coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

गर्वसाथ बाहिरिए इब्राेमाेभिच

नाइस–  युरोपियन च्याम्पियनसिपको समूह चरणअन्तर्गत बुधबार राति बेल्जियम र स्विडेनबीचको खेलसँगै एउटा युगको पनि समाप्ति भएको छ। स्विडेनका कीर्तिमानी स्ट्राइकर एवं प्रेरणादायी कप्तान याल्टन इब्राहिमोभिचलाई त्यो खेलपछि अब अन्तर्राष्ट्रिय फुटबलमा देख्न नपाइने भएको छ ।

इब्राहिमोभिचले फ्रान्समा जारी युरोपियन च्याम्पियनसिपपछि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने बताइसकेका थिए । बेल्जियमसँग १–० को नतिजामा पराजित भएपछि स्विडेनको प्रतियोगितामा अगाडि बढ्ने सम्भावना समाप्त भएको थियो । समूह ‘ई’ अन्तर्गत अन्तिम खेलमा भोगेको पराजयसँगै स्विडेन घर फर्किने पक्का भयो । सँगै पेरिस सेन्ट जर्मेन ९पिएसजी० का पूर्व स्ट्राइकर ३४ वर्षे इब्राहिमोभिचको अन्तर्राष्ट्रिय करिअरमा पनि पूर्णविराम लाग्यो । बुधबारको खेल जितेको भए स्विडेनको प्रतियोगिता यात्रासँगै इब्राहिमोभिचको अन्तर्राष्ट्रिय करिअर पनि लम्बिन्थ्यो ।

इब्राहिमोभिचले एउटा सामान्य खेलाडीबाट स्विडेनको कीर्तिमानी गोलकर्ता बनेर बिदा हुनपाउँदा आफू गौरवान्वित भएको बताए । बुधबारको हारले टोली र समर्थकका लागि दुःखी भए पनि आफ्नो करिअरप्रति भने कुनै गुनासो नरहेको उनको भनाइ थियो । तर, विश्व फुटबलकै सबैभन्दा सर्वोत्कृष्टमध्येका एक स्ट्राइकरले अन्तर्राष्ट्रिय फुटबलबाट यस्तो बिदाइ पक्कै पनि चाहेका थिएनन् ।

समग्र करिअरको सुखद स्मरणसाथ बिदा भएका इब्राहिमोभिचले भने, ‘पक्कै पनि आजको नतिजा हामी कसैले पनि चाहेको होइन । हामी जित्न चाहन्थ्यौं । प्रतियोगितामा अगाडि बढ्न चाहन्थ्यौं तर यो नतिजाले हाम्रो बाटोमा तगारो हाल्यो । तैपनि म यो खेलबाट मात्र नभई पूरा अन्तर्राष्ट्रिय करिअरबाट बिदा हुन लागेको छु । मसँग मेरो लामो करिअरका थुप्रै रोमाञ्चक स्मरण हुनेछन् । समग्रमा म सन्तुष्ट छु ।’
स्विडेनका लागि लामो समय खेल्न पाउनु नै आफ्ना लागि सबैभन्दा ठूलो उपलब्धि भएको उनले बताए । ‘हामीले युरोपियन च्याम्पियनसिपमा खेल्ने मौका पायौं । स्विडेनलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिनिधित्व गर्न सक्यौं,’ उनले भने, ‘राष्ट्रिय टोलीका लागि यो मेरो अन्तिम खेल थियो । यही टिमबाट मैले थुप्रै रोमाञ्चक स्मरणहरू साँचेको छु । म राष्ट्रिय टिममा आउँदा एउटा सानो मानिस थिएँ । अहिले जाने बेला मैले यो देशलाई मेरो देश बनाउन सकेको छु ।’

बोस्नियाली बाबु र क्रोएसियाली आमाबाट जन्मेका इब्राहिमोभिचलाई सुरुआती दिनमा धेरैले स्विडिस होइन भनेर पक्षपाती व्यवहार गर्नबीच हुर्केका थिए । विदेशी दम्पतिबाट रोसेनगार्डको माल्मोमा जन्मिएर त्यही हुर्किँदा इब्राहिमोभिचको बाल्यकाल निकै पीडादायी थियो । स्विडिस आदिवासी नहुनुको पीडा भोगेका इब्राहिमोभिचले देशकै सबैभन्दा बढी गोल गर्ने खेलाडीको कीर्तिमानसाथ बिदा हुनु व्यक्तिगत रूपमा आफूलाई सबैभन्दा ठूलो उपलब्धि भएको उनले बताए ।

स्विडिस राष्ट्रिय टोलीका लागि कुल १ सय १६ खेलमा सर्वाधिक ६२ गोल गरेका इब्राहिमोभिचका लागि अन्तिम खेल भने स्मरणयोग्य रहेन । बुधबार बेल्जियमविरुद्धको खेलमा उनले एउटै सट विपक्षी पोस्टमा प्रहार गर्न सकेनन् ।

 

प्रकाशित: १० असार २०७३ ०३:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App