४ आश्विन २०७७ आइतबार
खेल

ओलम्पिकमा दोस्रो चरण पुगेका बक्सर

राजेन्द्र भट्ट

महेन्द्रनगर- खेलजीवन आरम्भ गरेको चारवर्षमै विश्वकै ठूलो खेलमेला ओलम्पिकमा सहभागिता जनाउने अवसर सम्भवत थोरैलाई मिल्छ। यस्तो अवसर पाउनेमध्ये एक हुन्, नेपालका बक्सिङ खेलाडी विष्णुबहादुर सिंह। जसले ओलम्पिकमा सहभागिता मात्रै जनाएनन्। देशको झन्डासमेत फहराए। चाहे त्यो केही क्षणका लागि मात्रै किन नहोस्।

सन् १९८८ मा दक्षिण कोरियाको सोलमा आयोजित २४ औं गृष्मकालीन ओलम्पिकमा सिंहले नेपालको प्रतिनिधित्व गरेका थिए। ५१ केजी फ्लाइटवेटबाट रिङमा उत्रिएका सिंहले राष्ट्रको प्रतिनिधित्वमात्र गरेनन्, पहिलो चरणमा पाराग्वेका खेलाडीमाथि जित पनि हात पारे। ओलम्पिक इतिहासमा नेपाली खेलाडीले पहिलो चरण पार गरेको सम्भावत यो पहिलो हो। उनले पाराग्वेका रेस्पेनो प्रोभेरालाई १८–२० अंक अन्तरले पराजित गर्दै दोस्रो चरणमा तय गरेका थिए।

दोस्रो चरणमा रेफ्रीको विवादित निर्णयका कारण अमेरिकी खेलाडीसँग आफूले पराजय भोग्नुपरेको गुनासो उनको छ। 'दोस्रो खेलमा अमेरिकाका खेलाडीसँग प्रतिस्पर्धा थियो। रेफ्रीको गलत निर्णयको सिकार भएँ,' ओलम्पियन सिंहले विगत सम्झँदै भने, 'विपक्षी खेलाडीलाई कर्नरमा पञ्च गरिरहेको थिएँ। रेफ्रीले उनीमाथि झुलिएको आशंकामा विपक्षीको पक्षमा निर्णय दिए।'

उक्त खेलमा न्युजिल्यान्डबाट प्रतिधिधित्व गर्ने रेफ्री नयाँ भएको र नेपाल परिचित देश नभएकाले आफ्नो विपक्षमा निर्णय गरिएको उनको भनाइ छ।

भीमदत्त नगरपालिका–१४ बनकट्टी निवासी सिंहसँगै त्यति बेला नेपालका पाँच बक्सर ओलम्पिकमा सहभागी थिए। अर्का खेलाडी डम्बरदत्त भट्ट पनि भीनपा–१८ निम्बुखेडा निवासी हुन्।

भट्टबाहेक रामबहादुर केसी, दलबहादुर रानामगर र झपटसिंह भुजेलले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेका थिए। तर, सिंहबाहेक कसैले पनि पहिलो चरण पार गर्न सकेनन्। हुन त त्यति बेला नेपालका विधान लामाले तेक्वान्दोको प्रदर्शनी खेलमा कांस्य पदक जितेका थिए।

थाइल्यान्डका प्रशिक्षक सुरातबाट दुईमहिने प्रशिक्षण लिएको उनी सम्झन्छन्। 'ओलम्पिकको दुई महिनाअघि मात्रै तयारी सुरु भएको थियो,' उनले भने, 'अहिले जस्तो सेवासुविधा त्यति बेला थिएन।'

