coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

वागमतीको विजयी शुरुवात

गण्डकी प्रदेशमाथि ७४ रनको जित निकाल्दै वागमती प्रदेशले बुधवारबाट शुरु भएको यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको उद्घाटन खेलमा वागमती प्रदेशले दिएको २ सय ९४ रनको लक्ष्य पछ्याएको गण्डकीले ४५.४ ओभरमा सबै विकेट गुमाएर २ सय १९ रन मात्र बनाउन सक्यो। गण्डकीका लागि अर्जुन कुमालले अर्धशतकीय इनिङ खेले पनि जित दिलाउन सकेनन्। अर्जुनले १ सय १९ बलमा ९ चौका र १ छक्काको सहयोगमा ९८ रनको पारी खेलेका थिए।  

सिब्रिन श्रेष्ठले २१ रन जोड्दा कप्तान सुवास भण्डारी, गोविन्द विक र करण पंगेनीले समान १३÷१३ रनको योगदान गरेका थिए। बलिङमा वागमती प्रदेशले ३६ रन अतिरिक्त स्वरुप खर्चिएको थियो। वागमतीका लागि अशोक पौडेलले ३ तथा ओमकार यादव, प्रतिक श्रेष्ठ र सक्रिय कार्कीले समान २÷२ विकेट निकाल्दा अभिशेख कोईरालाको नाममा एक विकेट रह्यो।

त्यसअघि टस हारेरपछि पहिले ब्याटिङको निम्तोपाएको वागमतीले ४८।१ ओभरमा सबै विकेट गुमाएर २ सय ९३ रन बनाएको थियो। वागमतीका लागि योगेश भाट र उत्तम मगरले अर्धशतकीय पारी खेले। उत्तमले ७० बलमा ८७ रन बनाउँदा १० चौका र ३ छक्का प्रहार गरेका थिए। योगेशले ४२ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५२ रन बनाएका थिए। ओमकार यादवले ३७ रन जोड्दा अभिशेख कोईरालाले ३२ रनको योगदान गरेका थिए। अर्थव पौड्यालले २१ रन तथा सक्षम बस्ताकोटीले १८ रनको योगदान गरेका थिए।  

गण्डकीका लागि निर्तिस गिरी र सुदीप अर्यालले समान ३÷३ विकेट लिएका थिए। सिब्रिन श्रेष्ठ,अर्जुन कुमाल र कप्तान सुवास भण्डारीको नाममा समान १÷१ विकेट रह्यो। जितसँगै वागमतीले २ अंक जोडेको छ भने गण्डकीले हारबाट प्रतियोगिताको शुरुवात गरेको छ। प्रतियोगितामा प्रदेश–१, मधेश प्रदेश,वागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ। प्रतियोगितामा बिहीवार दुई खेल हुनेछन्।

कीर्तिपुरमा हुने खेलमा कर्णालीले सुदूरपश्चिम प्रदेशको सामना गर्दा मूलपानी मैदानमा गण्डकी र प्रदेश नम्बर १ बीच खेल हुनेछ। मंसिर १९ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउनेछ। यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०÷१० हजार पाउने छन्।

प्रकाशित: ७ मंसिर २०७९ १३:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App