coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

अन्त्यतिर रोनाल्डो युग

 विश्वस्तरीय स्ट्राइकर क्रिस्टियानो रोनाल्डो एक त्यस्ता चर्चित र लोकप्रिय खेलाडी थिए, जो आफ्ना देश पोर्चुगलको बुधबार स्विट्जरल्यान्डविरुद्ध खेल चलिरहँदा उक्त प्रतिस्पर्धामा आकर्षणका केन्द्रबिन्दु थिएनन्।

त्यस्तो अवस्था यसअघि बिरलै हुने गरेको थियो। रोनाल्डो मैदानकै छेउमा र बिनाचोट रहँदा पनि उनी पोर्चुगलको टोलीमा नरहेको घटना कमै देखिन्छ। बुधबार कतार विश्वकप अन्तर्गत स्विट्जरल्यान्डविरुद्ध अन्तिम १६ को खेल चलिरहँदा पोर्चुगलको टोलीमा रोनाल्डो थिएनन् र उनी मैदानकै छेउमा बसेर आफ्नो टोलीको खेल हेरिरहे। तर, उनी अन्तिम समयमा खेलमा आए, जति बेला पोर्चुगलको जित सुनिश्चितजस्तै थियो। उक्त खेल पोर्चुगलले ६-१ ले जित्दै क्वार्टरफाइनलमा स्थान बनायो।

यसअघि कयौं पटक रोनाल्डो पोर्चुगलको जितका नायक नै हुन्थे। तर, कतार विश्वकपमा पोर्चुगल उनको प्रदर्शनमा निर्भर छैन। यस विश्वकपमा रोनाल्डो पहिलो पटक दोस्रो रोजाइमा परेका हुन्। उनको स्थानमा २१ वर्षे गोन्जालो रामोसले अवसर पाए। जहाँ गोन्जालोले आफूलाई प्रमाणित गर्दै ह्याट्रिक पनि गरे। यससँगै राष्ट्रिय टोलीमा पनि रोनाल्डोको भविष्यलाई लिएर अनेकौं चर्चा सुरु भएको छ। यसअघि व्यावसायिक फुटबलमा पनि उनको भविष्य संकटमा परिसकेको छ। किनकि रोनाल्डो अहिले क्लबविहीन छन्।

इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले लामो समय रोनाल्डोलाई क्लबबाहिर राखेपछि उनी उक्त टोलीबाट बाहिरिएका हुन्। यता, अप्ठ्यारो स्थितिमा रोनाल्डोलाई साथ दिने बताएको पोर्चुगलले पनि उनीमाथि कम विश्वास गर्न थालिसकेको छ। त्यसैले नकआउट चरणको पहिलो खेलमा उनको स्थान गोन्जालोले पाए। खेल सकिएपछि रोनाल्डोले नै उनलाई बधाई दिएका थिए। त्यसपछि उनी पोर्चुगलको समर्थक बसेको स्थानतर्फ गए र उनीहरूलाई सम्बोधन गर्दै ताली बजाए। टोली एक भएर आफ्ना समर्थकलाई सम्बोधन गर्न पुग्दा उनी भने एक्लै टनेलतर्फ लागेका थिए।

पत्रकार सम्मेलनमा रोनाल्डो त्यति प्रफुल्लित देखिएनन् र उनले एउटा मात्र प्रश्नको जबाफ दिए। त्यो प्रश्न थियो, ‘तपाईं खुसी हुनुहुन्छ?’ उनको जबाफ थियो,‘किन खुसी नहुनु? पोर्चुगल जितेको छ।’ प्रशिक्षक फर्नान्डो सान्तोस ३७ वर्षे रोनाल्डोसँग रुष्ट थिए। त्यस कारण पनि उनलाई पहिलो रोजाइमा नराखिएको चर्चा चलेको थियो। तर, सान्तोसले उनलाई अनुशासनको कारबाहीका कारण राखिएको भन्दा पनि रणनीतिक योजना रहेको प्रतिक्रिया दिएका थिए। पोर्चुगल दक्षिण कोरियासँग २–१ ले स्तब्ध हुँदा उनको व्यवहारलाई लिएर प्रशिक्षक सन्तुष्ट थिएनन्।

‘त्यो विषय त्यतिबेला नै सकिएको थियो। अहिलो रणनीतिक योजनाका कारण रोनाल्डोलाई बाहिर राखिएको हो,’ सान्तोसले भने, ‘उनीसँग मेरो राम्रो सम्बन्ध छ। किनकि रोनाल्डो १९ वर्षको हुँदा स्पोर्टिङदेखि उनलाई चिन्छु। खेलाडी र प्रशिक्षकका रूपमा हामीबीच कहिल्यै असमझदारी भएको छैन।’

रोनाल्डोको स्थानमा तीन हप्ता अगाडि मात्र गोन्जालो रामोसले डेब्यु गरेका थिए। रामोसले चौथो टचमा नै गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए। त्यसपछि उनले ५१ मिनेट र ६७औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। रोनाल्डोसँगै युनाइटेडबाट खेलेका ब्रुनो फर्नान्डेजले कोही पनि खेलाडी बेन्च सीमित हुँदा खुसी नहुने प्रतिक्रिया दिए।

आगामी खेलमा आफू नै बेन्चमा रहे पनि निराश हुने फर्नान्डेजले बताए। ‘क्रिस्टियानो फुटबलका मात्र होइनन्। सबै खेलकै चर्चित खेलाडी हुन्। कोही पनि बेन्चमा सीमित हुन चाहदैन र म पनि चाहन्नँ। त्यसैले रोनाल्डो खुसी थिएनन्,’ उनले भने।

विश्वकपअगाडि फर्नान्डेज र रोनाल्डोबीच खराब सम्बन्ध रहेको चर्चा चलेको थियो। तर, फर्नान्डेजले त्यसप्रति अस्वीकार गरे। यस विश्वकप नै रोनाल्डोका लागि अन्तिम चर्चा सुरु भइसकेको छ। जुन पछिल्ला समय उनी टोलीबाहिर रहनुले पनि प्रमाणित गरिसकेको छ। रोनाल्डो फरक पाँच विश्वकपमा गोल गर्ने खेलाडी हुन्।

रोनाल्डोले विश्वकपका २० खेलमा ८ गोल मात्र गरेका छन्। उनी कीर्तिमानी ११८ अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी पनि हुन्। तर, उनै रोनाल्डोले विश्वकपको नकआउट चरणमा भने अहिलेसम्म गोल गर्न सकेका छैनन्। रोनाल्डोकै प्रतिद्वन्द्वीका रूपमा चर्चा गरिँदै आएको लियोनल मेसीले भने यस विश्वकपमा तीन गोल गरेका छन्। मेसीकै प्रेरणामा अर्जेन्टिना क्वार्टरफाइनलमा पुग्दा रोनाल्डो भने टोलीमा स्थान बनाउन संघर्ष गरिरहेका छन्। विश्व कपमा ९ गोल गरेका मेसी र पोर्चुगलका रोनाल्डो दुवै अन्तर्राष्ट्रिय करियरको अन्त्यको संघारमा छन्। 

प्रकाशित: २२ मंसिर २०७९ ०३:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App