coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

भारतीय कम्पनीसँगको सम्झौता त्रुटिपूर्ण रहेको स्वीकार

नेपाल क्रिकेट संघको साधारण सभाबाट पारित भई आयोजना भएको नेपाली टी-२० लिगको सम्झौता त्रूटिपूर्ण रहेको अध्यक्ष चतुरबहादुर चन्दले स्विकारेका छन्।

प्रतियोगिता आयोजनाको सम्बन्धमा चौतर्फी आलोचना भएपछि क्यानले बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष चन्दले भारतीय कम्पनी सेभेन थ्री स्टारसँगको सम्झौता त्रुटिपूर्ण रहेको स्विकारेका हुन्। क्यान अध्यक्ष चन्दले प्रतियोगिता आयोजना गर्दा क्यानले कुनै गलत नियत राखेर सम्झौता नगरेको स्पष्टोक्ति दिए। अध्यक्ष चन्दले भने, ‘प्रतियोगिता आयोजना गर्दै गर्दा पहिलो प्रयासमा केही कमीकमजोरी भयो। साझेदार पार्टनरसँग सम्झौता अनुरूप काम भएन। सम्झौता अनुसार काम अघि बढाउन सेभेन थ्री स्पोर्टसलाई दबाब दिने कुरामा क्यानको कमजोरी भयो।’

‘प्रतियोगिताको जिम्मा दिने क्रममा सेभेन थ्री स्टारसँगको सम्झौता त्रूटिपूर्ण रह्यो। सम्झौताबारे केही कमीकमजोरी रहे,’ अध्यक्ष चन्दले भने, ‘विभिन्न प्रतियोगितामा संलग्न भई सफलतापूर्वक गरेको रिपोर्टसहित विभिन्न योजना अगाडि सारेको कम्पनी सेभेन थ्री स्पोर्टससँग सम्झौताअनुरूप काम नहुनु दुखद भयो।’

चन्दले नेपाल टी-२० लिगमा सहभागी पाँच फ्रेन्चाइज टोलीका खेलाडीले पैसा पाइसकेको र एक टोलीका खेलाडीले एक दुई महिनाभित्र नै पाउने जानकारी दिए। उनले खेलाडीको सबै रकम चुक्ता गरिसकेको र केही खेलाडीको भुक्तानी छिट्टै पूरा हुने बताए।

यस्तै पुरस्कारको रकम सेभेन थ्री स्पोर्टसले दिने सम्झौता भएको र नदिएको अवस्थामा अन्तर्राष्ट्रिय स्तरबाट लिन पहल गर्ने समेत बताए। प्रतियोगिताको दौरानमा अध्यक्ष चन्दले स्पट फिक्सिङमा क्यानका कुनै पनि पदाधिकारी संलग्न भए कारबाही भोग्न तयार रहेको बताए। टी-२० लिगमा भएको प्रतियोगितामा स्पट फिक्सिङ भएको नेपाल प्रहरीको अनुसन्धानले देखाएकोमा पुष्टि भए क्यानले नै कारबाही गर्ने उनले बताए।

‘हामी पदाधिकारी क्रिकेटको मर्यादा विपरीतको काममा लागेको भए म लगायत हामी सबै कारबाही भोग्न तयार छौं,’ अध्यक्ष चतुरबहादुर चन्दले भने।

नेपाली क्रिकेटर आदिल अन्सारी र पूर्वक्रिकेटर मेहबुब आलम स्पट फिक्सिङको आरोपमा पक्राउ परिसकेका छन्। केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरूसहित १० जनाविरुद्ध अनुसन्धान अगाडि बढाएको छ। यसैगरी चन्दले नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने टोलीमा फर्किने विषयमा नेपालको विद्यमान कानुनले जे अनुमति दिन्छ त्यहीअनुसार अघि बढ्ने बताए। अध्यक्ष चन्दले आइसिसीसँग सन्दीपको बारेमा छलफल भएको र नेपालको विद्यमान कानुनअनुसार अगाडि बढ्न सुुझाव दिएको बताए।

सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो। बलात्कारको आरोप लागेपछि क्यानले सन्दीपलाई निलम्बन गरेको थियो। सन्दीप गत असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। उनी उच्च अदालत पाटनको आदेशपछि २० लाख रूपैयाँ धरौटी बुझाएर पुस २९ मा रिहा भएका थिए। थुनामुक्त भए पनि सन्दीप क्रिकेटमा फर्कने नफर्कने टुंगो अझै लागेको छैन। उनीविरुद्धको मुद्दा अझै विचाराधीन छ। यद्यपि सन्दीपले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा अभ्यास गर्न थालेका छन्। 

प्रकाशित: १३ माघ २०७९ ००:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App