२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
समाज

नेपाली युवतीलाई कुवेतमा पीडाः उद्धारको पुकार

विदेशमै नाम कमाएर परिवारको पीडा समाधान गर्ने सपना बोकेर कुवेत पुगेकी एक नेपाली युवती आफ्नै देश फर्कन दिनरात गन्दै छिन् । गत चैतमा कुबेत पुगेकी धादिङकी २५ वर्षीय एक युवती कामको चाप, असह्य श्रम, अपमान र उपचारको अभावले थला परेपछि स्वदेश फर्कने चाहनामा दिनरात आँसु झारिरहेकी छन् ।

राम्रो कमाइ हुने भनेर एजेन्टद्वारा प्रलोभनमा पारिएकी ती युवती कुबेत पुगेको एक महिनामै थला पर्न थाल्छिन् । विदेशी भूमिमा पाइला परेपछि उनको शरीर भारी हुन थाल्छ ।

कुवेतमा नेपाली एजेन्टहरूले खोलेको कार्यालयबाट ती युवती एक घरको चार दिवारभित्र पुग्छिन् । त्यसपछि उनको हरेक दिन सधैँ अध्यारोले छाउँछ । कामको अत्यधिक दबाब, खान–बस्नको दुःख र बिरामी हुँदासम्म उपचार नपाएपछि उनको स्वास्थ्य बिग्रँदै जान्छ ।

घर मालिकका लागि सरसफाइ, भान्साको काम, अनि सधैँ तयारी सेवामा बस्नु पर्ने कामले उनको ढाडको समस्या झनै गम्भीर बन्दै गएको थियो । ढाड र पायल्स सम्बन्धी रोगले सताएको शरीरले काम सम्हाल्न उनले सकेकी थिइनन् । तर बिरामी भएपछि विश्राम त परै जाओस्, सामान्य उपचारको व्यवस्था समेत उनले पाइनन् ।

बरु उल्टै धेरै खाना खान्छे भन्दै नेपाली एजेन्टको अफिसमा घर मालिकले कुरा पुर्‍याउने गरेको पीडित युवतीले नेपालमा रहेकी आफ्नी दिदीलाई बताएकी थिइन् । वैदेशिक रोजगार उद्धार नेपालमा कुवेतमा रहेकी बहिनीको उद्धारको याचना गर्दै पुगेकी पीडित युवतीकी दिदी भन्छिन्, ‘बहिनी त्यो नेपालीहरूले खोलेको एजेन्ट अफिसमा पुग्दा उल्टै घर मालिकले कुरा पुर्‍याएको रहेछ । खाली बिरामी भयो भन्छ । काम केही गर्दैन् । कति धेरै खाना खाने केटी पठाएको हो भनेर ।’ त्यसरी थला परेको अवस्थामा कुवेतमा बिरामी परेकी बहिनीले घर मालिकसँग नेपाल फर्कन अनुमति समेत माग्दा उल्टै नेपाली ४ लाख रुपैयाँ मागेको वैदेशिक रोजगार उद्धार नेपालमा उद्धारका लागि पहल गर्न आएकी ती पीडितकी दिदीले नागरिकसँग सुनाइन् ।

कुवेतमा थला परेकी बहिनीले एजेन्ट अफिस र घर मालिकसँग नेपाल आउन अनुरोध गरेको पीडा उद्धृत गर्दै पीडितकी दिदीले भनिन्, ‘म निको भएर फर्केर फेरि काम गर्न यही आउँछु । मलाई अहिले उपचारको खाँचो छ । मलाई नेपाल जान दिनुस् ।’ तर उनको बिन्ती कसैले नसुनेको बहिनीको उद्धारको पहल गर्न उद्धार नेपालमा पुगेकी दिदीले नागरिकलाई बताइन् ।

उनले घर मालिकलाई मात्रै पुकारेकी थिइनन् । ती पीडित युवती धेरै पटक आफूलाई घर मालिक कहाँ पुर्‍याएको एजेन्ट अफिसमा पनि गुहार माग्दै पुगेकी थिइन् । आफ्नै देश फर्कने, उपचार गराउने र नयाँ आशासहित फेरि कुवेतमा फर्किने चाहना उनले एजेन्ट अफिसलाई पोखिन् ।

