८ वैशाख २०८१ शनिबार
खेल

रणनीतिमा क्रोयसियाको सफलता

स्पेन सुरुको दुई खेल जितेर अन्तिम १६ मा पुगिसकेको थियो। अघि बढ्न क्रोएसियालाई भने कम्तीमा बराबरी गर्नुपर्ने थियो। केही मिनेटमै गोल गरेपछि स्पेन खेलमा हाबी पनि भयो। त्यसपछि टोलीले खेल अलि हल्का रूपमा लियो। छनोट हुनलाई खेल्नु र छनोट भएर खेल्नुको अन्तर स्पेनी प्रदर्शनमा पनि देखियो। छनोट भइसकेकाले स्पेनमाथि दबाब कम थियो। जित्नै नसक्दा पनि नहार्दा मात्र पनि टोलीलाई खासै फरक पर्ने थिएन। बराबरीले पनि टोली समूह विजेता बन्थ्यो। तर, सबै चिज स्पेनले सोचेजस्तो भएन। समय बित्दै जाँदा खेल विस्तारै स्पेनबाट क्रोएसियाको पक्षमा गयो।

खेलाडीको 'बडी ल्याङ्वेज' मा पनि जित्नैपर्छ भन्ने भोक स्पेनका खेलाडीमा देखिएन। अन्तिमसम्म पनि आफ्नो शैलीअनुरुपको खेल खेल्ने भनेर चिनिने स्पेनको प्रदर्शन क्रोएसियाविरुद्ध त्यस्तो देखिएन। जुन आत्मविश्वासमा लिएर स्पेन खेल्थ्यो, त्यस्तो भएन। बाहिरिने जोखिम नभएकाले पनि उनीहरूको खेल अघिल्ला दुई खेलको तुलनामा अलि कमजोर थियो। यदि क्रोएसियालाई जत्तिकै स्पेनलाई पनि त्यो खेल छनोटका लागि पनि अर्थपूर्ण हुन्थ्यो भने टोलीको टेप्रामेन्ट, एग्रेसन पक्कै पनि अर्को हुन्थ्यो। कमजोर प्रदर्शन गर्ने लक्ष्य त कुनै टोलीको हुन्न। तर, बिना योजना योजना खेलमा अग्रता लिएपछि स्वतः खेलाडीको बडी ल्याङ्वेज गोलअन्तर बढाउने, उच्च प्रदर्शन गरेर जित्ने भन्ने खालको थिएन, जुन अघिल्ला दुई खेलमा थियो।

सुरुमै गोल गरे पनि त्यही प्रदर्शनलाई स्पेनले निरन्तता दिन सकेन। रक्षापंक्तिको प्रदर्शन पनि अघिल्ला खेलको तुलनामा कमजोर थियो। त्यसको फाइदा क्रोएसियाली टोलीले पहिलो हाफमै बराबरी गरेर लिइसकेको थियो।

सर्जियो रामोस जस्ता विश्वस्तरीय खेलाडीले पेनाल्टीमा गोल गर्न नसकेपछि त्यसको असर स्पेनको प्रदर्शनमा स्वतः पर्‍यो। त्यो गोल हुन्थ्यो भने खेलको कथा बेग्लै हुनसक्थ्यो। तर, रामोसले गोल गर्न नसक्दा त्यसको फाइदा क्रोएसियालाई भयो। स्पेनको गल्तीको फाइदा क्रोएसियाले उठायो। तर, खेल सकिन तीन मिनेट बाँकीमा स्पेनले अनेपक्षित गोल गरेपछि हार पनि अनेपक्षित नै हुनपुग्यो। सन् २०१२ को समूह चरणमा इटालीसँग १–१ को बराबरीपछि स्पेनले युरोपियन च्याम्पियनसिपमा गोलको सामना गर्‍यो, अझ त्यसमाथि पनि टोलीले हार नै बेहोर्‍यो। क्रोएसियाले काउन्टर एट्याकमा गोल गरेपछि बराबरी गोल गर्ने समय स्पेनले स्वाभाविक रूपमा नपाउने भयो।

