१६ चैत्र २०८० शुक्रबार
खेल

रेफ्रीलाई सम्मान गर्न चेतावनी

लन्डन- नयाँ सिजन सुरु हुनुपूर्व इङ्लिस प्रिमियर लिगका स्टारहरूलाई आफ्नो व्यवहारमा सुधार गर्दै रेफ्रीप्रति सम्मान गर्न चेतावनी दिइएको छ। खेलाडीले अपशब्द प्रयोग तथा आक्रामक व्यवहारबाट रेफ्रीलाई दुर्व्यवहार गर्ने घटनाहरू बढ्दै जान थालेपछि इङ्ल्यान्ड फुटबल संघ (एफए), प्रिमियर लिग र फुटबल लिगले बुधबार यस्तो चेतावनी जारी गरेका हुन्। खेलाडी र प्रशिक्षकले रेफ्रीलाई घेरेर प्रभावित गर्न खोज्ने, शारीरिक रूपमा छुने र विभिन्न रूपमा निराश पार्ने घटनाका कारण इङ्लिस फुटबलको सर्वोच्च निकायले आफू हैरान भएको जनाएको छ। खेलाडी र प्रशिक्षक सानो उमेरका बालबच्चाहरूको आदर्श हुने भएकाले उनीहरूले जस्तो व्यवहार देखायो, बालबालिकाले त्यही सिक्ने भएकाले पनि खेलाडीहरू सच्चिनुपर्ने बताइएको छ।

अप्रिलमा वेस्ट ह्यामविरुद्धको खेलमा विवादास्पद रूपमा रातो कार्ड पाएपछि लेस्टर सिटीका स्ट्राइकर जेमी भार्डेले रेफ्री जोनाथन मोसलाई गरेको व्यवहार गत सिजनमा ठूलै चर्चाको विषय बनेको थियो। मोसले डाइभिङ गरेवापत भार्डेलाई रातो कार्ड देखाएका थिए। यसैगरी टोटेनह्याम र चेल्सीबीच बराबरीमा सम्पन्न महŒवपूर्ण खेलमा पनि खेलाडी र प्रशिक्षकको व्यवहार रेफ्रीप्रति राम्रो थिएन। जसका कारण दुवै क्लबलाई ठूलो जरिवाना गरिएको थियो।

'त्यो खेल (टोटेनह्याम र चेल्सीबीच) बाट अनुशासनको मामलामा कठोर हुन एफएलाई शिक्षा मिलेको होइन। हामी सधँै फुटबल अनुशासित होस भन्ने चाहन्छौं। तर, पछिल्लो समय फुटबलमा सरोकारवालाको व्यवहार समस्या बन्न थालिसकेको छ। त्यसैले हामीले समयमै कठोर निर्णय लिनुपरेको हो,' एफएका प्रमुख कार्यकारी मार्टिन ग्लेनले भने, 'फुटबल धेरैका लागि प्रिय खेल हो। फुटबल स्टारहरूलाई विश्वभर धेरैले आदर्श बनाएका हुन्छन्। यहाँ मैदानमा खेलाडीले गर्ने व्यवहार विश्वभर उनीहरूका समर्थकका लागि उदाहरण बन्न सक्छ। स–साना बालबालिकाले त्यही सिको गर्न सक्छन्। फुटबल समाज बिगार्ने माध्यम बन्न सक्छ, जुन हुनुहुँदैन।'

एफएले ल्याएको नयाँ नीतिअनुसार यो सिजनदेखि रेफ्रीलाई अपशब्द प्रयोग गर्ने खेलाडीले सोझै रातो कार्ड सामना गर्नुपर्नेछ। यसैगरी आक्रामक रूपमा शरीर छुने गरी केही अपिल गरेमा पनि सोझै रातो कार्ड देखाइने छ। थुप्रै खेलाडीले रेफ्रीलाई घेरेर अपिल गरेमा पनि रेफ्रीले कम्तीमा एक खेलाडीलाई पहेँलो कार्ड देखाउनुपर्नेछ। प्रिमियर लिगका कार्यकारी अध्यक्ष रिचार्ड सुडामोरले आउँदो सिजनदेखि अनुशासनको मामलामा शून्य सहनशीलताको नीति लिइएको बताए।

'खेलाडीका खराब व्यवहारमा सुधार नआउने हो भने यो सिजनदेखि प्रिमियर लिगमा पहेँलो र रातो कार्डको वर्षा हुनेछ,' सुडामोरले भने, 'खेललाई थप अनुशासित बनाउने अभियानमा क्लबहरूले पनि प्रतिवद्धता जनाएका छन्। यो सुखद कुरा हो। हामी विश्वले हेरिरहेको लिगलाई अत्यन्तै अनुशासित बनाउन चाहन्छौं। फुटबलका कुनै पनि नियममा सम्झौता गरिने छैन।'

खेलाडीजस्तै रेफ्रीलाई पनि कुनै विवादका घटना हुँदा खेलाडी वा प्रशिक्षकलाई छोएर व्यवहार नगर्न निर्देशित गरिएको छ।

प्रकाशित: ६ श्रावण २०७३ ०३:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App