तर, विदेशी भूमिमा नेपालीबाट पनि उनले सुख भने पाइनन् । त्यहाँ पनि उनको पीडा सुन्नुअघि नै एजेन्टहरूले अचम्मको आरोपसहित ३/४ लाख रुपैयाँ मागेको उनले आफ्नी दिदीलाई फोन मार्फत सुनाइन् । ‘तैँले धेरै भात खान्छेस् रे? त्यहाँ काम गर्न गएको बेकार भयो । नेपाल फर्कनु छ भने ४ लाख तिर्नुपर्छ,’ कुवेतबाट रुँदै ती युवतीले आफ्नी दिदीलाई सुनाएकी थिइन् ।

कुवेतमा बिरामी बहिनीलाई सम्झँदै नेपाल फर्काउन पहलको लागि वैदेशिक रोजगार उद्धार नेपालमा पुगेकी पीडितकी दिदीले भनिन्, ‘बहिनीको बिरामी शरीर छ । कमजोर आर्थिक अवस्था त्यस्तै र घरमा निराशाजनक स्थिति भएको बेलामा चार लाख तिर्ने क्षमता कहाँबाट हामीले ल्याउने । आफ्नै देश फर्कन पनि एजेन्टलाई पैसा पठाउनु पर्ने रहेछ हजुर । कसरी हुन्छ बहिनीलाई उद्धार गर्नु पर्‍यो । ’

उनका अनुसार बिदेसिएको कारण नै घरको नाजुक आर्थिक अवस्था थियो । परिवार पाल्ने सपना लिएर बहिनी कुबेत पुगेकी थिइन्, तर बिरामी पर्दा जीवन नै सङ्कटमा पर्‍यो । ‘बिरामी हुँदा पनि विश्राम छैन यहाँ । औषधि समेत दिँदैनन् । म गली सकेँ । मलाई नेपाल फर्किन देऊ, मलाई आफ्नै देशको माटोमा मर्नु छ,’ बहिनीको यस्तो पीडादायी स्वर लिएर उद्धार नेपालमा आएकी पीडितकी दिदीले नागरिकलाई सुनाइन् ।

दिदीको यो चिच्याहट केवल एक दिदीको माया मात्र होइन, विदेशी भूमिमा थिचिएका हजारौँ नेपाली श्रमिकहरूको सामूहिक पुकारजस्तै थियो ।

बहिनीको उद्धारको माग लिएर उनी वैदेशिक रोजगार विभाग पनि पुगेकी थिइन् । त्यहाँ उनको माग कसैले नसुनेपछि हात फैलाउँदै सोमबार उद्धार नेपाल पुगेकी हुन् ।

विदेशमा रोजगारीका नाममा नेपाली श्रमिकले भोगिरहनुपरेका यस्ता यातना वर्षौँदेखि उकालो लागेका छन् । रोगले थला पर्दा उपचार नदिने, घर फर्किन नदिने, रुन नपाइने जस्ता थुप्रै यातना इमानदार श्रमिकले विदेशमा खेपिरहेका छन् । उनीहरूको पसिनाको मूल्य अझैसम्म सम्मानित हुन सकेको छैन ।

ती धादिङकी युवती मात्र होइनन्, उनीजस्तै सयौँ नेपाली महिलाहरू परदेशमा यिनै पीडामा पिल्सिएका छन् । उद्धारको प्रतीक्षा, न्यायको अपेक्षा, र आफ्नै देश फर्कने चाहना सहित विदेशमा धेरै नेपालीहरूले दुख पाइरहेका छन् । त्यति मात्रै नभएर विदेशी भूमिमा शोषणको सिकार बनेका अनगिन्ती नेपाली श्रमिकहरू थुप्रै छन् ।

वैदेशिक रोजगार उद्धार केन्द्रका इन्द्र गोलेका अनुसार हाल कुवेतमा रहेका नेपाली पीडितहरूको संख्या यति ठुलो छ कि त्यसको कुनै मापन गर्न सकिएको छैन । कुवेतमा पीडित हुनेको संख्या बढ्दै गएको छ । त्यहाँ मात्रै होइन, अन्य देशमा पनि थुप्रै नेपाली महिलाहरू भय, हिंसा र बन्धक जीवनमा अलपत्र परेका छन् ।

