६ वैशाख २०८१ बिहीबार
खेल

मंगलबारदेखि सूर्य नेपाल गल्फ

सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्ले मंगलबारबाट हुने भएको छ।

रोयल नेपाल गल्फ क्लबमा हुने प्रतियोगितामा गत सिजनको प्रदर्शनका आधारमा वरीयताको शीर्ष १६ भित्र रहेका गल्फरले प्रतिस्पर्धा गर्नेछन्। यद्यपि शीर्ष १६ मा रहेका गल्फमध्ये चार गल्फर अनुपस्थित हुने भएकाले यसपटक २०औं वरीयतासम्म रहेका गल्फरले प्रतिस्पर्धा गर्ने जनाइएको छ।

प्रतियोगितामा मंगलबार प्रारम्भिक चरणको हुनेछ भने बुधबार क्वार्टरफाइनल तथा सेमिफाइनल हुनेछन्। फाइनल खेल बिहीबार हुनेछ। प्रारम्भिक चरणदेखि सेमिफाइनलसम्म १८ होलमा प्रतिस्र्धा हुनेछ भने फाइनल खेल ३६ होलमा हुनेछ।

प्रतियोगिताको पहिलो चरणमा शीर्ष वरीयताका शुक्रबहादुर राईले २०औं वरीयताका टंकबहादुर कार्कीसँग खेल्नेछन् भने दोस्रो वरीयताका भुवन नगरकोटीले १९औं वरीयताका सन्जोक मोक्तानसँग खेल्नेछन्।

त्यस्तै जयराम श्रेष्ठले कृष्णमान राजवाहक, रवि खड्काले प्रदीपकुमार लामा, सञ्जय लामाले रमेश अधिकारी, दिनेश प्रजापतिले सूर्यप्रसाद शर्मा, धनबहादुर थापाले बलभद्र राई तथा रामे मगरले भुवनकुमार रोक्कासँग प्रतिस्पर्धा गर्नेछन्।

भारतको व्यावसायिक गल्फ प्रतियोगिता पिजिटिआईको छनोट खेल्न भारत प्रस्थान गरेकाले चौथो वरीयताका नीरज तामाङ सहभागी छैनन्। त्यस्तै राजेन्द्र थापामगर (१४), पूर्ण शर्मा (१६) र तीर्थ पौडेल (१८) पनि उपस्थित हुने छैनन्। प्रतियोगिताको विजेताले ६० हजार रूपैयाँ प्राप्त गर्नेछन्। उपविजेताले ४२ हजार, तेस्रो स्थानकाले ३२ हजार तथा चौथो स्थान हासिल गर्नेले २४ हजार प्राप्त गर्नेछन्। क्वार्टरफाइनल बाहिरिनेले ११ हजार र पहिलो चरणबाटै बाहिरिएका गल्फरले ६ हजार प्राप्त गर्नेछन्।

प्रकाशित: १० माघ २०७९ ०४:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App