७ वैशाख २०८१ शुक्रबार
खेल

भक्तपुरको मौलिक खेल कसिमला पाँय्ले पुनर्जीवन पाउँदै

भक्तपुरको पुरानो लोप भइसकेको कसिमला पाँंय् खेल (एक प्रकारको खेल) पुनर्जीवन पाउन थालेकाे छ। इतिहासदेखि चल्दै आएको पुरानो यो खेल अहिले भक्तपुरमा निरन्तर खेलिन थालेको छ।

विभिन्न टिम, क्लब, वाचनालय, सहकारी, स्कुललगायतले समय समयमा प्रतियोगिता गर्न थालेसँगै अहिले यो खेलले पुनर्जीवन पाउन थालेको हो। खेलप्रति आकर्षित गर्न भनी नगद पुरस्कारसहितको प्रतियोगिता गर्न थालेपछि अहिले जनस्तरमा पनि यो खेल खेल्न थालिएको हो। विशेष गरेर यहाँका सार्वजनिक पाटी पौवा, स्थलमा फुर्सदको समयमा यो खेल खेल्न थालिएको हो।

यसअघि यो खेल लोप हुन थालेको भन्दै भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा यो खेल पाठ्य सामग्रीको रुपमा राखेको थियो। भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा समावेश गराएपछि यस खेलले पुनर्जीवन पाउन सहज भएको हो। अहिले यस खेललाई स्थानीय पाठ्यक्रमको कक्षा ६ मा समावेश गरिएको छ। कक्षा ६ अध्ययन गर्ने भक्तपुर नगरभरिका सार्वजनिक र निजी तथा आवासीय (सरकारी र वोर्डिग) सबै स्कुलका विद्यार्थीले यसबारे अनिवार्य रुपमा अध्ययन गर्नुपर्छ। यही कारण अहिले यो खेल बुढापाकाले मात्र नभई स्कुलमा विद्यार्थीहरूले पनि मन लगाएर खेल्ने गरेका हुन्।

यही खेलको प्रवर्द्धनको लागि यसलाई २०७५ सालदेखि भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष गर्ने अन्तरनगर खेलकुद प्रतियोगितामा पनि यो खेललाई समावेश गर्दै आएको छ।

संस्कृतिविद् ओम धौभडेलले कसिमला पाँय् खेल भक्तपुरको आफ्नै खेल रहेको जानकारी गराए। ‘यो हाम्रो परम्परागत खेल हो,’ उनले भने। केही समय अगाडि यो लोप हुन लागेको धौभडेल बताउँछन्। उनले सेनाबीचको झगडा हुने बेला कसरी आफू बचेर दुश्मनका सेनालाई मार्ने भन्ने ज्ञान यस खेलबाट मिल्ने सुनाए। ‘यस खेलले मनोरञ्जनका साथै बौद्धिक खुराक प्रदान गर्ने गर्छ,’ उनले भने।

यो खेलका लागि नर्कट वा बेत बाँसको चार ओटा कप्टेरा वा पत्ती आवश्यक पर्छ। पत्ती यस खेलको मुख्य सामान हो। यसलाई नेवारीमा पाँय् भनिन्छ। साथै यस खेलमा एउटा बोर्ड र दुईथरि गोटी आवश्यक पर्दछ।

दुईथरि गोटीमा स्थानीयहरूले खेल्ने बेलामा एउटा इँट्टाका टुक्रा राख्छन् भने अर्को पक्षले ढुंगाका टुक्रा राख्ने चलन छ। विशेष गरी यस बोर्डको बीचको भागलाई मला भनिन्छ। मलाको शाब्दिक अर्थ गल्ली हो। ती कोठाहरू १७ देखि २५ वटासम्म हुने गर्छन्।

कसिमला पाँय् खेल्ने तरिका

यो खेल पाँय् फालेर सुरु गरिन्छ। कसी नभएसम्म आफ्नो गोटी चाल्न पाइँदैन। गोटी चाल्ने मुख्य आधार यसमा रहेको पाँय् र कप्टेरामा आउने संख्या हो। यसमा दुईजना खेलाडीले खेल्न मिल्ने खेल हो। खेलाडीले आफ्नो गोटी दायाँबाट चाल्नुपर्ने नियम छ। दुवै पक्षले पाँय् उफार्दै पाय्मा आएको संख्याको आधारमा आफ्नो गोटी चाल्नुपर्छ। यो एक किसिमले लुडो जस्तै पनि देखिन्छ।

चार वटा पत्ती उफार्दा यदि तीनवटा पत्ती घोप्टो परेर एउटा माथि फर्केमा कसी हुन्छ। यसपछि मात्र गोटी चाल्न पाइन्छ। जस्तै लुडोमा एक आएपछि कोठाबाट बाहिर निस्कन पाउने भने जस्तै कसी नआएसम्म गोटी चाल्न पाइन्न। कसिपाँय् ४ वटामध्ये २ वटा माथि फर्केको र २ वटा घोप्टो परेमा द्वाक (२) मानिन्छ। त्यसैगरी ३ वटा माथि फर्केको र १ वटा घोप्टो परेमा सुदी (३) मानिन्छ। ४ वटा माथि फर्केमा पिइ (४) मानिन्छ।

यदि कसिपाँय् चारै वटा घोप्टो परेमा ङा (५) मानिन्छ। यसरी कसिपाँय् उफार्दा पिई (४) र ङा (५) आएमा पुनः दोहोर्‍याएर कसिपाँय् उफार्न पाइन्छ। यो खेल खेल्न कम्तीमा २० मिनेट देखि १ घण्टाको समय लाग्दछ।

गुरु गणेश साकोसद्धारा खुल्ला भक्तपुर नरगव्यापी कसिमला पाँय् प्रतियोगिता

गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा खुल्ला भक्तपुर नगर व्यापी कसिमला पाँय् प्रतियोगिताको बुधवार देखी सुरु भएको छ। 

प्रतियोगिताको उद्घाटन संस्थाका अध्यक्ष कृष्णराम कासिछ्वाले रेफ्रि राजेन्द्र प्रजापतिलाई कसिमला पाँय् हस्तान्तरण गरी गरे।

प्रतियोगितामा ३७ जना सहभागी रहेको थियो। वर्ष ७३ का लक्ष्मीभक्त दुवालदेखि १४ वर्षका सलिन बोहजूसम्म प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छन्।

प्रकाशित: २७ पुस २०७९ १३:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App