७ वैशाख २०८१ शुक्रबार
खेल

पहिलो जितको खोजीमा इरान र वेल्स

वेल्सका मिडफिल्डर ह्यारी विल्सनले आफ्नो टोली पहिलो खेलमा लज्जापूर्ण हार बेहोरेको इरानविरुद्ध शुक्रबार सामना गर्न तयार रहेको बताएका छन्।

समूह ‘बी’ को आफ्नो दोस्रो खेलमा वेल्स र इरान दुवै जारी विश्वकपमा पहिलो जित निकाल्ने लक्ष्यका साथ शुक्रबार एक आपसमा प्रतिस्पर्धा गर्दै छन्। इरानले इङ्ल्यान्डसँग ६-२ को स्तब्धपूर्ण नतिजाका साथ कतार विश्वकपको सुरुआत गर्दा वेल्स भने पहिलो खेलमा अमेरिकासँग १-१ को बराबरीमा रोकिएको थियो।

६ पटक विश्वकपमा सहभागी इरानले एक पटक मात्र पहिला दुई खेल गुमाएको छ, जुन सन् २००६ को जर्मनीमा भएको विश्वकपमा हो। यता, वेल्सले खेलको अन्त्यतिर ग्यारेथ बेलको पेनाल्टी गोलबाट अमेरिकाविरुद्ध अंक लिएको थियो।

वेल्स सन् १९५८ पछि विश्वकपमा पहिलो जितको खोजीमा छ। त्यसैले इरानविरुद्ध वेल्स लामो प्रतीक्षा पूरा गर्न चाहन्छ। यद्यपि, शुक्रबार अहमेद बिन अली स्टेडियममा इरानले इङ्ल्यान्डसँगको भन्दा वेल्सविरुद्ध पूर्ण सामर्थ्य लगाउने विल्सनको विश्वास छ।

‘इङ्ल्यान्ड उनीहरूका लागि धेरै कठिन टोली हो। त्यसैले त्यो नतिजा सामना गर्नुपर्‍यो। उनीहरूले शुक्रबार त्यो हारको जबाफ फर्काउन सक्छन्,’ विल्सनले भने। वेल्सले पनि पहिलो जितका लागि उतिकै संघर्ष गर्नेछ।

वेल्सको जित बेलको प्रदर्शनमा पनि निर्भर छ। वेल्सका लागि १ सय ९ खेलमा ४१ गोल गरेका बेल पनि यो संख्या बढाउन चाहन्छन्। कार्लोस क्विरोजको टोली दोस्रो खेलमा पनि पराजय बेहोरे यो विश्वकपबाट बाहिरिने पहिलो टोली बन्नेछ। यद्यपि, म्यानचेस्टर युनाइटेडका सहायक प्रर्वप्रशिक्षक कार्लोसलाई आफ्नो टोलीमाथि विश्वास छ।

स्टार स्ट्राइकर साडियो मानेबिनाको सेनेगल कतार विश्वकपमा पहिलो हारबाट बाहिर निस्कन चाहन्छ। पहिलो खेलमा नेदरल्यान्ड्ससँग २-० ले स्तब्ध सेनेगल दोस्रो खेलमा आयोजक कतारविरुद्ध प्रतिस्पर्धा गर्दै छ। आयोजकले पनि समूह ‘ए’ को पहिलो खेल इक्वेडरसँग गुमाएको थियो। यी दुवै टोली अल थुमामा स्टेडियममा पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछन्। सेनेगलका प्रशिक्षक इलिउ सिजेले मानेबिनाको आफ्नो टोली सेट भइरहेको विश्वास व्यक्त गरेका छन्।

अफ्रिकन कप विजेता सेनेगललाई घरेलु समर्थकबीच कतारविरुद्ध खेल्न त्यति सहज हुने छैन। सेनेगलका प्रशिक्षक सिजेले आफ्ना स्ट्राइकर इस्माल सार र डियटाबाट बढी नै आशा गरेको बताएका छन्। कतारले इक्वेडरलाई खेल सुम्पिँदा एउटा पनि प्रहार दिसामा राख्न सकेन। त्यसैले सेनेगलविरुद्ध सुधार गर्नुको विकल्प कतारलाई हुने छैन।

दक्षिण अमेरिकी राष्ट्र इक्वेडर नेदरल्यान्ड्सविरुद्ध जित निकाल्दै विश्वकपको दोस्रो चरण सम्भावना बलियो बनाउने लक्ष्यमा छ। दुवै टोलीले पहिलो खेल जितेका थिए। इनर भ्यालेन्सियाको गोलबाट इक्वेडरले कतारमाथि सहज जित निकालेको थियो। डच टोलीविरुद्ध इक्वेडर यो लय जारी राख्दै विश्वकपमा सन् २००६ पछि लगातार दोस्रो खेल जित्ने लक्ष्यमा छ। डच टोली पनि इक्वेडरविरुद्ध सजग भएर खेल्नेछ। इक्वेडर पछिल्ला विश्वकपका चार खेलमा युरोपियन टोलीसामु जितविहीन रहँदै आएको छ।

सन् १९९९४ मा ब्राजिलसँग ३-२ ले स्तब्ध डच टोलीले दोस्रो हार २०१४ को विश्वकपमा अर्जेन्टिनासँग बेहोरेको थियो। त्यसबाहेक कुनै पनि दक्षिण अमेरिकन टोलीसँग नेदरल्यान्ड्स हारेको छैन। तर, इक्वेडरका गोलकिपर हर्नान गालिन्दाले साउदी अरेबियाले अर्जेन्टिनामाथि जित निकालेपछि कुनै पनि राष्ट्र कमजोर नरहेने बताए। इरानले इङ्ल्यान्डसँग ६-२ को स्तब्धपूर्ण नतिजाका साथ कतार विश्वकपको सुरुआत गर्दा वेल्स भने पहिलो खेलमा अमेरिकासँग १-१ को बराबरीमा रोकिएको थियो।

प्रकाशित: ९ मंसिर २०७९ ०५:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App