१० जेष्ठ २०८३ आइतबार
image/svg+xml
समाज

जनश्रमदानबाट हिलाम्मे सडक सरर

सडक मर्मतमा श्रमदान गर्दै जनप्रतिनिधि तथा साकेलावासी। तस्बिरः महेश्वर

खोटाङको साकेला गाउँपालिकाले लगातार १० दिनसम्म श्रमदान गरेर हिलाम्य सडक सरर चल्ने बनाएको छ। वर्षदिनयता श्रमदान अभियानमा विभिन्न सडक, विद्यालय तथा अन्य सार्वजनिक स्थलहरूको सरसफाइ तथा मर्मत कार्य गर्दै आएको साकेला गाउँपालिकाले पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत साकेला गाउँपालिकाभित्र पर्ने सडकको उक्त दिनसम्म मर्मत कार्य गरेको हो।

ठेकेदार कम्पनीको लापरबाहीका कारण वर्षाौँदेखि अलपत्र बनेको मध्यपहाडी लोकमार्गअन्तर्गत साकेला गाउँपालिका–१ को सेखुवा–चखेवाभन्ज्याङ खण्डको सडक श्रमदानबाट सुचारु हुने अवस्थामा पुगेको छ। गाउँपालिका अध्यक्ष रविप्रकाश राई स्वयं नेतृत्व गर्दै श्रमदानमा खटेपछि स्थानीयवासी, जनप्रतिनिधि, कर्मचारी र प्रहरीसमेत सहभागी हुने गरेका छन्।

विगतमा एक देखि तीन दिनसम्म मात्र श्रमदान गर्ने गरेका साकेलावासीले यसपालि लगातार १० दिन श्रमदान गरेका हुन्। नजिकिएको वर्षामा सडकको अवस्था अत्यन्त नाजुक हुने भएपछि गाउँभित्र र बाहिर आउजाउ गर्नै नसक्ने परिस्थितिको अन्त्य गर्न र वर्षाभरि पनि सडक सुचारु गराउन १० दिन लामो श्रमदान गर्न सबै सहमत भएको अध्यक्ष राईले बताए। सामूहिक जनश्रमदानबाट अहिले सो खण्डको १० किलोमिटर सडक सवारी साधन सञ्चालन गर्न योग्य भएको छ।

गाउँपालिकाले सञ्चालन गर्दै आएको 'श्रम साकेला अभियान' अन्तर्गत यसपटक लगातार १० दिन सडक मर्मतमा श्रमदान गरेको र त्यसले यातायात चुचारु गर्न सहज भएको हो। १० किलोमिटर लामो सडक वर्षा लागेपछि हिलाम्मे र पहिरोले पुरिनुका साथै भत्केको अवस्थामा पुगेको थियो। श्रमदानका क्रममा सडक मर्मत गरेपछि आउँदो वर्षायाममा विगतमा जस्तो जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्थाको अस्थायी रूपमा भए पनि अन्त्य भएको छ।

गाउँपालिकाका सूचना अधिकारी डिएम चामलिङका अनुसार अध्यक्ष राईको अगुवाइमा जनप्रतिनिधि, स्थानीयवासी तथा सरोकारवालाहरू सबैको सक्रियतामा जेठ १ गतेदेखि श्रमदान अभियान सुरु भएको थियो। आइतबार १० औं दिनसम्म जारी रहेको अभियानले सडक पूर्ण रूपमा सुचारु हुने अवस्था आएको सूचना अधिकारी राईले बताए।

वर्षायाममा सडक हिलाम्मे हुँदा दैनिक सयौं सवारी साधन फस्ने, यात्रुहरू आधा बाटोमै रोकिनुपर्ने र बिरामी तथा सर्वसाधारणले चरम सास्ती व्यहोर्नुपर्ने अवस्था सिर्जना भएपछि स्थानीयस्तरमै श्रमदान अभियान सञ्चालन गरिएको हो। लामो समयदेखि निर्माण कार्य अलपत्र पर्दा स्थानीयवासीहरू राज्यप्रति निराश बन्दै गएका छन्।

गाउँपालिकाका अध्यक्ष राईले मध्यपहाडी लोकमार्गको सो खण्ड चाँडो निर्माण सम्पन्न गर्न पटक–पटक निर्माण व्यवसायी, लोकमार्ग आयोजना कार्यालय धुलीखेल, सडक विभाग, मन्त्रालय तथा सम्बन्धित निकायसँग हारगुहार गरे पनि सुनुवाइ नभएको दुखेसो गरेका छन्। ठेकेदारदेखि आयोजना कार्यालय र मन्त्रीसम्मलाई पुकार्दा सबैले चाँडै निर्माण सम्पन्न हुन्छ भन्ने शब्दरुपी आश्वासन मात्रै दिएको तर, काम भने हुदै नभएपछि दिक्क लागेर गाउँलेलाई धुर्याएर श्रमदानमार्फत सडक मर्मत गरेको अध्यक्ष राईले बताए।

