coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

बेल्जियमलाई समूह चरणमै खुम्चने भय

बेल्जियमले विश्वकपअन्तर्गत नकआउट चरणको यात्रामा लय गुमाए पनि इडेन हाजार्डले आफ्नो टोली क्रोएसियाविरुद्ध जित निकाल्न सफल हुने विश्वास व्यक्त गरेका छन्।

समूह ‘एफ’ मा रहेको बेल्जियमको प्रदर्शन निराशाजनक रहेको छ। पहिलो खेलमा क्यानडामाथि १–० को संघर्षपूर्ण जित निकालेको बेल्जियम दोस्रो खेलमा मोरक्कोसँग २–० ले स्तब्ध हुन पुग्यो। त्यो हारसँगै विश्वकपको समूह चरणमा लगातार १३ खेलमा अपराजित बेल्जियमको यात्रामा पनि पूर्णविराम लाग्यो। साथै उक्त हारसँगै एक खेलअगावै नकआउट चरणमा पुग्ने बेल्जियमको लक्ष्यमा धक्का मात्र लागेन विश्वकपको यात्रा समूहचरणमा नै खुम्चिने हो कि भन्ने भय पनि बढेको छ।

बेल्जियमले समूहको अन्तिम खेल बिहीबार क्रोएसियाविरुद्ध खेल्दै छ। जितले बेल्जियमलाई नकआउट चरणको यात्रा तय गराउनेछ भने हारले उसको यात्रा समूहचरणमा नै खुम्चिन्छ। यस समूहमा समान दुई खेलबाट क्रोएसिया र मोरक्कोको चार अंक तथा बेल्जियमको तीन अंक छ भने क्यानडाले अंक जोड्न सकेको छैन। यो समूहमा क्यानडाबाहेक तीनै टोलीको नकआउट चरणको सम्भावना बाँकी छ।

दोस्रो खेलमा क्रोएसियाले क्यानडामाथि फराकिलो जित निकाल्दा अघिल्लो चरणको यात्राका लागि एक अंक पनि पर्याप्त हुनेछ। ‘हामीले धेरै राम्रो खेल्नुपर्नेछ। पछिल्लो खेलका प्रदर्शनलाई सुधार गर्छौं,’ बेल्जियमका कप्तान इडेन हाजार्डले भने, ‘हामी यो समूहमा भएको क्षमतावान् टोली हो भन्ने प्रमाणित गर्न चाहन्छौं ।’ बेल्जियमको फाइनल थर्डमा समस्या देखिएको छ र किनकि उसले १९ प्रहारमा एक गोल मात्र गरेको छ।

यता क्यानडाविरुद्ध चार गोल गरेको क्रोएसियामा भने कुनै समस्या देखिएको छैन। सन् २०१८ को फाइनलिस्ट क्रोएसियाले पछिल्ला समूह चरणका पाँच खेलमध्ये चारमा जित हात पारेको छ। त्यसैले लयमा रहेको क्रोएसिया बेल्जियमको नकआउट चरणको यात्राका लागि चुनौती बन्न सक्छ। यसै समूहको अर्को खेलमा अफ्रिकन राष्ट्र मोरक्को नकआउट चरणको यात्राका लागि जित्नैपर्ने खेलमा क्यानडाविरुद्ध भिड्दै छ।

क्रोएसियालाई बराबरी र बेल्जियमलाई स्तब्ध बनाउँदै हेभिवेट प्रतिद्वन्द्वीलाई निरास पारेको मोरक्को क्यानडामाथि पनि सहजै हाबी हुन सक्छ। तथापि, हारका बावजुद क्यानडाको प्रदर्शन कमजोर छैन। उल्टै लोभलाग्दो देखिएको छ। क्यानडासँगको पछिल्ला चार भेटमा मोरक्कोले शतप्रतिशत जित हात पारेको छ। तर, सन् १९८६ पछि विश्वकपको नकआउट चरणमा पुग्ने लक्ष्य राखेको मोरक्कोलाई अल तुमाम रंगशालामा हराउँदै क्यानडा कतार यात्राको सुखद अन्त्य गर्ने लक्ष्यमा हुनेछ।

एसियन जायन्ट जापान सम्मिलित समूह ‘ई’ बाट बिहीबारको अन्तिम चरणका खेलपछि मात्र नकआउट चरणमा पुग्ने टोलीको टुङ्गो लाग्दै छ। यस समूहमा जर्मनी र स्पेनजस्ता बलिया टोली छन्।

पहिलो खेलमा विश्वविजेता जर्मनीलाई स्तब्ध बनाएको जापानले दोस्रो खेलमा कोस्टारिकासँग हार बेहोरेपछि यस समूहबाट नकआउट चरणमा पुग्ने टोलीको टुङ्गो लाग्न अन्तिम चरणका खेल कुर्नुपरेको हो। बिहीबार राति जापान र स्पेन तथा जर्मनी र कोस्टारिका भिड्दै छन्। शीर्ष स्थानको स्पेनको चार अंक छ भने जापान र कोस्टारिकाको समान तीन अंक छ। दोस्रो चरणमा पुग्न स्पेनलाई एक अंक पनि पर्याप्त हुन्छ। खलिफा अन्तर्राष्ट्रिय स्टेडियममा स्पेनलाई हराउँदा मात्र जापान दोस्रो चरणमा पुग्नेछ।

त्यो नतिजाले चार पटकको विश्वविजेता जर्मनी अन्तिम खेलमा जितका बावजुद लगातार दोस्रो पटक विश्वकपको समूहचरणबाट बाहिरिनेछ। तर, जापानको बराबरी हुँदा सन् २०१४ को विश्व च्याम्पियन जर्मनीले जित निकालेको समीकरणमा गोलअन्तर निर्णायक बन्नेछ। लयमा रहेको स्पेनलाई हराउन जापानले ठूलो संघर्ष गर्नुपर्छ। यता, कोस्टारिकाले पनि अल बायत रंगशालामा जर्मनीलाई हराउन स्वाभाविक प्रदर्शनमा सुधार गर्नुपर्नेछ। जर्मनीले कोस्टारिकासँग एक मात्र खेल खेलेको छ, जुन, २००६ को विश्वकपमा हो।

त्यो खेल जर्मनीले ४–२ ले आफ्नो पक्षमा पारेको थियो। तर, सन् २०१४ मा क्वार्टरफाइनलसम्म यात्रा तय गरेको कोस्टारिका जर्मनीविरुद्ध जित निकाल्दै कतार विश्वकपमा सनसनी मच्चाउन चाहन्छ। किनकि स्पेनसँग ७–० को लज्जास्पद हारका बावजुद कोस्टारिकाले दोस्रो खेलमा जापानलाई हराउँदै उत्कृष्ट पुनरागमन गरेको हो।

प्रकाशित: १५ मंसिर २०७९ ०२:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App