५ वैशाख २०८१ बुधबार
खेल

डच टोलीलाई रोक्ने कतारको लक्ष्य

विश्वकपमा डेब्यु गरेको कतार घरेलु भूमिमा पाएको यो अवसरलाई दुखद तरिकाबाट गुमाउन चाहदैनथ्यो। कतारले आयोजक राष्ट्रको रूपमा यो विश्वकप खेल्न पाएको हो। १२ वर्षअघि देखि तयारी थालेको कतारको विश्वकपमा ‘अन्डरडग’ भएर खुम्चिने खालको योजना पक्कै थिएन।

तर, कतार समूह ‘ए’ को पहिलो दुई खेलमा लगातार इक्वेडर र सेनेगलसँग स्तब्ध हुन पुग्यो र आफ्नो घरेलु मैदानमा जारी विश्वकपको नकआउट चरणको सम्भावना बाहिरिने पहिलो राष्ट्र पनि बन्यो। तथापि, कतार घरेलु मैदानमा सुखद अन्त्य गर्न चाहन्छ। कतार अन्तिम खेलमा नेदरल्यान्ड्ससँग खेल्दै छ, त्यसमा जित निकाल्दै आयोजक घरेलु समर्थकलाई आफ्नो विश्वकप इतिहासको पहिलो जित उपहार दिने लक्ष्यमा छ। तब मात्र आयोजक राष्ट्र निकै कमजोर थिएन भन्ने सन्देश दिन कतार सफल हुनेछ।  

साथै प्रशिक्षक फेलिक्स सान्चेज पनि विश्वकपको समूहचरणका तीनै खेल हार्ने पहिलो आयोजक राष्ट्रको दाग कतारमाथि लगाउन चाहदैनन्। पहिलो खेलमा सेनेगलमाथि जित निकालेको नेदरल्यान्ड्स दोस्रो खेलमा इक्वेडरसँग बराबरी खेल्दै समूह ‘ए’ को शीर्ष स्थानमा छ। समान खेलमा नेदरल्यान्ड्स र इक्वेडरको समान चार र सेनेगलको तीन अंक छ। यी तीनै राष्ट्रको नकआउट चरणको सम्भावना बाँकी छ।  

मंगलबार समूह ‘ए’ का अन्तिम प्रतिस्पर्धामा नेदरल्यान्ड्स र कतार तथा सेनेगल र इक्वेडर राती ८ः४५ मा भिड्दैछन्। ती प्रतिस्पर्धाले समूहविजेता र उपविजेता टुङ्गो लाग्नेछ। कतारले लुइस भान गालको नेदरल्यान्ड्सलाई हराए सन् १९७८ पछि डच टोलीले समूहको अन्तिम खेल हार्नेछ। कतार बलियो टोली नरहेकाले अल बायत स्टेडियममा नेदरल्यान्ड्स विजयी हुने भान गालको विश्वास छ। कतार प्रशिक्षक सान्चेजले आफ्नो टोलीले पनि अवसर नगुमाउने प्रतिक्रिया दिए। पछिल्ला ६ विश्वकपमध्ये आयोजक राष्ट्रले समूहका अन्तिम पाँच खेल जितेको इतिहास छ। कतार पनि त्यो इतिहासमा अर्को जित दर्ता गर्ने लक्ष्यमा हुनेछ। डच टोलीसँग स्तब्ध हुँदै विश्वकप सुरुआत गरेको सेनेगलले दोस्रो खेलमा जित निकाल्दै नकआउट चरणमा प्रवेश सम्भावना जीवन्त राखेको थियो। मंगलबार जित्नैपर्ने खेलमा सेनेगल दक्षिण अमेरिकी प्रतिद्वन्द्वी इक्वेडरमाथि सफलता निकाल्ने लक्ष्यमा छ। इक्वेडरलाई खलिफा अन्तर्राष्ट्रिय रंगशालामा बराबरीको नतिजा पनि अर्को चरण प्रवेशका लागि पर्याप्त छ।  

सेनेगलका प्रशिक्षक इलियु सिसे जित निकाल्दै सन् २००२ पछि आफ्नो टोलीलाई नकआउट चरणको यात्रा तय गराउने लक्ष्यमा छन्। विश्वकपमा पहिलोपटक दक्षिण अमेरिकन टोलीलाई हराए सेनेगल नकआउट चरणमा पुग्नेछ। स्टार खेलाडी साडियो मानेविनाको सेनेगलले सुरुमा गोल गर्न संघर्ष गरेको थियो, जुन कतारसँग केही हदसम्म सुधार देखियो। तर, अफ्रिकन च्याम्पियन सेनेगललाई कतारको जस्तो सहज रक्षापंक्ति इक्वेडरविरुद्ध हुनेछैन। साथै सेनेगलले इक्वेडरका अनुभवी फरवार्ड इनर भ्यालेन्सियाको आक्रमण पनि सामना गर्नुपर्नेछ। जारी विश्वकपका दुई खेलमा भ्यालेन्सियाले तीन गोल गरिसकेका छन्।  

चारै टोलीको नकआउट चरणको लक्ष्य  

मंगलबार राती समूह ‘बी’ का अन्तिम खेलमा इरान र अमेरिका तथा वेल्स र इङ्ल्यान्ड प्रतिस्पर्धा गर्दैछन्। समान दुई खेलबाट इङ्ल्यान्डको चार अंक, इरानको तीन, अमेरिकाको दुई र वेल्सको एक अंक छ। अन्तिम खेल बाँकी छँदा यी चारै टोलीको नकआउट चरणको सम्भावना छ। इङ्ल्यान्डलाई छिमेकी राष्ट्र वेल्ससँग बराबरीको नतिजा पनि दोस्रो चरण यात्रा लागि पर्याप्त हुनेछ। इरानले बराबरी गरेमा दोस्रो चरणमा पुग्न इङ्ल्यान्डले वेल्समाथि जित निकाल्ने कामना गर्नुपर्नेछ। इरानमाथि ६–२ को जित निकालेको इङ्ल्यान्ड दोस्रो खेलमा अमेरिकासँग गोलरहित बराबरी रोकिएपछि एक खेल अगावै नकआउट चरणमा पुग्ने सम्भावना गुमेको थियो। तथापि, मंगलबार वेल्सविरुद्ध जित निकाल्दै इङ्ल्यान्ड समूहविजेता बन्ने लक्ष्यमा छ। इङ्ल्यान्डलाई सन् २०१८ को विश्वकपमा सेमिफाइनल र सन् २०२० को युरोकपमा फाइनल पुर्‍याएका प्रशिक्षक गारेथ साउथगेटको खेल शैलीलाई लिएर आलोचना पनि भइरहेको छ। वेल्स पनि अहमेद बिन अली स्टेडियममा  

इङ्ल्यान्डमाथि जित रच्दै दोस्रो चरणको सम्भावना पुर्नजीवित गर्ने लक्ष्यमा हुनेछ। पहिलो खेलमा अमेरिकासँग बराबरी खेलेको वेल्स इरानसँग २–० ले स्तब्ध भएपछि दोस्रो चरणको यात्रा कठिन भएको हो। अन्तिम खेलमा जितले मात्र वेल्स दोस्रो चरणमा पुग्ने छैन। अर्को टोलीको नतिजा पनि वेल्स भरपर्नु पर्नेछ।

प्रकाशित: १३ मंसिर २०७९ ०३:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App