७ वैशाख २०८१ शुक्रबार
खेल

इतिहास रच्ने वेल्सको आशा

लियोन-गारेथ बेलेको वेल्सले युरो २०१६ को सेमिफाइनलमा बुधबार क्रिस्टियानो रोनाल्डोको पोर्चुगलविरुद्ध खेल्दा पछिल्लो ५० वर्षमा पहिलोपल्ट फाइनल खेल्ने ब्रिटिस टोलीको लक्ष्य राख्नेछ।

अन्तिम ८ मा प्रमुख दाबेदार मानिएको बेल्जियमलाई ३–१ ले पराजित  गर्दै वेल्स युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा पहिलोपटक पुगेको हो । यहाँसम्म आइपुग्नु नै वेल्सका लागि ठूलो सफलता हो ।

तथापि बुधबार लियोनमा पोर्चुगल र वेल्स आमने–सामने हुँदा रियाल मड्रिडका दुई स्टार खेलाडी पनि एकापसमा भिड्नेछन् । यी दुई विश्वकै सबैभन्दा महँगा खेलाडी हुन् ।

‘यो दुई खेलाडीबीचको मात्र प्रतिस्पर्धा होइन र यो सबैलाई थाहा पनि छ । यो दुई राष्ट्रबीचको सेमिफाइनल हो,’ रोनाल्डोसँगको प्रतिस्पर्धा पन्छाउने प्रयास गर्दै बेलले भने, ‘उनी उत्कृष्ट खेलाडी हुन् । सबैलाई थाहा छ कि उनी के गर्न सक्छन् भनेर । हामी एक व्यक्तिमा केन्द्रित नभई टोलीका रूपमा के गर्न सक्छौं भनेर सोचिरहेका छौं ।’

रियालबाट पछिल्लो तीनवर्षमा दुईपटक च्याम्पियन्स लिग जिते पनिस्पेनको राजधानीमा बेल भने रोनाल्डोको छायाँमा परेका छन् । जहाँ पोर्चुगलका रोनाल्डोले आफूलाई रियालको इतिहासमा महान खेलाडीको सूचीमा दर्ज गरिसकेका छन् ।

यद्यपि यी दुईलाई दाँज्ने हो भने फ्रान्समा बेलको प्रदर्शन उत्कृष्ट छ । समूह चरणका सबै खेलमा गोल गरेका बेलले उत्तरी आयरल्यान्डविरुद्ध गारेथ म्याकऔलेले गरेको आत्मघाती गोलमा भूमिका खेलेका थिए।

ठिक विपरीत, रोनाल्डोको प्रदर्शन भने आशातीत हुन सकेको छैन । क्लबमा उनले जस्तो गोल गर्छन् राष्ट्रिय टोलीबाट फ्रान्समा गोल गर्न सकेका छैनन् ।

समूह चरणमा हंगेरीविरुद्ध दुई गरेका रोनाल्डो सबै चार छुट्टाछुट्टै युरोपियन च्याम्पियनसिपमा गोल गोल गर्ने एक्ला खेलाडी भएका छन् । तर, तीनपटकका विश्व वर्ष खेलाडी रोनाल्डो आइसल्यान्ड, अस्ट्रिया, क्रोएसिया र पोल्यान्डविरुद्ध भने गोल गर्न असफ भए । तथापि पोर्चुगलका मिडफिल्डर आन्द्रे गोमेजले आफ्नो कप्तानको प्रदर्शनलाई बचाउ गरेका छन् । ‘उनले टोलीका लागि धेरै मिहिनेत गरेका छन् जुन धेरै महŒवपूर्ण पक्ष हो । टोलीका लागि उनले गर्न सक्ने सबै प्रयास गरेका छन्,’ भ्यालेन्सियाका मिडफिल्डर गोमेजले भने, ‘हाम्रा लागि रोनाल्डोले जति महŒव राख्छन्, वेल्सका लागि बेलले पनि त्यति नै महŒव राख्छन् ।’

‘बेललाई स्पेनिस लिगबारे राम्रो ज्ञान छ तर मैले यसअघि पनि ब्रिटिस टोलीविरुद्ध खेलिसकेको छु र मलाई उनीहरूको शैली थाहा छ । उनीहरू बलिया छन् । आक्रामक छन् । उनीहरूको आक्रमण र काउन्टर आक्रमण धेरै राम्रो छ,’ गोमेजले थपे, ‘सेमिफाइनलमा को बलियो भनेर भन्न सकिँदैन । यदि वेल्सले यहाँसम्मलामो यात्रा तय गर्छ भने पक्कै पनि त्यो टोलीमा केही छ । हामीले उनीहरूलाई सम्मान गर्नुपर्छ।’

पोर्चुगलले अन्तिम ४ को यात्रा गर्दा ९० मिनेटमा खेल जित्न सकेको छैन भने समूह चरणका सबै खेलमा बराबरी खेल्दै नकआउट चरण प्रवेश गरेको हो । अन्तिम १६ मा क्रोएसियालाई हराउँदा रिकार्डो क्वारेस्माले १ सय १७ औं मिनेटमा गोल गरेका थिए भने क्वार्टरफाइनलमा पोल्यान्डलाई पेनाल्टी सुटआउटबाट पन्छाएको हो ।

बेलले पछिल्लो पाँच युरोपियन च्याम्पियनसिपमध्ये चौथोपटक सेमिफाइनल पुगेको पोर्चुगलको यात्रा कमजोर भएको अस्विकारे ।

‘उनीहरूले प्रतियोगितामा जे गरेका छन् त्यो हामीलाई राम्रो थाहा छ । उनीहरूको सबै खेल हामीले टिभीमा हरेका छौं । उनीहरू खतरनाक टोली हो । उनीहरू धेरै स्तरीय छन् र त्यसै यहाँसम्म आइपुगेका होइनन्,’ बेलले भने, ‘उनीहरूले निर्धारित समयमा खेल जितेका छैनन् तर चाहिने नतिजा निकाल्न सफल छन् । हामीले सामान्यरुपमा आफ्नो काम गरेका छौं । आशा गरौं, बुधबारको रात हामीले अर्को एउटा राम्रो प्रदर्शन गर्नेछौं र अर्को एउटा इतिहास रच्नेछौं ।’

दुवै टोलीलाई खेलाडीको निलम्बनले पिरोलेको छ । वेल्सका वेन डेभिस र आर्सनलका मिडफिल्डर आरोन राम्सेले बुधबारको खेल गुमाउनेछन् । क्रिस्टल प्यालेसका जोनी विलियम्सले राम्सेको स्थान लिने सम्भावना छ । तर, डेभिसको अनुपस्थितिले भने वेल्सको रक्षापंक्तिमा समस्या हुनसक्छ ।क्रिस गुन्टरले दायाँ विङ्सबाट पछाडि खेल्नुपर्ने हुनसक्छ भने फुलह्यामका ज्याज रिचार्डले प्रतियोगितामा पहिलो पटक सुरुआती ११ मा ठाउँ पाउनसक्छन् ।

पोर्चुगलका विलियम कार्भाल्हो निलम्बनमा छन् तर गोमेज र जोओ माउन्टिन्हो चोटमुक्त हुँदै टोलीमा पर्ने सम्भावना छ । कार्भाल्होको सट्टा मिडफिल्ड सम्हाल्नड्यानिलो एक उत्तम विकल्प हुन सक्छन्।

 

 

प्रकाशित: २२ असार २०७३ ०३:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App