८ वैशाख २०८१ शनिबार
खेल

खराब लयमा रहेको जर्मनीको चुनौती स्पेन

कोस्टारिकाका प्रशिक्षक लुइस फर्नान्डो स्वारेजलाई एसियन राष्ट्र जापानासँग आइतबार भेट हुँदा आफ्नो टोलीले आशा अनुरूपको प्रदर्शन गर्ने विश्वास छ।

गत बुधबार पहिलो खेलमा स्पेनसँग ७-० को हार बेहोरेपछि कोस्टारिकाले आफ्नो विश्वकप इतिहासकै बिर्सनलायक नतिजा सामना गर्‍यो। पछिल्ला आठ खेलमा गरेर खाएको गोल कोस्टारिकाले स्पेनसँगको एउटै खेलमा नै सामना गर्नुपर्‍यो।

सन् १९९० को विश्वकपमा क्वार्टरफाइनल पुगेको कोस्टारिकाले स्पेनविरुद्ध एउटा पनि गोल अवसर सिर्जना गर्न सकेन। यता जर्मनीमाथि २–१ को अप्रत्याशित नतिजा निकाल्दै जापानले भने बलिया टोली रहेको समूह ‘ए’ बाट नकआउट चरणमा पुग्ने लक्ष्य राखेको छ।

जापान र कोस्टारिकासँगै यो समूहमा स्पेन र जर्मनी पनि छन्। यस समूहमा आइतबार दुई खेल हुँदा जापान र कोस्टारिका तथा जर्मनी र स्पेन प्रतिस्पर्धा गर्दैछन्। अहिलेसम्म पाँच भेटमा कोस्टारिकाले एक पटक पनि जापानलाई हराउन सकेको छैन र चार खेल एसियन राष्ट्रले जितेको छ। त्यसमाथि पनि जर्मनीलाई हराएको जापानमा थप आत्मविश्वास बढेकाले लगातार विश्वकपका दोस्रो खेल जित्न चाहन्छ। जुन, सफलता जापानले आफ्नै देशमा सम्पन्न सन् २००२ को विश्वकपमा रसिया र ट्युनिसियालाई हराउँदै प्राप्त गरेको थियो। त्यसयता जापानले विश्वकपमा कहिल्यै दुई खेल जितेको छैन।

आइतबार जर्मनीले स्पेनसँग हार बेहोर्दा जापानले जित निकालेमा अन्तिम १६ को यात्रा तय गर्नेछ। त्यसैले एसियन जायन्ट यो मौका गुमाउन चाहदैन। यता, पहिलो खेलमा अप्रत्याशित हार सामना गरेको जर्मनी पनि दोस्रो खेलमा स्पेनलाई हराउँदै नकआउट चरणको सम्भावना जीवन्त राख्ने लक्ष्यमा हुनेछ। फेरि हार सामना गर्दा जर्मनी लगातार दोस्रो पटक विश्वकपको समूह चरणबाटै बाहिरिनेछ। क्षमतावान् युवा खेलाडीको स्पेनसँग आइतबार अल बायत स्टेडियममा जित निकाल्न जर्मनीलाई सहज पनि हुने छैन।

सन् १९३८ पछि पहिलोपटक गत विश्वकपमा जर्मन समूह चरणबाट बाहिरिएको थियो। स्पेनसँग हारले जर्मनी विश्वकपमा लगातार तेस्रो खेलमा पराजित हुनेछ। ‘हरेक खेलाडी र टिमले धेरै सुधार गरेको छ। अझै पनि हामीसँग राम्रो फुटबल खेल्ने क्षमता छ,’जर्मनीका प्रशिक्षक हान्सी फ्लिकले भने। स्पेन र जर्मनी एकअर्काको कमजोरी र बलिया पक्षसँग जानकार रहेकाले दुवैलाई जित निकाल्न सहज हुने छैन। जर्मनीको स्पेनसँग पछिल्ला सात खेल सुखद छैन र जहाँ स्पेनले चार जित निकाल्दा दुई बराबरी भएको छ। जर्मनीले एक खेल मात्र जित निकालेको छ, जुन सन् २०१४ मा हो।

रोबर्टो मार्टिनेजको टोली बेल्जियम आइतबार मोरक्कोमाथि सफलतासहित विश्वकपको समूह चरणमा लगातार ९ जित निकाल्न चाहन्छ। समूह ‘एफ’ को बेल्जियमले पहिलो खेलमा क्यानडामाथि १-० को संघर्षपूर्ण जित निकाल्दा मिची बात्सुयीको गोल निर्णायक थियो। सनसनीपूर्ण प्रदर्शन गरेको क्यानडाका एल्फोन्स डेभिजले पेनाल्टीमा गोल गर्न नसकेपछि हार बेहोर्नु परेको हो। दोस्रो पटक विश्वकप खेलेको क्यानडा २२ पटक प्रहार गर्दा पनि गोल गर्न असफल रह्यो। बेल्जियम दोस्रो जितको खोजीमा आइतबार मोरक्कोसँग भिड्दै छ।

क्रोएसियासँग बराबरी खेलेको मोरक्को पनि बेल्जियमलाई हराउँदै नकआउट चरणको सम्भावना जीवन्त राख्न चाहन्छ। तर, असरफ हाकिमी र नुसेर मजरोइको चोट मोरक्कोका लागि चिन्ताको विषय बनेको छ। स्ट्राइकर रोमेलु लुकाकु पनि चोटबाट फर्कन सम्भावना रहेकाले बेल्जियमको अट्याकिङ थप बलियो हुन सक्छ। यस समूहको अर्को खेलमा आइतबार नै क्यानडा र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदै छ। बेल्जियमसँग स्तब्ध भए पनि क्यानडाको प्रदर्शन लोभलाग्दो थियो। दुई विश्वकपमा गरेर क्यानडाले ५० सट प्रहार गर्दा एक गोल पनि गर्न सकेको छैन।

तर, क्रोएसियाविरुद्ध भने क्यानडा त्यो खडेरी तोड्न चाहन्छ। मोरक्कोसँग रोकिएको क्रोएसियाका लागि क्यानडा पनि सहज प्रतिद्वन्द्वी हुने छैन। सन् २०१८ को विश्वकप उपविजेता क्रोएसियाले मोरक्कोसँग पाँच सट मात्र प्रहार गर्‍यो, जुन उनीहरूका लागि विश्वकपको एउटा खेलमा सबैभन्दा कम हो। गत रसिया विश्वकपमा भने क्रोएसियाले एक खेलमा औसत १६ सट प्रहार गरेको थियो। क्यानडा त्यसकै फाइदा लिन चाहन्छ र आफ्नो विश्वकप इतिहासमा चार खेल हारे पनि यस पटक जित निकाल्दै कतार विश्वकप यादगार बनाउने लक्ष्यमा हुनेछ। 

प्रकाशित: ११ मंसिर २०७९ ०३:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App