१५ चैत्र २०८० बिहीबार
खेल

राेनाल्डाेले देखाए सुपरस्टारकाे क्षमता

युरोपियन च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलअघि सबैभन्दा बढी दबाबमा सम्भवत पोर्चुगलका क्रिस्टियानो रोनाल्डो थिए । विश्व फुटबलका ठूला स्टारमध्येका एक रोनाल्डोले राम्रो खेल्दा जति तारिफ हुन्छ, त्यो भन्दा बढी आलोचना उनले खराब खेल्दा हुने गर्छ । त्यो स्वाभाविक पनि हो । गल्तीले धेरै प्रश्न जन्माउँछ ।

आइसल्यान्डसँगको बराबरीपछि रोनाल्डोले आफ्नो बचाउका क्रममा विपक्षीको खुबै आलोचना गरे । तर, त्यसले घाटा आइसल्यान्ड होइन, उल्टो रोनाल्डोलाई नै भयो । अर्को खेलमा अस्ट्रियासँग गोलरहित बराबरी खेल्दा पनि पोर्चुगलको भन्दा रोनाल्डोकै आलोचना बढी भयो । अझ त्यो खेलमा उनले पेनाल्टी चुकाएपछि उनका विरोधीले आलोचना गर्ने थप विषय पाए । युरोका लागि पूर्ण रूपमा फिट हुनेमा शंकाबीच अन्तिम अभ्यास खेलमा रोनाल्डोले गोल गरेपछि उनीबाट धेरै अपेक्षा गरिएको थियो । समूहको शीर्ष बन्दै अघि बढ्नेमा धेरै आशा थियो । तर, एकपछि अर्को खेलको खराब प्रदर्शनका कारण रोनाल्डो र पोर्चुगल टोलीको कटु आलोचना भयो । त्यसमाथि टोली अन्तिम खेलसम्म आइपुग्दा नकआउट चरण जानेमा गम्भीर शंका उत्पन्न भयो । ती सबै पृष्ठभूमिले रोनाल्डो र उनको पोर्चुगल स्वाभाविक दबाबमा थियो । त्यस्तो दबाबबीच अनुकूल नतिजा निकालेर अघि बढ्ने काम चुनौतीपूर्ण थियो ।

त्यसमाथि बुधबार खेलमा हंगेरीले अग्रता लिएपछि पोर्चुगलमाथिको दबाब झन झन् बढ्दै गयो । तर, त्यही खेलमार्फत पोर्चुगल टोली र विशेषगरी रोनाल्डोले आफूलाई प्रमाणित गरे । पछि परेको खेल उल्टाएर पोर्चुगलले बराबरी नतिजा निकाल्यो । नकआउट चरणका लागि त्यही नतिजा पर्याप्त भयो । अघिल्ला दुई खेलमा गोल गर्न नसक्दा रोनाल्डो जारी युरोमा गोल नगरी फर्कने हुन् कि भन्ने थियो । हंगेरीले खेलमा तीनपटक सम्म अग्रता लियो तर रोनाल्डोको टोलीले हार मानेन । पछिल्ला दुईटा बराबरी रोनाल्डोकै गोलमा सम्भव भयो । ती दुई गोलले पोर्चुगललाई नकआउट चरण पुर्याउँदा रोनाल्डोले पनि त्यत्तिकै राहत पाए । आफू ठूलो खेलाडी यसै बनेको होइन भन्ने उनले प्रमाणित गरेका छन् । नानीले गरेको पहिलो र रोनाल्डोले गरेको पछिल्ला दुवै गोल स्तरीय थिए । पहिले नै छनोट भइसके पनि हंगेरीले पोर्चुगललाई हराउने लक्ष्यसाथ खेल्यो । त्यो खेलको राम्रो पक्ष भनेको प्रत्येकपल्ट दुवै टोलीले फाइट ग¥यो । जारी च्याम्पियनसिपमा सबैभन्दा बढी गोल भएको खेल हुनुले पनि दर्शकलाई भरपूर रोमाञ्चक बनायो । जारी प्रतियोगिताको प्रतिस्पर्धात्मक खेलमध्ये एक हो । पोर्चुगललाई हराएर समूह विजेता बन्ने हंगेरीको लक्ष्य प्रस्ट थियो । पोर्चुगल जित्नै नसक्दा पनि नहार्ने लक्ष्य लिएर उत्रेको थियो । पोर्चुगलले अन्तिम समयसम्म फाइट गर्दा लक्ष्यमा पुग्न सफल भयो । तर, खेलको अन्तिममा दुवै टोलीले आक्रमणका खासै जोड दिएनन् । सम्भवतः दुवैले अघिल्लो चरणको यात्रा पक्का भइसकेकाले धेरै जोखिम उठाउन चाहेनन् । रोनाल्डोले आफूलाई तेस्रो खेलमा आएर प्रमाणित गरेका छन् । उनले अत्यावश्यक खेलमा राम्रो खेले । ठूलो खेलाडीको महŒव उनले दर्शाएका छन् । त्यो प्रदर्शनले आलोचकको मुख बन्द भएको छ भने सुपरस्टारको प्रमाण पेस गरे । उनले गोल गरेर आफूमाथिको दबाब कम गरेका छन् । रोनाल्डोजस्ता खेलाडीले पेनाल्टी मिस गर्दा उनी आफूमात्र होइन टोलीलाई नै संकटमा परेको थियो । तर, अन्तिम क्षणमा पोर्चुगल लक्ष्यमा सफल हुँदा अब अगाडि नयाँ ढंगले जाने सम्भावना बढेको छ । नकआउट चरणमा पोर्चुगलको मनोबल यो भन्दा फरक हुनसक्छ ।

