँछौं, त्यही निर्णय हुन्छ।’ उनले साधारण सभामा ५१ प्रतिशत पुगेको अवस्थामा पद छाड्ने स्पष्ट पारे। संघको वार्षिक साधारण सभा आगामी फागुन १४ र १५ गते कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गर्ने निर्णय समेत गरिएको छ।  

उनले राष्ट्रिय खेलकुद परिषदले पठाएको दुई सदस्यको कुनै औचित्य नै नभएको जनाए। बैठकमा संघका कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लले कार्यबाहक सचिवको जिम्मेवारीबाट राजीनामा दिएका छन्। ‘आँफु पछि हटेर निकास निस्कन्छ भने पछि हटेको हुँ,’ उनको भनाई थियो। उनको ठाँउमा कार्यसमिति दुर्गाराज पाठकलाई कार्यबाहक सचिवको जिम्मेवारी समेत बैठकले दिने निर्णय गरिसकेको छ। कार्यसम्पादन समितिको सदस्यको राजीनामा मागले नेपाल क्रिकेट संघ निलम्बनतिर जाने खतरा भएको भन्दै विगतका कमिकमजोरीलाई सच्याई एक ढिक्का भएर संघको हकहितको लागि एकजुट भई अघि बढेर सहकार्यमा आउन बैठकले आग्रह समेत गरेको थियो।  

बैठकले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ। अध्यक्ष चन्दले तीन महिनाको अनुशासन कारवाही भएपछि फुकुवा गरिएको बताए। ‘अदालतले खेल्न रोक लगायो भने खेल्न रोक हुन्छ। अन्यथा हामीले रोक लगाउन सकिदैन्, संघले गर्ने भनेकै तीन महिनाको अनुशासनको कारवाही गरिसकियो,’ उनले भने, ‘त्यसपछि फुकुवा गर्यौं।’ अध्यक्ष चन्दले अब सन्दीपको फिटनेस लगायतले टिममा समावेश हुन नहुने स्पष्ट पारे।  

नेपाल टी–२० लिग आयोजना गर्न भएको सेभेन थ्री स्पोर्टस सँगको सम्झौता एकपक्षीय रुपमा रद्द भएको प्रसंगमा अध्यक्ष चन्दले संघले पाउनुपर्ने पैसा पाउनुपर्ने भन्दै त्यसको लागि आवश्यक कानूनी प्रक्रियामा जाने बताए। नेपाल टी–२० लिग सम्पन्न भईसकेकोले गर्भनिङ काउन्सिललाई विघटन गर्ने निर्णय समेत संघले गरेको छ।  

बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष चन्दले नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा गुल्सन झालाई दिने निर्णय गरेको जानकारी दिए। संघले सन २०२३ को जनवरीदेखि जुनसम्म ६ महिनाको लागि महिला तथा पुरुष खेलाडीहरुलाई बर्गिकरणको आधारमा केन्द्रीय करारमा राख्ने निर्णय समेत गरेको छ। पुरुष तर्फ ए ग्रेडमा रोहित पौडेल, सोमपाल कामी, करण केसी, दिपेन्द्रसिंह ऐरी र आशिफ शेख रहेका छन्। त्यस्तै बी ग्रेडमा आरिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल छन्। ग्रेड सीमा कमल सिंह ऐरी, कुशल मल्ल, देव खनाल, सागर ढकाल, विवेक यादव, विनोद भण्डारी, गुल्सन कुमार झा, अर्जुन साउद, अविनाश बोहरा छन्। 

त्यसैगरी महिला तर्फ ए ग्रेडमा रुविना क्षेत्री, सीता रानामगर र इन्दु बर्मा छन्। ग्रेड बीमा काजेल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्य छन्। ग्रेड सीमा कविना जोशी, विन्दु रावल, संगता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगम छन्। संघले बाग्लुङ र पर्वत जिल्ला क्रिकेट संघ तदर्थ समितिलाई मान्यता दिने निर्णय समेत गरेको र अनुमोदनको लागि आगामी बार्षिक साधारणमा पेश गर्ने निर्णय गरेको छ। नेपाल क्रिकेट संघको विशेष साधारणसभा २०८० को जेठ मसान्तभित्र आयोजना गरि जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गर्ने निर्णय पनि भएको छ। 

प्रकाशित: १८ माघ २०७९ ०९:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App