६ वैशाख २०८१ बिहीबार
खेल

नेपाली टोलीको आशा मौसममा

काठमाडौं- नेदरल्यान्ड्स भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत सोमबार घरेलु टोलीविरुद्ध दोस्रो खेल्नेछ। नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा नेपाल ७ विकेटले पराजित भएको थियो। घरेलु मैदानमा डच टोलीका बलरले नेपाली ब्याट्सम्यानलाई खुलेर खेल्न दिएका थिएनन्। फरक वातावरणमा घुलमिल हुन संघर्ष गरिरहेको नेपालले सोमबार पनि आमस्टेलभिन स्थित भिआरए मैदानमै खेल्ने छ। पहिलो खेलमा कमजोर ब्याटिङ प्रदर्शन गरे पनि प्रशिक्षक जगत टमाटाले दोस्रो खेलमा २ सय भन्दा बढि रन बनाउने लक्ष्य सहित खेल्ने बताए।

‘दोस्रो खेलमा यहाँको मौसम परिवर्तन हुन सक्छ। घाम लाग्यो भने ब्याट्सम्यानले धेरै समय टिकेर खेल्छन्,’ नेपालका प्रशिक्षक टमाटाले भने, ‘पहिलो खेलमा ब्याट्सम्यान चल्न सकेनन्। त्यसमा सुधार आवश्यक छ। हिजो हावा पनि धेरै चल्यो र घाम पनि लागेन। भोली घाँम लाग्यो भने ७ ब्याट्सम्यानले खेल्ने सम्भावना बढि छ।’

८ टोली सम्मिलित विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्यान्डस एक मात्र अपारजित टोली हो। सात मध्ये पाँच खेलमा जित निकालेको नेदरल्यान्डस १२ अंक सहित शीर्ष स्थानमा छ। सातमध्ये दुईखेलमात्र जित्न सफल नेपाल छैटौं स्थानमा छ। नेपालभन्दा माथि केन्या, स्कटल्यान्ड, पपुवा न्युगिनी (पिएनजी) र हङकङ छन्। शीर्ष चार टोलीले बंगलादेशमा हुने विश्वकप क्रिकेट छनोटका लागि प्रतिस्पर्धा गर्न पाउनेछन्। नेपाललाई शिर्ष चारमा पर्न अवका सबै खेल जित्नै पर्ने दबाब थपिएको छ।

नेदरल्यान्ड्स जानुअघि शीर्ष चार आफ्नो पहिलो लक्ष्य भएको बताएका कप्तान पारस खड्काले त्यहाँको वातावरणलाई दोष दिनु भन्दा आफैले राम्रो खेल्नु पर्नेमा जोड दिए। ‘मौसमलाई दोष दिनुभन्दा हामी आफैले राम्रो खेल्नु आवस्यक छ,’ पारसले भने, ‘हामी जितको लागि नै खेल्ने हो। त्यसका लागि सबै डिपार्टमेन्टले राम्रो गुर्न पर्छ। विशेष गरि ब्याटिङमा सुधार हाम्रो आवस्यकता हो।’

शनिबार नेपालबाट सबैभन्दा धेरै अनिल मन्डलले २० रन बनाए।  अनिल वाहेक कुनै पनि ब्याट्सम्यानले २० रनको स्कोर छुन सकेनन् भने ३ जनाले मात्र दोहोरो अंकमा रन जोड्न सकेका थिए। त्यसअघि नेदरल्यान्डस ‘ए’ सँग भएको अभ्यास खेल वर्षाले प्रभावित हुनु अघि नेपालले ब्याटिङ गरेको थियो। त्यसमा पनि नेपालको ब्याटिङ प्रदर्शन कमजोर थियो।

प्रशिक्षक टमाटाले भनेजस्तै सोमबार मौसमले साथ दिएर ब्याट्सम्यान धेरै राख्ने रणनीति बने राजेश पुलामी टोलीमा पर्ने सम्भावना छ। यू–१९ टोलीका ओपनर सुनिल धमला पनि १५औं खेलाडीको रुपमा टोलीमा छन्। तर उनको खेल्ने सम्भावना कम छ। नेदरल्यान्ड्स जानुअघि नै प्रशिक्षक टमाटाले अग्रपंक्तिमा परिवर्तन नहुने बताएका थिए। राजेश टोलीमा परे सन्दिप लामिछाने वाहिरिन सक्छन्। टोलीमा अनुभवी स्पिनर वसन्त रेग्मी छन् भने सागर पुन अलराउन्ड प्रदर्शनका लागि सक्षम छन्। त्यसैले ब्याट्सम्यान थपिएको अवस्थामा सन्दिप टोलीमा नपर्ने सम्भावना वढी छ। यद्धपी टामाटाले विहान क्रिजको अवस्था हेरेर मात्र टोलीको रणनीति तय हुने वताए। उनले नागरिकसँग भने, ‘विहान विकेटको अवस्था हेरेर मात्र योजना बनाउनेछौं।’

प्रकाशित: ३१ श्रावण २०७३ ०३:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App