२५ असार २०७७ बिहीबार
खेल

फुटबलबाट अर्जेन्टिना बाहिरियो, ब्राजिल लयमा

रियो दी जेनेरियो- ओलम्पिकको पुरुष फुटबलमा ब्राजिली टेालीले अन्ततः लय समाउँदै क्वार्टरफाइनलको यात्रा गरेको दिन बुधबार अर्जेन्टिना भने समूह चरणबाटै बाहिरिएको छ। ग्याब्रिअल बार्बोसाले दुई गोल गरेपछि ब्राजिली पुरुष टोलीले डेनमार्कमाथि ४–० को जित निकाल्दै धर्मराउँदो सुरुआतलाई क्वार्टरफाइनको गन्तव्य दिएको थियो। अपेक्षाविपरीत अत्यन्तै कमजोर सुरुआत गरेको ब्राजिली पुरुष टोली पहिलो दुई खेलमा दक्षिण अफ्रिका र इराकसँग बराबरी नतिजामा सीमित भएको थियो। पहिलो दुई खेलमा कमजोर मानिएका टोलीसँग बराबरीमा रोकिएपछि ब्राजिल समूह चरणबाटै बाहिरिने खतरा नजिक थियो। तर बुधबारको जितपछि टोली समूह 'ए' बाट ५ अंकसाथ विजेता भएर अघि बढ्दा ४ अंक जोडेको डेनमार्क उपविजेताको हैसियतमा क्वार्टरफाइनल पुग्यो।

शनिबार हुने क्वार्टरफाइनलमा ब्राजिलले दक्षिण अमेरिकी प्रतिद्वन्द्वी कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ भने डेनमार्कले नाइजेरियासँग खेल्नेछ।

नेइमारको प्रेरणामा पहिलोपटक ओलम्पिक स्वर्ण जित्ने लक्ष्य राखे पनि बार्सिलोनाका स्टारले अझैसम्म गोल गर्न सकेका छैनन्। बुधबार उनले दुई गोलमा अवसर सिर्जना गरे। बार्बोसालाई पहिलो गोलको लागि पास मिलाएका नेइमारकै सहयोगमा लुआनले पनि २ सय मिनेटको गोलरहित व्यक्तिगत यात्रामा पूर्णविराम लगाएका थिए। बार्बोसाले २६ औं मिनेटमा दिलाएको अग्रता मध्यान्तर हुन पाँच मिनेट बाँकी रहँदा ग्याब्रिअल जिससले दोब्बर पारेका थिए। लुआनले ५० औं मिनेटमा टोलीका लागि तेस्रो गोल गरे भने समय सकिन १० मिनेट बाँकी रहँदा बार्बोसाले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिलको एकतर्फी जितलाई क्लाइमेक्स दिए।

'हामीले धेरै धैर्यपूर्वक खेल्यौं। फुटबलमा कहिलेकाहिँ आफूले सोचेजस्तो नतिजा नआइरहेका बेला धैर्यपूर्वक राम्रो खेललाई निरन्तरता दिनुपर्छ। यही गर्दा अहिले खुसी हामीसँग छ,' इङ्लिस प्रिमियर लिग च्याम्पियन लेस्टर सिटीसँगै थुप्रै युरोपेली क्लबको लक्ष्य बन्न भ्याइसकेका बार्बोसाले भने, 'हामीले पहिलो दुई खेलमा पनि नराम्रो खेलेका थिएनौं। तर गोल हुन सकिरहेको थिएन। समर्थकको ध्यान नतिजामा मात्र थियो। यस्तो अवस्थामा आजको जित हाम्रा लागि निकै सुन्तर रहयो।'

ब्राजिलले समूहको अन्तिम खेलबाट पुनरागमन जनाउँदा समस्याग्रस्त छिमेकी अर्जेन्टिनाले भने कमजोर सुरुआतमा कुनै सुधार गर्न सकेन। समूह 'डी' को खेलमा होन्डुरससँग १–१ को बराबरीमा रोकिएपछि अर्जेन्टिना समूह चरणबाटै बाहिरियो। अर्जेन्टिनासँगै २०१२ को स्वर्ण पदकधारी मेक्सिको पनि समूह चरणबाट अघि बढ्न सकेन।

समूह 'डी' बाट पोर्चुगलले अल्जेरियासँग १–१ को बराबरी नतिजा निकाल्यो। बुधबार अन्तिम चरणका खेलपछि पोर्चुगल ७ अंकका साथ शीर्ष टोलीका रुपमा क्वार्टरफाइनल पुग्दा ४ अंक जोडेको होन्डुरस उपविजेताको हैसियतमा अन्तिम चार पुग्यो। समान ४ अंक जोडे पनि अभागी अर्जेन्टिना समूह चरणबाटै बाहिरियो।

एन्थोनी लोजनाकोको गोलमा १५ मिनेट बाँकी रहँदा होन्डुरसले खेलमा अग्रता लिएको थियो। माउरिसियो मार्टिनेजले इन्जुरी समयमा गोल फर्काएर अर्जेन्टिनालाई बराबरीमा ल्याए पनि पुनरागमनका लागि त्यो पर्याप्त भएन्। अर्को खेलमा क्वार्टरफाइनल पुगिसकेको पोर्चुगलले गोन्सालो पासिन्सियाको गोलमा २५ औं मिनेटमा अग्रता लिएको थियो। अल्जेरियाका मोहमद बेन्काबिलाले पाँच मिनेट नबित्दै खेल बराबरीमा ल्याए।

