७ वैशाख २०८१ शुक्रबार
खेल

एपिएफलाई हराउँदै संकटा सेमिफाइनलमा

हेडिङ प्रहार गर्दै संकटाका रोशन पहारी।

सशस्त्र प्रहरीको एपिएफ क्लवलाई हराउँदै संकटा क्लव पाँचौ राष्ट्रिय बागमती गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।  संकटाले एपिएफलाई १–० गोलले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो। 

योसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ।  खेलको ८५ औं मिनेटमा मेसुके ओलुमोउले गरेको गोल नै निर्णायक बन्यो।  अनुज गैरेको लामो प्रहारलाई नियन्त्रणमा लिँदै उनले उत्कृष्ट गोल गरेका हुन्।  पहिलो हाफ दुवै टिमले गोलरहित बराबरी खेलेका थिए।  खेलको २८ औं मिनेटमा निसान खड्काको प्रहार एपिएफका गोलरक्षक एन्जल श्रेष्ठले मुस्किलले बचाए।  ३६ औं मिनेटमा एपिएफका युवराज खड्काको हेडर पोष्ट नजिकैबाट बाहिरियो। 

४१ औं मिनेटमा मणि लामाको सशक्त प्रहार संकटाका गोलरक्षक टेकेन्द्र थापाले मुस्किलले बचाए।  ४५ औं मिनेटमा मेसुकेको प्रहार पोष्ट नजिकैबाट बाहिरियो।  दोस्रो हाफको आठौं मिनेटमा संकटाका सुनिल बलको हेडरलाई गोलरक्षक श्रेष्ठले सहजै नियन्त्रणमा लिए।  ७२ औं मिनेटमा निसान खड्काको प्रहार पोष्टमा लागेर फर्किंदा संकटाले अग्रता लिन सकेन।  ८२ औं मिनेटमा सरोज दाहालको प्रहारलाई एपिएफका सविन थापाले गोल लाइनबाट बचाउँदै संकट टारे।  ८३ औं मिनेटमा संकटाका रोशन पहारीको प्रहार पोष्टमा लागेर फर्कियो। 

खेलको निर्णायक गोलकर्ता मेसुके नै खेलको म्यान अफ द म्याच भए।  उनले नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।  संकटाले अब फाइनल प्रवेशका लागि आइतबार घरेलु टोली मकवानपुर ११ संग खेल्नेछ।  शनिबार पहिलो सेमिफाइनल जावलाखेल क्लव र भुट्निज स्पोर्टस् क्लवको बीचमा हुनेछ।  माघ ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ।  प्रतियोगिताको विजेताले नगद ८ लाख र उपविजेताले ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।  

यस्तै सर्वोत्कृष्ट खेलाडीले ५१ हजार र विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ।  बागमती गाउँपालिका कार्यालयको मुख्य प्रायोजन एवम् बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजना गोल्डकप सञ्चालन हुँदै आएको हो।  

प्रकाशित: २९ पुस २०७९ १२:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App