लिग र नकआउट चरणको खेल परिस्थिति बेग्लै हुन्छ । लिगमा अर्को मौका आउन सक्छ तर नकआउटमा त्यो सुविधा हुन्न । पोर्चुगलले युरोपका ठूला टोलीहरूभन्दा अर्को पुलमा परेकाले पनि टोलीको अघि जाने बढी सम्भावना छ । त्यसमा फेरि रोनाल्डोकै भूमिका महत्वपूर्ण हुनसक्छ ।

रोनाल्डोले व्यावसायिक फुटबलमा बारम्बार आफूलाई सफल प्रमाणित गरेका छन् । यो च्याम्पियनसिपमा पनि प्रमाणित गर्न सफल हुँदै उपाधि जित्न सके भने उनी महान खेलाडीको सूचीमा पर्नेछन् । यो उसका लागि राष्ट्रिय टोलीमा प्रमाणित गर्ने सम्भावत अन्तिम मौका हुनसक्छ ।

रोनाल्डो स्तरीय खेलाडी हुन त्यसमा कुनै शंका छैन । तर, मैदानभित्रको उनको व्यवहारले भने कतिपय अवस्थामा टोली नै दबाबमा परिरहेको हुन्छ । हरेक खेलाडीको विशेषता फरक हुन्छ र क्षमतामा पनि एकनास हुन्न । रोनाल्डो खेलका क्रम हुने गल्तीमा साथीहरूसँग बढी रिसाउने गरेको देखिन्छ । त्यसले टोलीलाई नै घाटा पु¥याउँछ । टोलीको तालमेलमै त्यस्ता घटनाले असर पुर्याउन सक्छ । हरेक खेलाडीको क्षमताको सीमा हुन्छ तर रोनाल्डोले सबैसँग आफ्नै स्तरको खेल अपेक्षा गर्न मिल्दैन । उनी शतप्रतिशत भन्दा बढी खेलमा प्रतिबद्ध देखिन्छन् । तर अर्का खेलाडीले चाहेर पनि त्यो गर्न नसक्ने पनि हुनसक्छ । अर्जेन्टिनाका लियोनल मेसी र उनमा त्यही फरक देखिन्छ । जस्तो परिस्थितिमा पनि मेसी नरम देखिन्छन् भने रोनाल्डो अलि बढी आक्रामक हुन्छन् । रोनाल्डोको रिसले उनकै व्यक्तित्व बिग्रन सक्छ । उनको व्यहारले टोलीका अन्य खेलाडीमा दबाब हुन्छ । दबाबमा बढी गल्ती हुन्छ । गल्तीले विपक्षीलाई फाइदा पुग्छ । सिनियर खेलाडी र त्यसमाथि पनि स्टारले अरुलाई बढीभन्दा बढी सहयोग गरेर खेल्नुपर्छ । अनि मात्र टोलीले अपेक्षाअनुसार नतिजा निकाल्न सक्छ ।

पोर्चुगललाई १–१ को बराबरीमा रोक्दै पहिलो युरोपियन च्याम्पियनसिपलाई स्मरणीय बनाएको आइसल्यान्डले समूह चरण सकिँदा यात्रा सफल पारिसकेको छ । अपराजित रहँदै टोली नकआउट चरण पुग्न सफल भयो । पहिलो खेलको सफल सुरुआतको प्रभाव बाँकी दुई खेलमा पनि परेको प्रस्ट हुन्छ । टोलीले सामूहिक भावनाबाट सफल नतिजा निकाल्न सक्यो । युरोपियन फुटबलको इतिहासमा आइसल्यान्डले आफूलाई बारम्बार स्मरण गर्नुपर्ने प्रदर्शन जारी युरोमा गरेको छ ।

 

प्रकाशित: १० असार २०७३ ०३:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App