दलालको जालोबाट गाउँका सोझा युवती ‘सजिलो काम’ भन्दै विदेशमा बेचिने गरेको उनले बताए । नेपालका दूर दराजका गाउँबाट सोझा युवतीहरूलाई एजेन्ट र दलालहरूले सजिलो काम छ, ‘मासिक राम्रो तलब आउँछ,’ भन्दै भिजिन भिसामार्फत कुवेत, ओमान जोडन लगायतका खाडी मुलुकमा पुर्‍याइदिन्छन् । उता पुगेपछि उनीहरूलाई एजेन्टको अफिस तथा बन्द कोठामा थुन्ने, कुटपिट गर्ने, बलात्कार तथा यौन दुर्व्यवहार गर्ने, खान नदिने, महिनौँ तलब नदिने, मालिकले मनलाग्दी यातना दिने जस्ता अमानवीय शोषणको सामना नेपालीहरूले भोगिरहेको गोलेले नागरिकलाई बताए ।

‘नेपालबाट पठाउँदा दलालहरूले युवतीलाई विभिन्न लोभ लालचमा पार्छन्,’ उनले भने, ‘कतिपयले बिदेसिनेसँग पैसा लिने पनि गर्छन् । तर त्यहाँ पुगेपछि ती महिलाहरूले नेपाल फर्किन चाह्यो भने उल्टै ४–५ लाख तिर्नुपर्छ, नत्र छोडिँदैन भन्ने धम्की दिन्छन् ।

गोलेको मोबाइल फोनमा विदेशबाट मध्ये राममा पनि रोइरहेका महिलाहरूको आवाज सहितको बचाइदिनुस् भन्ने फोन आउने गरेको उनले सुनाए ।

‘रातमा पनि रुँदै-रुँदै गरेको कति पीडित महिलाहरूको फोन आउँछ, बचाइदिनुस् भनेर । दिनभरि उनीहरूको उद्धारकै लागि खटिएको हुन्छु । रातमा पनि सुत्ने अवस्था हुँदैन । यति धेरै पीडित छन् कि उद्धार गर्ने कुनै श्रोत साधन नै छैन । यसमा राज्य टुलुटुलु हेरेर बसेको छ,’ उनले भने ।

राज्यले नै अवैधानिक तवरबाट नेपाली विदेश पठाउने गरेको छ । अनि त्यहाँ पुगेपछि जे सुकैभएपनि कसैलाई चासो नभएको उनले बताए ।

‘म दिनको दुई जना उद्धार गर्छु, सरकारले २ सय जना नेपाली अवैधानिक रूपमा पठाइरहेको छ । यसरी उद्धार भन्दा सयौँ गुणा बढी नेपाली बेचिँदै छन् । कसरी रोक्ने? पीडा कहिलेसम्म सुन्ने?,’ उनले भने, ‘यसरी वर्षौँदेखि चलिरहेको अवैधानिक वैदेशिक रोजगारीको जालोले हजारौँ नेपाली युवतीलाई नरक झैँ जीवनमा धकेलिरहेको छ ।’

उनले १८ वर्षदेखि गरेको उद्धार कार्यमा आजसम्म पनि सरकारी संयन्त्रबाट सहयोग सहभागिता शून्य रहेको गुनासो गर्छन् ।

नेपाल सरकार मौन रहेकै कारण विदेशमा दुख पाउने नेपालीको संख्यामा वृद्धि भएको उनले बताए । उनका अनुसार अवैधानिक भिजिन भिसामा रोक नलाग्नु, पठाउने एजेन्ट–दलालमाथि कुनै पनि कारबाही नगर्नु, दूतावासको कमजोर समन्वय, उद्धारका लागि पर्याप्त बजेट तथा जनशक्ति नभएकै कारण विदेशमा बेचिएका नेपालीको संख्या कम नभई दैनिक वृद्धि हुने गरेको उद्धार नेपालका अध्यक्ष गोलेले जानकार गराए ।

 

प्रकाशित: १८ मंसिर २०८२ १४:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App