२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
समाज

आत्मनिर्भर छन् शारीरिक रूपले अशक्त दानबहादुर

कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका-८ का दानबहादुर सुनार शारीरिक रूपमा अशक्त छन् । दानबहादुर जन्मिने बेला अरु जस्तै सामान्य थिए ।  

चार वर्षको उमेरमा उनी बिरामी परे । त्यसपछि विस्तारै शरीर सुक्दै गएपछि अहिले पूर्ण रूपमा अशक्त छन् । उनलाई शरीरले साथ नदिए पनि मन र सीप असाध्यै सबल छ । हिँडडुलसमेत गर्न नसक्ने अवस्थामा रहेका दानबहादुरले हार मानेनन् ।  

उपचारका लागि परिवारले सकेको प्रयास गरेका बताउँदै दानबहादुरले अस्पताल धाउँदाधाउँदै पनि कमजोर आर्थिक अवस्थाका कारण समयमा रोग निदान हुन नसकेको बताए ।  

अहिले उनले सरकारबाट सामाजिक सुरक्षा भत्ता पनि लिन्छन् । उनले हिम्मतका साथ आफूमा भएको क्षमतालाई सदुपयोग गर्दै निरन्तर कर्ममा लागेपछि अहिले परिवारका लागि आर्थिक सहारा बनेका छन् ।  

‘घरमा ल्याएको रेडियो बिग्रियो त्यो रेडियोबाट उसले मर्मत गर्न सिकेको हो’, दानबहादुरकी आमा उषा सुनारले भनिन्, ‘त्यसै रेडियोबाट सिकेर अहिले मोबाइलको डिस्प्ले फेर्ने, रेडियो, टर्च र बुफरहरू मर्मतको काम गर्छ ।’  

दानबहादुरले पछिल्लो समय अरुलाई हाउस वायरिङ गर्ने काम सिकाउन थालेको उनको भनाइ छ । सरकारबाट पाउने सामाजिक सुरक्षा भत्ता दानबहादुरको जीविकोपार्जन प्रमुख स्रोत हो ।

‘भत्ता मात्रै जीवन चलाउन पर्याप्त नभएपछि उहाँलाई आफ्नो क्षमता देखाउने आत्मबल बढ्दै गयो । शरीरले गर्न नसक्ने काम धेरै थिए, तर हात–आँखाका बलमा गर्न सकिने साना सीपले उसलाई आर्थिक सहारा दिन सहयोग पुगेको हो’, आमाले भनिन् ।  

‘अरुको सहयोगमा रेडियो, मोबाइल टर्चलगायत सामग्री मर्मत म आफैँ गर्छु, हाउस वायरिङका लागि अरु साथीभाइलाई सिकाउने गरेको छु’, दानबहादुरले भने, ‘गाउँको व्यवसाय हो । कोही पैसा दिएर जान्छन् कोही त्यतिकै मर्मत गराउँछन् । तर, थोरै भए पनि आम्दानीको स्रोत बनेको छ ।’  

उनले परिवारको आर्थिक अभावका कारण आफ्नो सीपलाई व्यवसायिक बनाउन नसकेको बताएका छन् ।  

‘थोरै आम्दानी भए पनि परिवारलाई सहयोग पुगेको छ’, सुनारले भने, ‘अरुलाई पनि आत्मनिर्भर बन्नका लागि हाउस वायरिङ र मर्मत गर्न सिकाउने गरेको छु ।’ पौरख गर्न पाखुरामा दम मात्रै होइन, हातखुट्टा सध्य चाहिन्छ उनले भने ।  

पूर्ण रूपमा अशक्त दानबहादुर अहिले दोधाराका थुप्रै युवाको गुरुमात्रै होइन, प्रेरणाको स्रोत बनेका छन्।  

 

प्रकाशित: २९ कार्तिक २०८२ १७:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App