फ्रेइबर्गका स्ट्राइकर निल्स पिटरसनले पाँच गोल गरेपछि विश्व च्याम्पियन जर्मनीले फिजीमाथि १०–० को फराकिलो जित दर्ता गराउँदै समूह 'सी' बाट उपविजेता भएर क्वार्टरफाइनल स्थान सुरक्षित गर्‍यो। खेलमा जर्मनीका म्याक्स मेयरले ह्याटि्रक गरेका थिए भने सेर्गे जिनाब्रीले दुई गोल गरे।

क्वोन चाङ हुनको गोलमा ब्रासिलियामा साविक विजेता मेक्सिकोमाथि १–० को जित निकालेको दक्षिण कोरिया समूहबाट विजेताका रूपमा अघि बढ्यो।

कोलम्बियाले कप्तान टियो गुटिरेज र डोर्लान पाबोनको गोलमा यसअघि नै क्वार्टरफाइनल पुगिसकेको नाइजेरियालाई २–० को नतिजामा हराउँदै अन्तिम आठको यात्रा तय गरेको थियो। प्रतियोगिताबाट बाहिरिइसकेका दुई टोलीबीचको खेमला जापानले स्विडेनमाथि १–० को जित निकाल्यो।

क्वार्टरफाइनलमा पोर्चुगलले जर्मनीसँग खेल्नेछ भने नाइजेरियाले डेनमार्क, दक्षिण कोरियाले होन्डुरस तथा ब्राजिलले कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछन्।

अर्जेन्टिनामा माफिया

अर्जेन्टिनालाई अन्तिम आठमा पुग्नका लागि बुधबार स्पष्ट जित आवश्यक थियो। तर होन्डुरससँग बराबरीमा रोकिएपछि गोलअन्तरमा पछि पर्दै टोली समूह चरणबाटै घर फर्किन बाध्य भयो। एन्टोनी लोरेन्जोको पेनाल्टी गोलमा होन्डुरसले अग्रता लिनाका बाबजुद माउरिसियो मार्टिनेजको गोलमार्फत इन्जुरी समयमा अर्जेन्टिनाले खेल बराबरीमा ल्याएको थियो। तर ब्रासिलियामा त्यो नतिजा टोलीलाई पर्याप्त थिएन। स्पष्ट जित निकाल्न नसक्दा अर्जेन्टिना लज्जाजनक रूपमा प्रतियोगिताबाट बाहिरियो भने मध्य अमेरिकी टोली होन्डुरस अघि बढ्यो।

अन्तर्राष्ट्रिय फुटबलमा पछिल्लो समय लगातार दुर्भाग्यको सिकार बनिरहेको अर्जेन्टिना ब्राजिलमा जारी ओलम्पिकमा भने कमजोर तयारीका कारण असफल भएको मानिएको छ। अर्जेन्टिनी महिला टोलीको नेतृत्व लिइरहेका प्रशिक्षक जुलियो ओलार्टिकोइचालाई केही साता अघिमात्र ओलम्पिक टिमको जिम्मेवारी दिइएको थियो। अर्जेन्टिनी फुटबल संघ (एएफए) मा अत्यधिक शक्तिसंघर्ष भएको तथा क्लबहरूले राष्ट्रिय टोलीलाई आवश्यक पर्दा खेलाडी नदिएको भन्दै प्रशिक्षक जेरार्डो मार्टिनोले राजीनामा दिएपछि ओलार्टिकोइचालाई नियुक्त गरिएको थियो।

अर्जेन्टिनी फुटबलका हस्ती डिएगो म्याराडोनाले एएफएलाई 'माफिया' को दर्जा दिँदै अर्जेन्टिनी फुटबल व्यवस्थापनका कारण फेरि एकपटक निराश हुनुपरेको बताए। 'होन्डुरसले हामीलाई हराउन सक्दैन। होन्डुरसप्रति मेरो धेरै सम्मान छ। तर उनीहरू बेसबल खेल्छन्। उनीहरूलाई फुटबलबारे धेरै कुरा थाहा छैन,' एक स्थानीय रेडियोसँग कुरा गर्दै म्याराडोनाले भने, 'तर हाम्रो देशको फुटबल सञ्चालनको जिम्मेवारी माफियाहरूको हातमा पुगेको छ। उनीहरूको कमजोर व्यवस्थापन र व्यक्तिगत स्वार्थका लागि फुटबल उपयोग गर्ने नीतिका कारण हामीले ब्राजिलमा लज्जाजनक नतिजा बेहोर्नुपरेको हो। होन्डुरससँग हारेर ओलम्पिकको समूह चरणबाटै बाहिरिएको खबर एउटा फुटबलप्रेमी अर्जेन्टिनीका लागि सहनै नसक्ने निराशा हो। यस्तो दुःखद नतिजाले पनि यी माफियाहरूलाई पोल्दैन।'

अर्जेन्टिनी फुटबलका सबैभन्दा सफल खेलाडी म्याराडोना पछिल्ला वर्षहरूमा एएफएको कटु आलोचकमा प्रस्तुत हुँदै आएका छन्। २०१० को विश्वकपमा उनकै प्रशिक्षणमा अर्जेन्टिनी टोलीले दक्षिण अफ्रिकाको भ्रमण गरेको थियो।

प्रकाशित: २८ श्रावण २०७३ ०९:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App