८ वैशाख २०८१ शनिबार
खेल

विश्वकपमा गोल गर्न लेवान्डोस्की अझै असफल

मेक्सिकोविरुद्ध पेनाल्टी प्रहार गर्दै पोल्यान्डका रोबर्ट लेवान्डोस्की। तस्बिर: एपी/एजेन्सी

रोबर्ट लेवान्डोस्कीले पेनाल्टीको अवसर गुमाएपछि पोल्यान्डले मंगलबार मेक्सिकोसँग गोलरहित बराबरीमा रोकिँदै कतार विश्वकपमा सुखद सुरुआत गर्ने अवसर गुमाएको छ।

विश्वकपमा गोल गर्न असफल लेवान्डोस्कीले कतारमा सहज अवसर गुमाएका हुन्। उनी पोल्यान्डका लागि सर्वाधिक गोलकर्ता हुन्। ३४ वर्षे लेवान्डोस्कीले पोल्यान्डबाट ७६ गोल गरेका छन्। तर, यो विश्वकप बाहेकका प्रतियोगितामा बनाएको कीर्तिमान हो।

बार्सिलोनामा यसै सिजन अनुबन्ध भएका लेवान्डोस्कीले १९ खेल खेल्दा १८ गोल गरिसकेका छन्। क्लब र अन्य प्रतियोगितामा गोल गर्न माहिर लेवान्डोस्की विश्वकपमा भने अझै असफल छन्। मेक्सिकोका गोलकिपर गुइलेर्माे ओचोआ उनको लक्ष्यमा बाधक भए। स्टेडियम ९७४ मा भएको समूह ‘सी’ को खेलमा पोल्यान्डविरुद्ध मेक्सिकोले सुरुआतबाट दबाब दिएर खेले पनि नतिजा निकाल्न सकेन।

सुधारिएको खेल देखाएको पोल्यान्डले दोस्रो हाफमा आक्रामक खेल्ने प्रयास गर्‍यो। सोही क्रममा काउन्टर गरेको लेवान्डोस्कीलाई पेनाल्टी बक्समा लडाएपछि पोल्यान्डले पेनाल्टी अवसर पायो। मेक्सिकोका हेक्टर मोरेनोले उनलाई पेनाल्टी बक्सभित्र फउल गरेपछि भिडियो सहायक रेफ्रि (भिएआर) को सहायताबाट रेफ्रीले पोल्यान्डलाई पेनाल्टीको अवसर दिएका थिए। तर, पोल्यान्डले त्यसलाई सदुपयोग गर्न सकेन। पेनाल्टी प्रहार गर्ने क्रममा लेवान्डोस्कीको प्रहार मेक्सिकोका गोलकिपर गुइलेर्माेले उत्कृष्ट बचाउ गरे। यससँगै पोल्यान्ड र मेक्सिकोले अंक बाँडेर कतार विश्वकपको सुरुआत गरेका छन्।

दुवै टोली समूहमा १/१ अंक जोड्दा बलियो अर्जेन्टिनालाई हराएको एसियाली राष्ट्र साउदी अरेबिया स्पष्ट तीन अंकसहित शीर्ष स्थानमा छ। यस समूहमा पोल्यान्ड दोस्रो र मेक्सिको तेस्रो स्थानमा छन्। कतार विश्वकपमा खराब सुरुआत गरेको अर्जेन्टिना पुछारमा छ।

समूह चरणअन्तर्गत आगामी खेलमा पोल्यान्डले आइतबार साउदी अरेबियासँग खेल्नेछ। मेक्सिकोले पनि आइतबार नै अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्ने तय छ। मंगलबार नै समूह ‘डी’ को खेलमा डेनमार्कलाई ट्युनिसियाले गोलरहित बराबरीमा रोक्यो।

विश्वकपमा पाँच पटक सहभागिता जनाउँदा नकआउट चरणसम्म पनि नपुगेको ट्युनिसियाले डेनमार्कलाई रोक्दै २२औं संस्करणको विश्वकपमा सुखद सुरुआत गर्‍यो। प्रतिस्पर्धात्मक खेलमा डेनमार्कले दोस्रो हाफमा दबाब दिएर खेलेको थियो। तर, पाएका राम्रा अवसरलाई सदुपयोग गर्न भने असफल रह्यो। पहिलो हाफमा ट्युनिसियाले केही अवसर बनाएको थियो। तर, अग्रपंक्ति उक्त अवसरलाई खेर फाल्न पुगे। ट्युनिसियाले अंकतालिकामा शीर्षता कायम राख्दा डेनमार्क समान अंकका साथ दोस्रो स्थानमा छ। ट्युनिसियाले समूहचरणको दोस्रो खेलमा शनिबार अस्ट्रेलियासँग खेल्नेछ भने डेनमार्कले फ्रान्सको सामना गर्नेछ। 

प्रकाशित: ७ मंसिर २०७९ ०३:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App