७ वैशाख २०८१ शुक्रबार
खेल

पोर्चुगलको शक्ति, क्रोयसियाको शक्ति

लियोन- पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले शनिबार प्रिक्वार्टरफाइनलमा क्रोएसियाविरुद्ध खेल्दा प्रदर्शनमा धेरै सुधार गर्नुपर्ने बताएका छन्। समूह चरणका ३ खेलमा बराबरी खेल्दै पोर्चुगलले अन्तिम १६ को यात्रा तय गरेको थियो।

क्रोएसियाले समूह चरणको अन्तिम खेलमा साबिक विजेता स्पेनलाई २–१ ले पराजित गर्दै विजेताको हैसियतमा अन्तिम १६ मा स्थान पक्का गरेको हो। पोर्चुगल भने अन्तिम लिग खेलमा पनि हंगेरीसँग ३–३ को बराबरीमा रोकिएपछि जितविहीन बनेर अगाडि बढेको थियो।

पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले आइसल्यान्डविरुद्ध १–१ र अस्ट्रियाविरुद्ध गोलरहित बराबरी खेल्दा गोल गर्न नसके पनि हंगेरीविरुद्ध दुई गोल गरेका थिए। उनको गोलमा पोर्चुगलले हार टार्दै समूह चरणबाटै बाहिरिने सम्भावनालाई पन्छाएको थियो।

लगातार चार युरोपियन च्याम्पियनसिपमा गोल गर्न सफल रोनाल्डोले पोर्चुगलको लक्ष्य प्राप्तिका लागि योगदान गर्नेमा प्रशिक्षक सान्तोस विश्वस्त छन्। उनी पहिलो उपाधि जित्नेमा आशावादी छन्।

‘रोनाल्डो गोल गर्न सक्ने र खेल जिताउने खेलाडी हुन्। उनी अग्रपंक्तिमा पनि खेल्न सक्छन् र गोलका लागि अवसर पनि सिर्जना गर्न सक्छन्,’ हंगेरीविरुद्ध म्यान अफ दी म्याच प्रदर्शन गरेका रियाल मड्रिडका फरवार्डबारे सान्तोसले भने, ‘म विश्वस्त छु कि त्यो प्रदर्शनले उनको आत्मविश्वास बढेको छ, जुन प्रतियोगितामा हाम्रो जितका लागि निकै महत्वपूर्ण छ।’

‘अबका प्रत्येक खेल फरक हुनेछ किनकि सबै खेल फाइनलसरह हुन्छन्। हामी सबै टोलीभन्दा शीर्ष स्थानमा हुन चाहन्छौं,’ सान्तोसले थपे, ‘हामीलाई रक्षापंक्ति र अग्रपंक्तिबीच धेरै राम्रो तालमेल बनाउनु आवश्यक छ। हामी आक्रमणमा निस्कँदा पछाडि धेरै खुला भइराखेको छ। त्यो हाम्रो समूह चरणको नतिजाले पनि पुष्टि गर्छ।’

समूह चरणमा अविश्वसनीय प्रदर्शन गरेको क्रोएसियाका प्रशिक्षक एन्टे कासिकले निकोला कालिनिक र अन्य केही खेलाडी चोटमुक्त भएर भएर फर्किएपछि थुप्रै विकल्प पाएका छन्।

मारियो मान्जुभिक र इभान पेरिसिकको उपस्थितिमा कालिनिकले खेल्ने सम्भावना कम हुन्छ।

‘हामीले यसअघि पोर्चुगलभन्दा सहज टोली पाएका थियौं। तर, समूह चरणमा जुन प्रदर्शन गरेका थियौं, त्यसलाई दोहोर्‍याउन सके हामी प्रतियोगितामा अघि बढ्नेछौं,’ कालिनिकले भने, ‘हामी यहाँका उत्कृष्ट टोलीमध्ये एक हौं। यदि हाम्रो मिडफिल्डले लय समात्यो भने हामी जित्न सक्छौं। यो पुस्तालाई जीवनकै स्मरणीय बनाउने मौका छ र हामी त्यसको प्रयासमा छौं।’

प्रकाशित: ११ असार २०७३ ०३:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App