coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सर्वाधिक पुरस्कार राशिको महिला क्रिकेट आगामी साता

काठमाडौँ– विश्वकप छनोट खेल्ने नेपाली राष्ट्रिय महिला क्रिकेट टोली निर्माणका लागि आगामी हप्ता ‘महिला राष्ट्रिय छनोट प्रतियोगिता’ हुने भएको छ।

यही साउन ८ देखि ११ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगितामा उत्कृष्ट ठहरिएका खेलाडीले यसै वर्ष हङकङमा हुने आइसिसी महिला विश्वकप अन्तर्गत एसिया क्षेत्र छनोट खेल्ने नेपाली राष्ट्रिय महिला टोलीमा समावेश हुन पाउनेछन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा हुने प्रतियोगितामा एक विभागीय टोलीसहित पाँच विकास क्षेत्रका गरी छ टोलीले सहभागिता जनाउनेछन्। ‘टि–ट्वन्टी फर्म्याट’मा हुने प्रतियोगितामा छ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । सो अन्तर्गत समूह ‘ए’मा सशस्त्र प्रहरी बलको एपिएफ क्लब, मध्यमाञ्चल र मध्यपश्चिमाञ्चल विकास क्षेत्र छन् । त्यस्तै समूह–‘बी’मा पूर्वाञ्चल, पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका टोली छन् ।

राउन्ड रोबिन लिगमा खेलाइएका खेल अन्तर्गत दुवै समूहमा शीर्ष स्थान ओगट्न सफल दुई टोली फाइनलमा पुग्नेछन् र उनीहरुबीच उपाधि भिडन्त हुनेछ । यसै प्रतियोगिताबाट उत्कृष्ट २४ खेलाडी छनोट गरी बन्द प्रशिक्षण शिविरको आयोजना गरिनेछ र राष्ट्रिय टोली तयार पारिनेछ ।

छनोट प्रतियोगिताको विजेता टोलीले रु एक लाख, उपविजेताले रु ५० हजारसहित ट्रफी, पदक आदि पाउनेछन्। त्यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर सहित उदीयमान खेलाडीले उचित पुरस्कार पाउनेछन् । नेपाली महिला क्रिकेटको इतिहासमै पहिलो पटक विजेता टोलीलाई यति धेरै नगद पुरस्कार राखिएको राखेपको जिकिर छ।

नेपाली क्रिकेटको मातृ सङ्गठन नेपाल क्रिकेट सङ्घ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को निलम्बनमा परेका बेला राखेपद्वारा गठित क्रिकेट समन्वय समिति अहिले सक्रिय छ। रासस

प्रकाशित: ३ श्रावण २०७३ १२:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App