२१ मंसिर २०८२ आइतबार
image/svg+xml
समाज

त्रियुगा नगरको अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा

नवनिर्मित प्रशासनिक भवनको उद्घाटन कार्यक्रममा मेयर, उपमेयरलगायत जनप्रतिनिधि। तस्बिरः महेश्वर

जिल्ला सदरमुकामसमेत रहेको त्रियुगा नगरपालिका अत्याधुनिक र सुविधा सम्पन्न प्रशासनिक भवनमा सरेको छ।गाईघाट र बोक्सेको बीचमा पर्ने वडा नं. १० बाँसबारीमा बनेको नयाँ भवन सोमबारदेखि सञ्चालनमा आएको हो।

नगरप्रमुख बसन्त बस्नेत र उपमेयर महेश्वरी राईले उद्घाटन गरेसँगै नगरपालिकाका सम्पूर्ण कामकाज नवनिर्मित भवनबाट सुरु भएको छ। अत्याधुनिक अपाङ्गमैत्री तथा बालमैत्री भवन निर्माणको काम अढाई वर्षअघि सुरु भएको थियो।

स्थानीयतह पुनर्संरचनापछि ०७४ असारमा सम्पन्न पहिलो स्थानीयतह चुनावबाट निर्वाचित मेयर बलदेव चौधरीले नयाँ भवनको सिल्यान्यास गरेका थिए। ०७९ वैशाख ३० गते सम्पन्न दोस्रो स्थानीयतह चुनावबाट निर्वाचित मेयर बस्नेतले नयाँ भवनलाई पूर्णता दिलाएका हुन्। नगरपालिकाको आफ्नै स्वामित्वको डेढ विगाह जमिनमा निर्मित ८४ कोठे ४ तले अत्याधुनिक भवनमा विद्युतीय भर्याङ र भूमिगत पार्किङ तथा भवन बाहिर प्रवेशद्वार तथा चौकीदार भवन र व्यावसायिक सटर (कोठा)हरू समेत रहेका छन्।

नगरपालिकाका सहरी पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर निर्मल चौधरीका अनुसार प्रत्येक तलामा २१ कोठा रहेको भवन निर्माण गर्न १५ करोड ९० लाख ९० हजारको लागत इस्टीमेट तयार भएको थियो। तर, निर्माण व्यवसायीहरूबीच प्रतिस्पर्धा गराउँदा १२ करोड २६ लाख ३९ हजार २ सय ९३ रुपैयाँमा ठेक्का लागेको इन्जिनियर चौधरीले बताए।

प्रमुख प्रशासकीय अधिकृत कुमार कोइरालाले संघीय सरकारको ५० प्रतिशत अनुदान र नगरपालिकाको ५० प्रतिशत हिस्सा आन्तरिक स्रोतबाट जुटाएर भवन बनाइएको हो। भवन ज्ञान ज्योति बिल्डर्स प्रालि काभ्रेले ०७९ असार १५ गते सम्झौता गरेर ३ वर्ष अर्थात ०८२ असार १३ गतेभित्र निर्माण सम्पन्न गरे पनि सार्वजनिक पाकिङ स्थल, चौकीदार भवन र प्रवेशद्वार निर्माण गर्न समय लागेकाले उद्घाटन गर्न केही ढिला भएको कोइरालाले बताए।

भवन उद्घाटन गर्दै मेयर बस्नेतले नयाँ भवनमा कार्यालय सारेपछि साँघुरो भवनबाट सास्तीले काम गर्नुपर्ने समस्या सधैँलाई हटेको बताए। उनले नगरवासीलाई चुस्त, छिटोछरितो र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले आवश्यक पूर्वाधारमध्ये भवन पहिलो भए अनुसार समयमै निर्माण गरेर कार्यालय सारेको बताए। मेयर बस्नेतले त्रियुगा जिल्लाकै जेठो र ठूलो भूगोल भएको नगरपालिका भएको भन्दै विकास निर्माण र सेवा प्रवाहको हिसाबले पनि अन्यभन्दा ठूलो भएर देखाउन चाहेको बताए।

नयाँ प्रशासनिक भवन सञ्चालन भएसँगै पुरानो भवनमा ११ नं. वडा कार्यालय सरेको छ। यसअघि ११ न. वडा कार्यालय भाडाको घरमा सञ्चालन गर्नुपर्दा सेवा प्रवाहमा धेरै समस्या झेल्दै आएको वडा कार्यालय साविकको नगर भवन पाएपछि वडावासीलाई सहज रूपमा सेवा प्रदान गर्न सकिने वडाध्यक्ष सुमन्त कोइरालाले बताए।

तत्कालीन आदर्श गाईघाट गाउँ विकास समिति ०५३ सालमा त्रियुगा नगरपालिकामा स्तरोन्नति भएको हो। ०५४ को पहिलो स्थानीय निकाय चुनावबाट निर्वाचित संस्थापक नगरप्रमुख लालशेर राईले निर्माण गरेको पुरानो नगरपालिका भवन साँघुरो भएपछि नयाँ भवन बनाइएको हो।

प्रकाशित: १५ मंसिर २०८२ २०:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App