८ वैशाख २०८१ शनिबार
खेल

राष्ट्रिय खेलाडीहरु पलायन हुने क्रम ह्वात्तै बढ्यो, खेल र खेलाडीको दिगो विकासमा चुक्दै राज्य

नेपालमा पछिल्लो समय राष्ट्रिय टोली तथा शीर्ष डिभिजन लिग खेलेका खेलाडीहरु विदेशिने क्रम बढ्न थालेको छ।  

यो वर्ष धेरै खेलाडी आफ्नो सुरक्षित भविष्य खोजी गर्ने नाममा अस्ट्रेलिया पलायन भइरहेका छन्। यसै क्रममा आज (बुधबार) राष्ट्रिय टोलीबाट खेलिसकेका रन्जन विष्ट र नितिन थापा सुरक्षित भविष्यको लागि अस्ट्रेलिया गएका छन्। यस्तै हिजो (मंगलबार) मात्रै राष्ट्रिय टोलीका सुरुआती–११ कै तीन खेलाडी तेज तामाङ, दिनेश राजवंशी र गौतम श्रेष्ठ अस्ट्रेलिया गएका छन्।  

चर्च ब्वाइज क्लबबाट व्यवसायीक रुपमा खेलिरहेका दिनेश, तेज र संकटा क्लबबाट खेल्दै आएका गौतम अस्ट्रेलिया प्रस्थान गरेका हुन्।  हालसम्म नेपालमा व्यवसायीक रुपमा र राष्ट्रिय टोलीबाट खेल्दै आएका एक दर्जन भन्दा बढी फुटबल खेलाडी अस्ट्रेलिया पलाएन भइसकेका छन्।

यसअघि न्युरोड टिम एनआरटीबाट व्यावसायिक फुटबल खेलिरहेका गोलरक्षक अजित प्रजापति, राष्ट्रिय टोलीका आशिष लामा, सुमन लामा, दर्शन गुरुङ, सन्तोष तामाङ, शिव गुरुङ, आकाश बुढा मगर, एलन न्यौपाने, हेमन गुरुङ यस अघिनै अस्ट्रेलिया गएका हुन्। यसै गरी राष्ट्रिय टोलीकै राजन गुरुङ, रवि थिङ, अमिर श्रेष्ठ र रुमेश बर्तोला यही असोज ७ गते अस्ट्रेलिया गएका हुन।

हालसम्म नेपालमा व्यवसायीक रुपमा र राष्ट्रिय टोलीबाट खेल्दै आएका एक दर्जन भन्दा बढी फुटबल खेलाडी अस्ट्रेलिया पलाएन भइसकेका छन्।

पछिल्लो समय नेपाली खेलाडी तथा विद्यार्थीहरुको लागि आकर्षक बनिरहेको देश अस्ट्रेलिया हो। घरेलु खेलकुद संरचना बलियो नहुनु, समयमा लिग नुहुनु र खेलेर नै जीविकोपार्जन गर्न नसकिने अवस्थाका कारण नेपाली व्यवसायीक तथा राष्ट्रिय खेलाडी अस्ट्रेलिया पलायन हुने क्रम बढेको यस क्षेत्रका जानकारहरु बताउँछन्।  उनीहरुका अनुसार अस्ट्रेलिया देश मात्र नभई राम्रो आम्दानी र सुनिश्चित भविष्यले गर्दा अस्ट्रेलियाप्रति खेलाडीहरुको आकर्षण बढेको हो।  

यही क्रम जारी रहँदा नेपालका खेलाडी विदेश पलायन हुने र विदेशका खेलाडी नेपाल आउने बढेको छ। नेपालको घरेलु फुटबल संरचना बलियो नहुँदा र बेला बेलामा हुने विभिन्न डिभिजनका लिगले गर्दा चर्चा कमाएका राम्रा खेलाडी समेत विदेश पलायन भएको देखिन्छ।  

खेलाडी संघका अध्यक्ष विक्रम लामाका अनुसार खेलाडी पलायन हुनुका कारणहरुमा आर्थिक, पारिवारिक, खेलकुद र आत्मसम्मानको पाटो रहेको बताउँछन्। उनले भने, ‘विदेशिनु खेलाडीको व्यक्तिगत कुरा हो त्यो कुरालाई हामीले सम्मान गर्नुपर्छ उनीहरु खेलपछि अर्को विकल्प रोज्ने कारण आर्थिक तथा आत्मसम्मानको कुराले हो। खेलाडीले  गरेको मेहनतको सम्मान नपाउँदा विदेश रोजको हो। २/३ वर्ष अगाडी हामी बेरोजगार बेसेका हौ अब सधैँ बेरोजगार बस्न पनि त सकिँदैन। हो, जस्तो सुकै सुविधा भएपनि विदेशिने क्रम हुन्छ तर अहिले जुन हिसाबले जानु भएको छ। यो चाहिँ  कम हुन्छ।’  

अध्यक्ष लामाले थपे, ‘खेलाडीमा यसपालि धेरै निराशा पनि छ। किनभने उनीहरुले आफुले मेहनत गरे अनुसार सम्मान पाएका छैनन्। अब नयाँ आउने भाइहरुले दाइहरु त विदेश पलायन हुनु हुन्छ हामी त खेल जगतमा आएर देशसँग के अपेक्षा राख्नु भन्ने अवश्य सोच्नेछन्। यो कुराहरु परिमार्जन गर्नु पर्ने आजको आवश्यकता हो।’

उनले अब आउने मन्त्रीलाई सुझाव दिँदै भन्छन्, ‘खेललाई प्राथमिकतामा राखेर खेल नीति बनाउनुपर्छ। समयअनुसार परिवर्तन नीतिहरू परिवर्तन हुनुपर्छ। लिग हुनु भन्दा नि लिग कस्तो हुन्छरु कसरी हुन्छरु भन्ने ध्यान दिनु पर्छ। खेलेर नाम मात्र होइन आफ्नो जीविकोपार्जन पनि चलाउन सक्ने हैसियत बनाउनुपर्छ।’  

अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाह दीर्घकालीन रुपमा समस्या समाधानको बाटो समयमै नखोजिएकाले खेलाडीहरु विदेश पलायन भएको बताउछन्।  

उनले भने, ‘यसको सही जवाफ आउँदैन किनभने विभिन्न क्षेत्र तथा निकायले हेर्नु पर्ने हो। खेल क्षेत्रको विकास हुने कार्यक्रम आएका छैनन्। सामाजिक, आर्थिक हिसाबले सुरक्षा हुन नसक्दा उहाँहरू जानु भएको हो। एउटा राष्ट्रिय टिममा खेल्ने खेलाडीहरु विदेशीदा हामी दुखी छौ। यसले अब आउने खेलाडीहरुको मनोबल समेत घटाउने देखिन्छ। र, अन्य खेल क्षेत्रका खेलाडीहरुको हालत पनि यस्तै छ।’

शाहले थपे, ‘यो दीर्घकालीन समस्याको रुपमा जान्छ कि भन्ने चिन्तामा छौँ। यही विषयमा हामी केन्द्रित छौ। हामीले लिग गरिरहेका छौं। खेलको क्यालेन्डर निकालिरहेका छौं। हामीले खेलाडीलाई व्यस्त बनाउन पर्छ भनेर नेपाल सुपर लिग (एनएसएल) डिभिजन लिगहरुको मिति तोकिसकेका छौ । हामीले हाम्रो तर्फबाट सक्दो गरेका छौं। १०/१५ दिन ढिलो भयो होला यो मात्र समस्या होइन्।’  

उनका अनुसार खेल क्षेत्रमा आर्थिक हिसाबले कमजोर परिवारबाट आएका खेलाडीहरु धेरै छन्। काठमाडौँमा बसेर आयस्रोत बढाउन र भएको आयस्रोतबाट सन्तुष्टि लिने अवस्था छैन। त्यसैले जो कोही विदेश गइहाल्छ।  

‘रााष्ट्रिय खेलाडी नहुने भन्ने होइन हामीले उत्पादन गरिरहेका छौँ। तरपनि यस्ता घटनाले राष्ट्रिय स्तरमा तयारी गर्दा असर भने गर्छ नै। हामीले कसैको रोजगारी रोक्न सक्दैन’, शाह भन्छन्, ‘हामी चिन्तित छौ। उहाँहरुको आर्थिक अवस्थाको सुनिश्चितता त हामीले मात्र गर्न सक्दैनौँ। यो राज्य ले पनि हेर्नु पर्ने हो’, शाह भन्छन्।  

खेलकुद मन्त्रालयका प्रवक्ता शिव राम न्यौपानेकाअनुसार २ वर्ष कोभिड महामारीका कारण नियमित प्रतिस्पर्धा गराउन सकिएन त्यसले गर्दा समयमा खेल्नुपर्ने खेल रोकिएका कारण खेलाडीमा तनाव बढेकोले उनीहरु विदेशिएका हुन्।  

उनले भने, ‘खेलाडीहरुको क्षमता विकास गर्न पूर्वाधार बनाउन नसकेको अवस्था छ। खेलका पूर्वाधारहरू पनि बिग्रिएको अवस्था छ। २/३ वर्षको अन्तरले खेल खेलमा आकर्षण गराउन नसक्दा विदेश पलायनमा आकर्षण बढेको हो।’

न्यौपानेका अनुसार खेलाडीहरुले व्यवसायिक रुपमा खेल्ने र जीविकोपार्जन पुरा गर्न सक्ने अवस्था छैन। यो अवस्था अन्त्य गर्ने सोचिरहेको छौ। ‘नेपालमै बसेर खेलमा होमिएर खेल क्षेत्रको विकास गर्नुपर्ने अवस्था छ। त्यो गर्न चुनौती भने छ।

‘खेल खेलेर आर्थिक हिसाबले सक्षम बन्न सक्ने अवस्था छैन यसको अन्त्य गर्ने छौँ’, उनी भन्छन्, ‘खेलाडीहरुलाई अन्तर्राष्ट्रिय स्तरका खेलमा प्रतिस्पर्धा गराएर खेलाउन सक्यौं भने विदेश पलायन रोक्न सक्छौँ।’  

यी हुन् विदेश पलायन भएका नेपाली व्यवसायीक तथा राष्ट्रिय खेलाडी  

रन्जन विष्ट, नितिन थापा, अजित प्रजापति, आकाश बुढा मगर, राजन गुरुङ, रवि थिङ, अमिर श्रेष्ठ, रुमेश बर्तोला, तेज तामाङ, गौतम श्रेष्ठ, दिनेश राजवंशी, सुमन लामा, दर्शन गुरुङ, सन्तोष तामाङ, आशिष लामा, अभिषेक रिजाल, सुमन अर्याल, विमल राना, हेमन्त थापामगर, सञ्जोग राई, विवेक बस्नेत, जगजित श्रेष्ठ, एलन न्यौपाने, विमल बस्नेत, हेमन गुरुङ, अमिर श्रेष्ठ, शिव गुरुङ, नवीन गुरुङ, निरज बस्नेत, मिक्चेन तामाङ, रोहित कार्की, राजन गुरुङ, सूर्य अधिकारी, राजेन्द्र रावल, दिलेन लोक्ताम, प्रविन सैंजू, रोशन खड्का, रगानदीप खड्का विदेश पलायन भएका हुन्।

प्रकाशित: ४ माघ २०७९ १३:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App