coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

एपिएफ महिला क्रिकेट च्याम्पियन

काठमाडौं– विभागीय टोली एपिएफ क्लबले राष्ट्रिय महिला छनोट क्रिकेट प्रतियोगिताको उपाधिजितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार एपिएफले पूर्वाञ्चललाई १० रनले हरायो । वर्षाकारण १० ओभरमा घटाइएको खेलमा सुरुआती ब्याटिङ गरेको एपिएफका लागि सीता रानामगर र सरिता मगरले उत्कृष्ट ब्याटिङ गरेका थिए।

निर्धारित १० ओभर पूरा खेल्दा एपिएफले १ विकेट गुमाई ६४ रन जोडेको थियो । ओपनर ज्योति पाण्डे ८ रन जोडेर ममता चौधरीबाट क्याचआउट भइन् । कविता गौतमको बलमा ज्योति आउट हुँदा एपिएफको खातामा १५ रन थियो । त्यसपछि सरिता र सीताले क्रिज सम्हाल्दै गतिलो प्रदर्शन गरे ।

अविजित सीताले २९ र सरिताले २२ रन बनाए । सीताले २८ बलमा १ चौका प्रहार गरेकी थिइन् । प्लेयर अफ दी फाइनलबाट पुरस्कृतसरिताले १८ बलमा ३ चौका प्रहार गरिन् ।

राष्ट्रिय टोलीकी कप्तान रहेकी रुबिना क्षेत्रीले पूर्वाञ्चलबाट खेलेकी थिइन् । उनले फाइनलमा २ ओभर बलिङ गरेपनि विकेट भने लिन असफल भइन् ।

यसैगरी ६५ रनको विजय लक्ष्यसहित मैदान उत्रिएको एपिएफले १० ओभरमा ५ विकेट गुमाई ५४ रनमात्र जोड्न सक्यो । कप्तान रुबिनाले अविजित १६ र रश्मी शर्माले १२ रन बनाए । त्यसबाहेक पूर्वाञ्चलका लागि अन्य खेलाडीले दोहोरो स्कोरमा रन जोड्न सकेनन् ।

एपिएफकी सोनु खड्का र सरिता मगरले समान १ विकेट लिए । प्रतियोगितामा एपिएफकी सरिता मगर उत्कृष्ट खेलाडी, पूर्वाञ्चलकी सवनम राई उत्कृष्ट फिल्डर, मध्यपश्चिमकी लक्ष्मी चौधरी उत्कृष्ट बलर र पूर्वाञ्चलकी सन्तोषी चौधरी उत्कृष्ट ब्याट्सवुमन भए ।

कीर्र्तिपुरमा तीनदिन चलेको प्रतियोगितालाई आयोजक राष्ट्रिय खेलकुद परिषद(राखेप) ले आइसिसी महिला विश्वकप छनोट प्रतियोगिताका लागिटोली तयार पार्ने उद्देश्यले गरेको हो ।

सिनियर खेलाडीलाई पछि पार्दै मध्यपश्चिमकी लक्ष्मी चौधरीले प्रतियोगितामा सर्वाधिक ६१ रन जोडिन् ।

पश्चिमाञ्चलकी वर्षा रानासर्वाधिक रन जोड्नेमा दोस्रो, पश्चिमाञ्चलकै इन्दु वर्मा तेस्रो, एपिएफकी ज्योति पाण्डे चोथो र सुदूरपश्चिमकी रोशनी बोहरा पाँचौं नम्बरमा रहे ।

यसैगरी बलिङतर्फ पूर्वाञ्चलकी सन्तोषी चौधरी पहिलो नम्बरमा रहिन् । उनले दुई खेलमा ६ विकेट लिएकी थिइन् । दोस्रो स्थानमा पूर्वाञ्चलकी कविता गौतम, तेस्रोमा करुणा भण्डारी, चौथोमा रितु कनौजिया र पाँचौंमा नीरा राजोपाध्याय रहे ।

विजेता एपिएफले १ लाख र उपविजेता पूर्वाञ्चलले ५० हजार रुपैयाँ पुरस्कार पाए । विजेता खेलाडीलाई राखेप सदस्यसचिव केशवकुमार विष्टले पुरस्कृत गरे।

प्रतियोगिताबाट आइसिसी विश्वकप छनोटका लागि २४ खेलाडी छनोट गरेर बन्द प्रशिक्षणमा राख्ने जनाएको छ । साउन अन्तिम साताबाट बन्द प्रशिक्षण सुरु हुनेछ ।

नेपाल क्रिकेट संघ(क्यान)लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले निलम्बन गरेपछि नेपाली खेलकुदको सर्वोच्च निकाय राखेपले महिला क्रिकेट आयोजना गरेको हो । स्पर्धामा पाँच विकास क्षेत्रको टोली र एपिएफले प्रतिस्पर्धा गरेका थिए।

 

प्रकाशित: १२ श्रावण २०७३ ०२:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App