२०२६ साल पुस ११ मा जन्मेका सिंहले बक्सिङमा ओलम्पिकसम्म पुग्ने कल्पना गरेका थिएनन्। कक्षा आठमा सदरमुकाम महेन्द्रनगरको बैजनाथ माध्यमिक विद्यालयमा अध्ययनरत हुँदा उनले बक्सिङ खेल्न सुरु गरेका थिए। 'खेलप्रति लगाव थियो तर त्यतिखेर यहाँ अहिलेजस्तो सबै खेलका प्रशिक्षक थिएनन्। २०४० सालको कुरा हो। बक्सिङका प्रशिक्षक आएको जानकारी पाएपछि यस खेलमा लागेको हुँ,' उनी विगत सुनाउँछन्।

प्रशिक्षक मदनकुमार गुरुङबाट प्रशिक्षण लिएका सिंहले त्यसको चारवर्षमै सोल ओलम्पिक खेलेका हुन्। कभर्ड हल नजिकै अध्ययनरत विद्यालय भएकाले पनि आफूलाई खेलप्रति आकर्षित गरेको सिंह बताउँछन्।

पढाइका लागिसदरमुकाम महेन्द्रनगर बजारमै बस्दै आएका सिंहले बक्सिङ सिक्दै गरेको परिवारलाई समेत जानकारी गराएका थिएनन्। 'खेलमा लागे पढाइ बिग्रिन्छ भन्ने परिवारको सोच भएकाले कसैलाई यसबारे जानकारी गराएको थिइनँ।'

ओलम्पियन सिंहले थपे, '२०४० सालमा भएको सुदूरपश्चिमस्तरीय प्रतियोगितामा पहिलो भएपछि राष्ट्रिय प्रतियोगितामा खेल्न जाँदा घरपरिवारले थाहा पाए।'

सोहि वर्ष धरानमा भएको राष्ट्रिय बक्सिङ प्रतियोगितामा उनले ४५ केजी समूहमा स्वर्ण पदक हात पारे। त्यसपछि परिवारको सहयोगसमेत पाएका सिंहको खेलयात्राले गति लियो। राष्ट्रिय र क्षेत्रीय प्रतियोगितामा उनले ८ स्वर्ण र एक रजत पदक जिते। उनले त्यसबीच १२ वटा प्रतियोगितामा सहभागिता जनाएका थिए। धेरैजसो ओलम्पिक खेलेपछि भएको उनी बताउँछन्।

उनले ११ र १२ औं एसियाडसमेत खेलेका थिए। झन्डै १२ वर्षे खेलजीवनमा सिंहले अन्तिमपटक हिरोशिमा एसियाडमा सहभागिता जनाएका हुन्। बक्सिङमा उनको निरन्तर कुशल प्रदर्शनकै कारण २०४५/०४६ मा सिंहलाई देशकै सर्वोकृष्ट खेलाडीका रूपमा सम्मानितसमेत गरियो।

त्यसलगत्तै उनले बक्सिङको सहायक प्रशिक्षकको जिम्मेवारी पाए। २०४६ सालमा सहायक प्रशिक्षक भएर खेलाडी उत्पादन गर्न लागेका सिंह तीन वर्षपछि अरु प्रशिक्षकसँगै पदबाट निष्कासित हुनुपर्‍यो। तर २०५२ सालमा फेरि उनले करारमा नियुक्ति पाए र २०६४ देखि सुदूरपश्चिम खेलकुद विकास समितिका उपनिर्देशक तथा बक्सिङका वरिष्ठ प्रशिक्षक भएर कैलालीमा कार्यरत छन्।

अहिले उनले उत्पादन गरेका खेलाडी राष्ट्रिय स्तरमा पदक विजेता बनेका छन्। वर्तमान खेलकुदमा राजनीति धेरै हाबी भएको उनको ठम्याइ छ।

ओलम्पियन सिंह भन्छन्, 'नेपाली खेलाडीमा क्षमता छ। राज्यले खेलाडीको सेवासुविधाको व्यवस्था गर्नुपर्छ। यसो भए आफूजस्तै धेरै खेलाडीले विश्वमा नेपाली झन्डा फहराउने मेरो विश्वास छ।'

प्रकाशित: २३ श्रावण २०७३ १०:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App