७ वैशाख २०८१ शुक्रबार
खेल

फेब्रुअरी १४ देखि काठमाडौंमा त्रिदेशीय शृंखला

फाइल तस्बिर।

नेपाल क्रिकेट संघको मंगलबार पोखरामा भएको बैठकले विश्व क्रिकेट लिग-२ अन्तर्गत काठमाडौंमा फेब्रुअरी १४ देखि २१ सम्म त्रिदेशीय शृंखला आयोजना गर्ने निर्णय गरेको छ।

उक्त शृंखलाअन्तर्गत नेपालले स्कटल्यान्ड र नामिबियासँग खेल्नेछ। उक्त शृंखलाका लागि नेपाली टोलीको प्रशिक्षकमा मोन्टी देसाई र व्यवस्थापकमा विनयी राजभण्डारीलाई जिम्मेवारी सुम्पिएको छ। पोखरामा बसेको बैठकले विश्व क्रिकेट लिग–२ अन्तर्गत नै संयुक्त अरब इमिरेट्स(युएई) मा फेब्रुअरी २७ देखि मार्च ६ सम्म शृंखला खेल्नका लागि राष्ट्रिय खेलकुद परिषद्(राखेप) सँग स्विकृति माग्ने निर्णय गरेको स्रोतले जानकारी दियो।

यस शृंखलामा नेपालले युएई र पपुवा न्युगिनीसँग खेल्नेछ। त्यस्तै क्यानको बोर्ड बैठकले पूर्वकप्तान सन्दीप लामिछाने माथिको निलम्बन पनि फुकुवा गरेको छ। राष्ट्रिय पुरुष तथा महिला खेलाडीको केन्द्रीय करार सम्झौताका लागि क्यानका केन्द्रीय सदस्य दुर्गाराज पाठकको नेतृत्वमा रहेको दीपेन्द्र चौधरी र विनोद दास सम्मिलित तीन सदस्यीय समितिको सिफारिस अनुसार आगामी सन् २०२३ को जनवरीदेखि जुनसम्मका लागि १८ जना पुरुष र १२ जना महिला खेलाडीको करार गर्ने क्यान बैठकले निर्णय गरेको छ।

बोर्ड बैठकले मुख्य १७ वटा विषयमा छलफल गरेको थियो। गण्डकीका दुई जिल्ला संघलाई मान्यता दिने विषयमा समेत छलफल भएको छ। पर्वत र बागलुङ जिल्ला संघलाई मान्यता प्रदान गर्ने सम्बन्धमा छलफल गर्दै संघको मान्यता दिने निर्णय गरेको छ। यसअघि गण्डकी प्रदेशमा तनहुँ, कास्की, स्याङ्जा र नवलपुरले मात्रै संघको मान्यता पाएका थिए।

सात सदस्यद्वारा बहिष्कार

सात केन्द्रीय सदस्यले बहिष्कार गरेका छन्। बहिष्कार गरेका सदस्यहरूले नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग्दै ज्ञापनपत्र बुझाएका छन्।

असन्तुष्ट सदस्यले नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा खेलाडीहरू मुछिएपछि कार्यसम्पादन समितिको राजीनामा मागेका छन्। मंगलबार बोर्ड बैठक सुरु हुनुअघि असन्तुष्ट पक्षले नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दलाई राजीनामा माग गर्दै ज्ञापनपत्र बुझाए। असन्तुष्ट पक्षका छुम्बी लामाले कार्यसम्पादन समितिले गैरजिम्मेवार निर्णय गरेको भन्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरे।

प्रकाशित: १८ माघ २०७९ ०१:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App