७ वैशाख २०८१ शुक्रबार
खेल

आर्मी र झापा फाइनलमा भिड्ने

लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदीलाई स्तब्ध पार्दै नेपाल आर्मी बिहीबार झापा गोल्ड कपको फाइनलमा पुगेको छ । मनाङलाई १–० ले निरास पार्दै आर्मी उपाधि नजिक पुगेको हो । आर्मी उपाधिका लागि शनिबार आयोजक झापासँग भिड्नेछ ।

झापाको मैदानमा मनाङको यस सिजनमा तेस्रो पराजय हो । मनाङले रूपन्देही ११ लाई ४–१ ले हराउँदै र आर्मीले पुलिसलाई टाइब्रेकरमा ४–३ को जित निकाल्दै सेमिफाइनल
पुगेका थिए ।

कप्तान तथा स्ट्राइकर भरत खवासको उपस्थितिबिनै मैदान ओर्लिएको आर्मीले संघर्षपूर्ण खेलमा मनाङलाई पराजित गरेको हो । पुलिससँगको चौथो क्वाटरफाइनलमा चोट लागेको नाटक गरेको भन्दै रेफ्री लव खत्रीले भरतलाई रातो कार्ड दिएका थिए ।

डोमाला रंगशालाका दर्शकको समर्थन दुवै टिमलाई आधा–आधा थियो । रोमाञ्चक खेलमा आर्मीका अमित तामाङको एक मात्र गोल निर्णायक बन्यो । सिसोकोले हात बल रोकेपछि पाएको फ्री–किकलाई अमितले पहिलो हाफको ११ औं मिनेटमा गोल छिराउँदा मनाङका किपर किरण चेम्जोङले पत्तै पाएनन् ।

आर्मीको गोलपछि मनाङले स्वाभाविक दबाब झेल्यो । मनाङले दुइटा राम्रा फ्री–किकको अवसर पनि गुमायो । पहिलो रोजाइका खेलाडीहरू कप्तान अनिल गुरुङ, सुजल श्रेष्ठ, विशाल राईजस्ता खेलाडीले आशातित प्रदर्शन देखाउन सकेनन् । सिसोकोसहित अफ्रिकन खेलाडीहरू मोउसा र अफिजको प्रदर्शन पनि औसत रह्यो ।

हेमन गुरुङ, विराज मजर्हन, कमल श्रेष्ठको प्रदर्शन सन्तोषजनक रह्यो । सिसोकोले दुई राम्रा अवसर गुमाए । अनिल र अफिजले पनि गोल गर्ने राम्रो मौका खेर फाले । आर्मीका नवयुग श्रेष्ठ, विश्व अधिकारी, टंक बस्नेत, विकास तामाङ, जितेन्द्र कार्कीको खेल औसत रह्यो । मनाङको बारम्बारको पोस्ट आक्रमणलाई किपर विकेश कुथुले निस्तेज पारे ।

आर्मीका प्रशिक्षक चुनबहादुर थापाले भरतको अनुपस्थितिका बाबजुद पनि टोलीले उत्कृष्ट प्रदर्शन गरी जित हासिल गरेको बताए । ‘भरत भएका भए बढी स्कोरले जित्ने निश्चित थियो’, चुनबहादुरले दाबी गरे । मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले मौका सदुपयोग नगर्दा पराजित हुनु परेको बताए ।

उनले आर्मीका खेलाडीहरूले टाइम किल गर्न पटक–पटक घाइते भएको नाटक गरेको आरोप लगाए । आर्मीले लज्जाजनक खेल प्रदर्शन गरेको आरोप लगाउँदै लोप्साङले थपे, ‘विभागीय टोलीबाट यस्तो अभिनय खेल प्रदर्शन होला भन्ने सोचेको थिइएन ।

प्रकाशित: ३ जेष्ठ २०७३ ०६:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App