coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

समूह ‘ए’ को नकआउट यात्रा रोचक

आयोजक कतार समूह चरणबाट बाहिरियो

नेदरल्यान्ड्स र इक्वेडरले शुक्रबार१-१ को बराबरी खेलेसँगै कतार विश्वकप अन्तर्गत समूह ‘ए’ बाट नकआउट चरण प्रवेश गर्न तीन राष्ट्रबीच रोचक प्रतिस्पर्धा हुने भएको छ।

समूह ‘ए’ मा दुई खेलबाट समान चार अंक जोडेका नेदरल्यान्ड्स र इक्वेडर क्रमशः पहिलो र दोस्रो स्थानमा छन्। तेस्रो स्थानको सेनेगलको समान खेलमा तीन अंक छ। चौथो स्थानको आयोजक कतार भने लगातार दुई खेलमा हार बेहोर्दै विश्वकपको समूह चरणबाटै बाहिरिने भएको छ। इक्वेडरले उद्घाटन खेलमा कतारलाई २-० ले हराएको थियो।

नेदरल्यान्ड्सले विश्वकपमा सुखद सुरुआत गर्ने क्रममा आइतबार सेनेगललाई २-० ले हराएको थियो। छैटौं मिनेटमा कोडी गाक्पोले गरेको गोलमा नेदरल्यान्ड्सले अग्रता लिएको थियो। पहिलो हाफको इन्जुरी समयमा इस्टुपिनियानले गोल गर्दै इक्वेडरलाई खेलमा फर्काए पनि अफसाइड भएको भन्दै सो गोलले मान्यता पाएन। ४९औं मिनेटमा कप्तान इनर भ्यालेन्सियाले गरेको गोलमा इक्वेडर खेलमा फर्किएको थियो। जारी विश्वकपमा उनको यो तेस्रो गोल हो। पहिलो खेलमा कतारमाथि २-० को जित निकाल्दा पनि इनरले दुवै गोल गरेका थिए।

नेदरल्यान्ड्ले पछिल्ला १६ खेलमा आफ्नो अपराजित यात्रा कायम राखेको छ। नेदरल्यान्ड्सले समूह चरणको अन्तिम खेलमा कतारको सामना गर्दा इक्वेडरले सेनेगलसँग खेल्नेछ। शुक्रबार सम्पन्न पहिलो खेलमा सेनेगललाई ३–१ को नतिजा सुम्पिएको कतारका लागि भने विश्वकपको पहिलो सहभागिता समूह चरणमा सीमित भएको छ।

एसिया कप २०१९ को विजेता कतारलाई अन्तिम १६ को प्रवेश सम्भावना जीवित राख्न सेनेगलमाथि जितको विकल्प थिएन। ४१औं डियाले गरेको गोलमा सेनेगलले अग्रता लिएको थियो। ४८औं मिनेटमा फारामा डिहिउले गोल गर्दै सेनेगलको अग्रता दोब्बर पारेका थिए। ७८औं मिनेटमा मोहम्मद मुन्टारीले गरेको गोलमा कतारले खेलमा फर्कने संकेत गरेको थियो। त्यससँगै उनी कतारका लागि विश्व कपमा गोल गर्ने पहिलो खेलाडी पनि बने।

खेल सकिन ६ मिनेट बाँकी रहँदा अहमुद बाक्बा डिइहिङको गोलमा सेनेगलले आफ्नो अग्रता ३-१ मा पुर्‍याएको थियो। जसले कतारको अघिल्लो चरण प्रवेशको बाटो बन्द गरिदियो।

प्रकाशित: १० मंसिर २०७९ ०४:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App