हारका बाबजुद पनि जारी युरोपियन च्याम्पियनसिप अघि गोल गर्न नसक्ने आलोचनाबाट स्पेन मुक्त भएको छ। समूह चरणका तीन खेलमा टोलीले गोल गरेको छ। राम्रो फुटबल खेल्ने तर गोल गर्न नसक्ने भनेर स्पेनको चर्को आलोचना भएको धेरै भएको छैन। हार्दा पनि टोलीले गोल गर्ने बानीलाई निरन्तरता दिएको छ। अल्भारो मोराटाको गोलले टोलीको मनोबल पक्कै पनि उच्च भएको छ। कम्तीमा नहार्ने स्पेनको योजना अन्तिम समयमा पुगेर तुहिएको हो।

स्पेनभन्दा क्रोएसिया दाबेदार थिएन। उनीहरूका लागि स्पेनसँगको खेल महŒवपूर्ण थियो। काउन्टर एट्याकमा खेल्ने रणनीतिमा उनीहरू सफल भए। दोस्रो गोल त्यो मुभमा होला भन्ने स्पेनका खेलाडी अनुमानै गरेनन्। कल्पना बाहिरको गोल गर्दा स्पेनले खेलमा फर्कने समय पनि पाएन। छनोट हुनेमा शंका भएको टोलीले क्रोएसियाले स्पेनलाई हराएर निकै ठूलो मनोवैज्ञानिक जित बटुलेको छ। स्पेनलाई हराउनु भएको ठूलो उपलब्धि हो। फुटबलको महारथीलाई हराउनु भनेको अन्य टोलीसँग खेल्दाको मनोवैज्ञानिक प्रभाव बेग्लै हुन्छ। विश्व फुटबलमा जर्मनी, फ्रान्स, स्पेन, इटाली जस्ता टोलीलाई हराउनको ठूलो अर्थ रहन्छ। मनोवैज्ञानिक फाइदासहित क्रोएसिया अघि बढ्न सफल भएको छ। स्पेनले धेरै नगुमाए पनि त्यो खेलमा क्रोएसियाले भने धेरै पाएको छ। क्रोएसिया आफै पनि त्यति कमजोर होइन। क्रोएसिया डिफेन्डिङ जोनमा राम्रो छ। आवश्यकताअनुसार खेल्न सक्ने टोली हो। आफ्नो जोनलाई सुरक्षित गरेर काउन्टर एट्याकमा स्पेनविरुद्ध खेल्ने रणनीतिमा टोली सफल भएको छ। कमजोर टोलीले जस्तो गर्नुपर्ने थियो, त्यही गरेर क्रोएसिया नतिजा आफ्नो पक्षमा पार्न सफल भयो।

अर्को खेलमा टर्कीले केही गुमाउनुपर्ने केही थिएन। सिंगल म्याचको हिसाब खेल्यो। बिना दबाब खेल्यो। हारिन्छ भन्ने डर पटक्कै थिएन। खुलेर खेल्दा रिजल्ट पनि आयो। त्यो झिनो सम्भावना पनि देखियो। अघिल्ला दुई खेल हारिसकेकाले जितका साथ च्याम्पियनसिपको अन्त्य गर्न जुनसुकै टोलीको लक्ष्य हुन्छ। त्यसमा टर्की सफल भएको छ, ह्याप्पी इन्डिङ भएको छ। त्यतिमात्र होइन अघि बढ्ने झिनो सम्भावना पनि बनेको छ। टर्की आफू सफलमात्र भएन चेक गणतन्त्रलाई प्रतियोगिताबाटै बाहिर पुर्‍याइदिएको छ। जारी च्याम्पियनसिपमा टर्कीले धेरै राम्रो गर्न सकेन, तर चेक जस्तो तुलनात्मक रूपमा बलियो चेकलाई हराएर मनोवैज्ञानिक जित पनि हासिल गरेको छ।

प्रकाशित: ९ असार २०७३ ०२:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App