२६ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
समाज

सिमकोट तीर्थयात्रीले भरिभराउ

शान्त हुम्लाको सदरमुकाम सिमकोट तीन सातायता मानसरोवर दर्शन गर्न आउने भारतीय तीर्थयात्रीका कारण खचाखच छ। यतिखेर सिमकोट विमानस्थलदेखि होटलहरूसमेत व्यस्त छन्।

विमानस्थलमा एकै दिन एक सय ७० उडान (दुईतर्फी) सम्म हुने गरेको छ। धेरैजसो भारतीयहरू नेपालगन्जबाट जहाजमा हुम्ला हुँदै कैलाश मानसरोवर दर्शनका लागि पुग्छन्। आंशिक भारतीय पर्यटक आफ्नै गाडी लिएर सिमकोटसम्म पुग्ने गरेका छन्। गाडी लिएर आएकाहरू नाम्खा गाउँपालिका– ६, लिमी उपत्यकामा पर्ने लाप्चा क्षेत्रबाट कैलाश मानसरोवरको दूरदर्शन गर्छन्। यद्यपि धेरै भारतीय तीर्थयात्री कैलाश मानसरोवर पुगेर फर्कन्छन्।

कोभिडपछि केही वर्ष रोकिएको मानरोवर दर्शन गर्न पछिल्ला वर्षहरूमा बढ्दो छ। तीन सातायता भारतीय तीर्थयात्री आउन थालेसँगै हुम्लाका होटल भरिभराउ छन्। यस वर्ष मानसरोवर जानका लागि १६ हजार बढीले बुकिङ गरेको अनुमान गरिएको छ। कैलाश यात्रामा ३५ वटा टुर्स एन्ड ट्राभल्स कम्पनी संलग्न छन्। गत वर्ष हुम्ला मार्ग हुँदै कैलाश पुगेका करिब ६ हजार पाँच सय व्यक्ति पुगेका थिए।

चालु आर्थिक वर्षभित्र सात हजार दुई सय १६ जना भारतीय तीर्थयात्री कैलाश मानसरोवर पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाको तथ्यांक छ। २०८२ साउनदेखि जेठसम्म रहेको छ, जसमा २०८२ साउन र भदौपछि २०८३ जेठ २४ सम्म बढी तीर्थयात्री आएको देखिन्छ। साउनमा १५ सय सातजना, भदौमा २२ सय जना र जेठ २४ सम्म (आइतबार) २८ सय तीनजना रहेका छन्। ३२ सय ८६ जना महिला र ३९ सय ३० जना पुरुष कैलाश जानका लागि हुम्ला आएको जनाइएको छ।

कर्णाली करिडोर छिटो कालोपत्रे भए स्थलमार्ग हुँदै हुम्ला आउनेको संख्या अझ बढ्न सक्ने व्यवसायी बताउँछन्। सरकारले सडक सुधार र स्तरोन्नतिका लागि प्राथमिकता दिए भारतीय तीर्थयात्री अझ बढ्ने हुम्लाका होटल व्यवसायी विजय लामाले बताए।

हुम्लाका यातायात व्यवसायीहरू पनि भारतीय तीर्थयात्रीहरू आएसँगै लिमी लाप्चा गाडीहरू रिजर्भमा पुग्ने गरेका छन्। बिहान गएपछि साँझ कैलाश मानसरोवरको दूरदर्शन गरेर सिमकोट फर्कने गर्दछन्। सिमकोट र नाम्खा गाउँपालिकाले हुम्ला पुगेका विदेशी पर्यटकबाट शुल्कसमेत उठाउँदै आएको छ। भारतीय पर्यटकलाई प्रतिव्यक्ति एक हजार शुल्क उठाउँदै आएको छ। जेठ, असार र साउन महिना कैलाश मानसरोवर दर्शन गर्ने उपयुक्त समय हो।

हुम्लाबाट कैलाश मानसरोवर पुगेका कुनै पनि भारतीयमा अहिलेसम्म स्वास्थ्य समस्या नदेखिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख (डिएसपी) शंकर खड्काले बताए। तारा, समिट र सीता एयरलाइन्सले जहाज नेपालगन्जदेखि सिमकोटसम्म र सिम्रिक, फिस्टेल, माउन्टेन, प्रभु र कैलाश एयरका ६ हेलिकोप्टरमार्फत सिमकोटदेखि हिल्सासम्म (तिब्बत सीमा) उडान गर्दै आएका छन्। 

प्रकाशित: २६ जेष्ठ २०८३ ०९:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App