८ वैशाख २०८१ शनिबार
खेल

'हाम्रो जीवन खतरामा थियो'

रियो दी जेनेरियो- रुसको बहुचर्चित डोपिङ प्रकरणलाई सुरुमा सार्वजनिक गर्ने युलिया स्टेपानोभाले डोपिङ नियन्त्रण एजेन्सी (वाडा) को आफ्नो तथ्य ह्याक गर्ने प्रयास भएपछि आफू र आफ्ना पतिको जीवन खतरामा रहेको बताएकी छन्।

स्टेपानोभा र उनका पति भिटाली स्टेपानोभले सरकारी प्रायोजनमा रुसका डोपिङ अपराधलाई बाहिर ल्याउन सहयोग गरेका थिए। गतवर्ष यो प्रकरण चर्चामा आएपछि स्टेपानोभा दम्पतिलाई अमेरिकाको कुनै गोप्य स्थानमा लुकाएर राखिएको छ।

८ सय मिटर दौडकी पूर्वधाविकाले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कन्फरेन्स कलमार्फत ह्याकिङ प्रयासपछि आफूलाई पतिसहितको सुरक्षाको चासो रहेको बताएकी छन्। उनको तथ्य ह्याकिङ प्रयास भएको वाडाले पनि शनिबार पुष्टि गरेको थियो। 'हामीलाई केही भयो भने दुनियाँले थाहा पाउनुपर्छ कि त्यो फगत दुर्घटना होइन भनेर,' स्टेपानोभाले भनिन्।

रुसी एन्टी डोपिङ एजेन्सी (रुसाडा) का दुई अधिकारीहरूको फेब्रुअरीमा अचानक रहस्यमय मृत्यु भएको थियो। त्यसको ६ महिनापछि स्टेपानोभाले आफूहरू पनि त्यस्तै घटनाको सिकार हुन सक्ने भयमा रहेको बताइन्।

स्वतन्त्र खेलाडीका रूपमा रियो ओलम्पिकमा सहभागिता जनाउने स्टेपानोभाको आशामा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) बाधक बनेको थियो। आइओसीले उनलाई स्वतन्त्र खेलाडीका रूपमा सहभागिता जनाउन नदिने निर्णय गरेको थियो। उनले ओलम्पिकमा डोपिङ सामान्य भइसकेको दाबी गरेकी छन्।

'रियो ओलम्पिकमा सहभागिता जनाइरहेका थुप्रै खेलाडीले तयारी दौरान पेड (प्रदर्शन सुधार्ने औषधि) प्रयोग गरेका थिए भन्नेमा मलाई कुनै सन्देह छैन। रुसमा डोपिङमात्र एउटा समस्या होइन,' स्टेपानोभाले भनिन्।

उनले आइओसी पनि डोपिङ नियन्त्रणको मामिलामा गम्भीर नभएको आरोप लगाइन्। डोपिङ नियन्त्रणको अन्तर्राष्ट्रिय नियमनकारी निकाय वाडाको प्रतिवेदन आइसकेपछि रुसलाई सम्पूर्ण रूपमा रियो ओलम्पिक सहभागिताबाट वञ्चित नगरेर आइओसीले डोपिङबारे गम्भीर रूपमा नलिएको प्रमाण दिएको उनको आरोप थियो।

'सरकारले नै नियोजित रूपमा बडो चलाखीपूर्वक डोपिङका अपराध गर्दा आइओसीले कठोर कदम लिन सक्नुपर्ने थियो। आइओसीले लागूऔषध सेवनलाई शून्य सहनशीलताको नीति लिने बताउने गर्छ, तर व्यवहारमा कहिल्यै त्यसलाई लागू गर्दैन,' उनले भनिन्, 'डोपिङलाई संस्थागत रूपमै स्थापित गर्न खोज्ने एउटा देशलाई कारबाही गर्न नसक्नु आइओसीको ठूलो कमजोरी हो।'

रियो ओलम्पिकमा सहभागी अधिकांस रुसी खेलाडीलाई डोपिङबारे राम्रो जानकारी भएको तर उनीहरूले चुप रहने विकल्प रोजेको स्टेपानोभले दाबी गरे।

'मेरो विचारमा अहिले रियोमा सहभागिता जनाइरहेका रुसी खेलाडीहरूलाई रुसमा के भइरहेको छ, कसरी भइरहेको छ र उनीहरूकै तयारी कसरी गरिएको थियो भन्ने विषयमा सबथोक थाहा छ,' उनले भने, 'कुनै पनि खेलमा खेलाडी वा अधिकारीका रूपमा तीन वर्ष बिताउँदा कहाँनिर ठगी भइरहेको छ भन्ने प्रस्टसँग थाहा हुन्छ। उनीहरू एउटै नीति पछ्याउँछन् र त्यसलाई ढाकछोप गर्न पनि उनीहरूसँग उपाय छ।'

प्रकाशित: ३ भाद्र २०७३ ०३:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App