७ वैशाख २०८१ शुक्रबार
खेल

मकवानपुर गोल्डकपमा १२ क्लव सहभागी हुने

गोल्डकप तयारीको बिषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनका सहभागी।

यही माघ २९ गतेबाट फागुन ११ गतेसम्म सञ्चालन हुने पाँचौ संस्करणको स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा १२ टिमको सहभागिता रहने भएको छ।

आयोजक मकवानपुर जिल्ला फुटबल संघले सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै गत बर्षझैं यस संस्करणमा पनि १२ वटा क्लवको सहभागिता रहने जानकारी दिएको हो।

हेटौंडा ५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुने प्रतियोगिताको विजेताले १५ लाख र उपविजेता टिमले नगद १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई दिइने पुरस्कारको विषयमा टुंगो लाग्न बाँकी रहेको छ।

तेस्रो र चौथो संस्करणको सर्वोत्कृष्ट खेलाडीलाई हेटौंडा स्कूल म्यानेजमेन्टको प्रायोजनमा बुलेट मोटरसाइकल प्रदान गरिएको थियो। पुरस्कारको निरन्तरताको लागि छलफल भैरहेको आयोजक संघका अध्यक्ष टीकाराम लामाले जानकारी दिए।

यस्तै विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। 

प्रतियोगितामा आयोजक मकवानपुर सहित ए डिभिजन टिम मछिन्द्र क्लव, मनाङ मस्र्याङ्दी क्लव, थ्रीस्टार क्लव, त्रिभुवन आर्मी क्लव, नोपल पुलिस क्लव, नेपाल एपिएफ क्लव, न्यूरोड टिम एनआर, हिमालयन शेर्पा क्लव, सातदोबाटो यूथ क्लव, जावलाखेल यूथ क्लव र एभिनियर एफसी क्यामरुनको सहभागिता रहने सम्भावना रहेको लामाले बताए।

‘प्रतियोगितामा सहभागी हुने क्लवहरुसँग कुराकानी भैरहेको छ। फागुनको पहिलो हप्ताबाट गर्ने भनिएको प्रतियोगिता केही दिन अघि सरेकोले सहभागी टिमसँग सोही अनुसारको कुरा भैरहेको छ’, प्रतियोगिताको संयोजक समेत रहेका लामाले भने, ‘केही दिनभित्रै सहभागी टिमको टुंगो लाग्नेछ।’  

बागमती प्रदेशको खेलकुद विकास परिषद् तथा मकवानपुरका स्थानीय तहहरुको आर्थिक सहयोगमा हुँदै आएको प्रतियोगिताको तयारीलाई तीव्र पारिएको छ। बागमती प्रदेश फुटबल संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले यस गोल्डकपलाई जिल्लाकै साझा र सानको रुपमा अघि बढाउनु आवश्यक रहेको धारणा राखे।

‘यहाँका स्थानीय तहले पनि अपनत्व ग्रहण गर्दै आएकोले यसको निरन्तरता सम्भव भएको छ’, उनले भने, ‘यसलाई निरन्तरता दिँदै फुटबलका अन्य गतिविधि समेत अघि बढाउनु आवश्यक छ।’

प्रकाशित: ९ माघ २०७९ १६:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App