coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

शुक्र राई क्वार्टरफाइनलमा

नेपाल नम्बर एक प्रोफेसनल गल्फर शुक्रबहादुर राईले सूर्य नेपाल गल्फ टुर २०२२/२३ को तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्लेको क्वार्टरफाइनलमा स्थान बनाएका छन्।  

रोयल नेपाल गल्फ क्लबमा जारी सूर्य नेपाल एनपिजिए म्याच प्लेमा शुक्रबहादुरसहित दोस्रो वरीयताका साबिक विजेता भुवन नगरकोटी, रवि खड्का, रमेश अधिकारी, धनबहादुर थापा, जयराम श्रेष्ठ, भुवनकुमार रोक्का र दिनेश प्रजापतिले मंगलबार क्वार्टरफाइनलमा स्थान बनाएका हुन्। तीनदिने प्रतियोगिताको पहिलो दिन शुक्रले २०औं वरीयताका टंकबहादुर कार्कीमाथि ५–४ को जित निकाल्दै क्वार्टरफाइनलमा दशौं वरीयताका भुवनकुमार रोक्कासँगको भेट पक्का गरे।  

भुवनले भने नवौं वरीयताका रामे मगरलाई २–१ ले हराएका थिए। दोस्रो वरीयताका भुवन नगरकोटीले १९औं वरीयताका सञ्जोक मोक्तानलाई २–१ ले हराए। उनले अब आठौं वरीयताका धनबहादुर थापासँग खेल्नेछन्। धनले पहिलो चरणमा ११औं वरीयताका धरानका बलभद्र राईलाई ३–२ ले पराजित गरे। तेस्रो वरीयताका जयराम श्रेष्ठले १७औं वरीयताका कृष्णमान राजवाहकलाई अन्तिम होलमा हराउँदै क्वार्टरफाइनलमा स्थान बनाए। जयरामले सातौं वरीयताका दिनेश प्रजापतिसँग खेल्नेछन्।  

अब क्वार्टरफाइनलको अर्को खेलमा पाँचौं वरीयताका रवि खड्काले १३औं वरीयताका रमेश अधिकारीसँग खेल्नेछन्। रमेशले पहिलो चरणमा अप्रत्याशित नतिजा निकाल्ने क्रममा छैटौं वरीयताका सञ्जय लामालाई ३÷१ ले स्तब्ध बनाए। गत सिजनको उत्कृष्ट १६ प्रोफेसनल गल्फरले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने प्रावधान छ। तैपनि चार खेलाडी देशबाहिर रहेकाले उत्कृष्ट २० का खेलाडीले प्रतिस्पर्धा गर्ने अवसर पाए।  

पहिलो चरण, क्वार्टरफाइनल, सेमिफाइनल र तेस्रो स्थानका लागि १८ होलमा प्रतिस्पर्धा भए पनि फाइनलिस्टले भने ३६ होलमा खेल्नेछन्। बुधबार क्वार्टरफाइनल र सेमिफाइनलका खेल हुनेछन्। बिहीबार तेस्रो स्थान र फाइनल प्रतिस्पर्धा हुनेछ। विजेताले ६० हजार र उपविजेताले ४२ हजार रूपैयाँ पाउनेछन्।

प्रकाशित: ११ माघ २०७९ ०१:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App