८ वैशाख २०८१ शनिबार
खेल

एसियाको संख्या बढाउन आवाज

निश्चित संख्यामा एसियाले विश्वकप फुटबलमा सहभागिता जनाउँदै आइरहे पनि कतार विश्वकप २०२२ मा तीन राष्ट्रले अन्तिम १६ मा स्थान बनाउँदा एसिया क्षेत्रको सहभागिताको संख्या वृद्धि गर्न आवाज उठ्न थालेको छ।

बलिया टोलीविरुद्ध एसियाली राष्ट्रले गरेको प्रदर्शनलाई धेरै फुटबल विज्ञले प्रशंसा गरिरहँदा सहभागिताको संख्याको बारेमा पनि आवाज उठ्न थालेको हो। विश्वकप फुटबलमा महादेशीय छनोट, प्लेअफ र आयोजकले सहभागिता जनाउँदै आएका छन्। जसमा सीमित संख्या तोकिएको छ। जारी विश्वकपमा एसिया क्षेत्रबाट तीन टोलीले अन्तिम १६ मा स्थान बनाएका छन्। जुन एसियाली राष्ट्रको सफलता हो।

अन्तिम १६ मा जापान, दक्षिण कोरिया र अस्ट्रेलियाले स्थान बनाएका थिए। उनीहरूको यात्रा अन्तिम १६ मा नै सीमित भएको छ। जापान क्रोएसियासँग पेनाल्टी सुटआउटमा स्तब्ध हुँदा दक्षिण कोरिया ब्राजिलसँग र अस्ट्रेलिया अर्जेन्टिनासँग पराजित हुँदै घर फर्किएका छन्।

एसियाली फुटबल महासंघ (एएफपसी) बाट तीन टोलीले पहिलो पटक विश्वकपको अन्तिम १६ मा स्थान बनाउन सफल भएका हुन्। यसअघि एसियाली राष्ट्र दक्षिण कोरियाले सह आयोजक हुँदै सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो। यसभन्दा माथि अन्य एसियाली टोली पुग्न सकेका छैनन्।

 जारी विश्वकपा कोरियाले समूहचरणमा पोर्चुगललाई हराउँदै अन्तिम १६ मा स्थान बनाउँदा एसियाली टोलीको प्रशंसा बढेको हो। यस्तै साउदी अरेबियाले अर्जेन्टिनामाथि सनसनीपूर्ण जित निकाल्दा एसियन राष्ट्रले अर्को चर्चा कमाउन सफल भयो। उता जापानले फुटबल महारथीद्वय स्पेन र जर्मनीमाथि समूह चरणका खेलमा जित निकालेर एसियन टोलीको उत्कृष्टता प्रस्ट्याएका थियो।  

क्रोएसियासँगको खेलअघिको पत्रकार सम्मेलनमा जापानका रक्षक कोउ इताकुराले एसियाली राष्ट्र पनि युरोपका राष्ट्रजत्तिकै खेल्न सक्ने लयमा अगाडि बढेको प्रतिक्रिया दिए। एसियाबाट तीन टोलीले अन्तिम १६ मा स्थान बनाएको विषयमाथि चर्चा गर्दै रक्षक कोउले एसियाली फुटबल युरोपजत्तिकै अगाडि बढिरहेको बताएका हुन्।

‘मेरो विचारमा एसिया पनि युरोपनजिक पुग्ने क्रममा छ,’ जापानी रक्षक कोउले भने, ‘एसियाबाट धेरै फुटबलरले युरोपका व्यावसायिक क्लबमा फुटबल खेल्न थालेका छन्। यसले एसियाको स्तर पनि उकासिएको छ। यसकारण एसिया युरोपनजिक पुग्दै छ।’

जापानका अधिकांश खेलाडी युरोपका लिग खेलिरहेका छन्। हाजिमी मोरियासुको टोलीमा रहेका २६ खेलाडीमध्ये ८ खेलाडीले जर्मन बुन्डेसलिगा खेलिरहेका छन्। जापानको सफलता नै एसियाको सफलता भएको प्रशिक्षक मोरियासुले बताए।

‘जापानले विश्वकप जित्नका लागि ग्रासरुटबाटै खेलाडी उत्पादनमा ध्यान दिन जरुरी छ। जुुन एसियाली क्षेत्रमा निकै खाँचो छ। युरोपमा जस्तो एसियामा खेलको वातावरण छैन। कलिलै उमेरदेखि वातावरणमा ध्यान दिने हो भने जापानजस्तै अन्य देशले पनि सफलता पाउन सक्छन्,’ जापानी प्रशिक्षक मोरियासुले भने, ‘यही लक्ष्य लिएर जापान फुटबल संघ (जेएफए)ले एसियाली राष्ट्रमा प्रशिक्षक उत्पादन गरेर फुटबलको स्तर विकास लागि काम गरिरहेको छ।

हामी विश्व च्याम्पियनको लक्ष्य लिएर अगाडि बढिरहेका छौं। निकट भविष्यमा पूरा हुने हाम्रो अपेक्षा छ। यसले गर्दा समग्र एसियालाई पनि राम्रो हुनेछ।’

यस्तै अस्ट्रेलियाका प्रशिक्षका ग्राहम आर्नोल्डले अस्ट्रेलियाको फुटबल विकासका लागि सरकारी लगानी आवश्यक रहेको औंल्याए। एसियाली राष्ट्र बलियो हुँदै गएको अवस्थामा आगामी संस्करणमा अस्ट्रेलियाको भविष्य कमजोर भएको भन्दै प्रशिक्षक ग्राहम आर्नोल्डले लगानीको विकल्प नभएको बताएका हुन्।

‘एसियाले फुटबलमा धेरै पुँजी खर्चिएर विकासको रणनीति अपनाइरहेको छ। यस्तो अवस्थामा हामीले पनि ध्यान दिन जरुरी छ,’ अस्ट्रेलियन प्रशिक्षक आर्नोल्डले भने, ‘साउदी अरेबिया, जापानको प्रदर्शनबाट हामीले पाठ सिक्नुपर्छ। प्रतिद्वन्द्वी एसियाली परून् भन्दै कामना गर्ने अन्य महादेशीय टोलीका दिन अब टाढिएका छन्। यो एएफसी टिमका लागि शुभ समाचार हो।’

कतार आयोजक एसियाली राष्ट्र भए पनि अपेक्षाअनुसारको प्रदर्शन गर्न असफल रह्यो। चुनौतीपूर्ण अवस्थामा विश्व महाकुम्भ मेलालाई सफल तरिकाले आयोजना गरे पनि प्रतिस्पर्धाको हिसाबमा कमजोरी भोग्न बाध्य बन्यो। कतारले समूह चरणका सबै खेलमा नतिजा सुम्पियर ७ गोल खाँदा एक गोल विपक्षीको पोस्टमा गर्न सक्यो। आयोजक राष्ट्रले भोगेको यो नै अहिलेसम्मको सबैभन्दा खराब इतिहास हो। 

प्रकाशित: २२ मंसिर २०७९ ०३:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App