२९ असार २०७७ सोमबार
खेल

बोल्टको 'स्वर्ण ह्याट्रिक'

रियो दी जेनेरियो- जमैकाका धावक उसेन बोल्टले शुक्रबार ४ गुणा १०० रिलेमा स्वर्ण जितेपछि ‘टि्रपल टि्रपल’ को उपाधि पाएका छन्। बोल्ट लगातार तीनवटै ओलम्पिकमा ३–३ स्वर्ण जित्न सफल भएका हुन्।

यसअघि  १०० मिटर र २०० मिटरमा स्वर्ण जितिसकेका बोल्टले ४ गुणा १०० मिटर रिलेमा स्वर्ण जितेपछि अमेरिकी धावक कार्ल लेविस र फिनल्यान्डका पाभो लुर्मीको ओलम्पिक ट्र्याकमा ९ स्वर्ण पदकसँग बराबरी गरेका छन्।

बोल्टले रियो ओलम्पिकको थप तीन स्वर्ण पदकले आफूलाई अजम्बरी बनाएको बताए। अर्को वर्ष संन्यास लिने तयारी गरिरहेका बोल्टले एथलेटिक्सको महान खेलाडीका रूपमा आफूलाई स्मरण गर्ने बताए।

‘तपाईलाई पनि थाहा छ म महान हुँ,’ जमैकाका बोल्टले भने। दौड सकिएपछि उनले आफूले पूरा गरेको लेन ३ लाई चुमेका थिए।

रियो ओलम्पिकमा अमेरिकी पौडी खेलाडी माइकल फेल्पसको कीर्तिमानी  दिन सकिएलगत्तै बोल्टको किर्तिमानी दिन सुरु भएको थियो। बोल्टले थपे, ‘रियो ओलम्पिक सुरु हुँदा मैले यो सफलता पाउँछु भनेर चिताएकै थिइनँ।,’

जापानले रजत पदक जित्दा क्यानडाले कांस्यमा चित्त बुझायो।

त्यस्तै अमेरिकी धाविकाले ‘डिसक्वालिफिकेसन’ विरुद्ध गरेको अपिल सफल भएपछि जमैकाले ४ गुणा १०० मिटर रिलेमा रजतमा चित्त बुझाउनुपरेको छ। कांस्य पदक बेलायतले जित्यो।

ग्रिसकी इकातेरिनी स्टेफानिदीले महिला पोलभल्टमा स्वर्ण जितिन्। पूर्व विश्व विजेता केन्याकी भिभिएन चेरुइयोतले १० हजार मिटर दौडमा इथियोपियाकी अल्माज एनासँग पराजित भए पनि ५ हजार मिटरमा भने स्वर्ण जित्न सफल भएकी छन्।

स्पेनकी मारिन ब्याडमिन्टनका एकल स्पर्धामा एसिया बाहिरबाट स्वर्ण जित्ने पहिलो खेलाडी बनेकी छन्। उनले भारतकी पिभी सिन्धुलाई पराजित गरेकी थिइन्। सिन्धु ओलम्पिकमा रजत जित्ने पहिलो महिला भारतीय खेलाडी बनेकी छन्।

‘ओलम्पिकमा रजत जित्ने म पहिलो भारतीय महिला हुँ, जुन मेरा लागि ठूलो उपलब्धि हो,’ २१ वर्षीया सिन्धुले भनिन्।

प्रकाशित: ५ भाद्र २०७३ १०:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App