अध्यक्ष राईले भर्खरै मात्र पनि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका उपनेता गणेश पराजुलीसँग समन्वयात्मक छलफल गरेर सो खण्डको सडक बनाउन ताकेता गर्दा नयाँ ठेक्का प्रक्रिया चाँडै अघि बढाउने आश्वासन पाएको बताए। तर, नयाँ ठेक्का प्रक्रियामा जाँदा सडक बनाउन कति वर्ष लाग्ने भन्ने ठेगान नभएपछि तत्काल यात्रुलाई सहज आवागमन गर्नका लागि श्रमदान अभियान सञ्चालन गरेर सडक मर्मत गरेको उनले बताए। अध्यक्ष राईले आफू पनि स्थानीय सरकार नै भएकाले नागरिकको पीडामा मौन बस्न नसक्ने भन्दै श्रमदानबाटै भए पनि सक्दो सडक बनाउने अभियान चलाएको बताए।

हाल सञ्चालित श्रमदान अभियानका लागि गाउँपालिकाले ब्याकहोलोडर मेसिन र ट्याक्टरउपलब्ध गराएको छ भने मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले पनि मेसिनरी उपकरण सहयोग गरेको छ। त्यसमा स्थानीय निर्माण व्यवसायीहरूले ट्याक्टरउपलब्ध गराएका छन्। जसको सहारामा दैनिक ५० जनाभन्दा बढी स्थानीय नागरिक तथा जनप्रतिनिधिलाई श्रमदान गरिरहेका छन्।

२०७५ फागुन ३० गतेभित्र कालोपत्रेसहितको स्तरोन्नति योजना सम्पन्न गर्ने लक्ष्यसहित २०७२ चैत २ गते ठेक्का सम्झौता भएको सो सडक निर्माण कम्पनी भारत कन्ट्रक्सन–मैनाचुली सिद्धिशाही जेभीको चरम लापरबाहीका कारण अहिलेसम्म काम अलपत्र छ। पटकपटकको म्याद थप र ताकेताका बाबजुद पनि निर्माण कम्पनीले काम नगरेपछि सरकारले २०८१ जेठ १४ गते ठेक्का तोडेको थियो।

सरकारको ठेक्का तोड्ने निर्णयविरुद्ध निर्माण कम्पनी अदालत पुगेपछि हाल विचाराधीन अवस्थामा रहेका कारण पनि सडक निर्माणको काम कानुनी जछिलतामा पुगेर रुमल्लिरहेको छ।यस्तो अवस्थामा नयाँ ठेक्का प्रक्रिया अघि बढाउन पनि अदालती उल्झनले गर्दा वर्षौंदेखि त्यस आसपासका स्थानीयवासी हिउँदयाममा धुलो र वर्षायाममा हिलोको सास्ती भोग्न बाध्य छन्।

साकेला १ का वडाध्यक्ष हेमन राईका अनुसार केन्द्र सरकारको यो ठेक्का समयमा काम नहुनु र निर्माण व्यवसायीलाई राज्यले छाडा छाडनुको पीडा सर्वसाधारण जिल्लाबासीले भोग्नु परेको छ।ठेकेदारले समयमै काम नगर्दा र आयोजना कार्यालयले कारबाही नगर्दा स्थानीय नागरिकको सडक सुविधाका लागि जनप्रतिनिधिदेखि सर्वसाधारण तथा कर्मचारी र सुरक्षकर्मीसमेत जनश्रमदानमा खट्न बाध्य भएको वडाध्यक्ष राईले बताए।

ठेकेदार कानमा तेल हालेर बस्ने, केन्द्र सरकार अदालतको आदेश पर्खेर बस्ने गरेका कारण साकेलाबासीलाई सडक समस्या परेको स्थानीय सरकारले हेर्न नसकेर श्रमदान अभियान चलाएको उनले बताए। सडक खराव भएका कारण त्यसभेगका नागरकहरू दुःख विमार पर्दा डोकोमा बोकेर उपचार गर्न जानसमेत बाटोको कठिनाइ छ। त्यही समस्याका कारण गाउँपालिकाले चलाएको श्रमदान अभियानमा सबै स्थानीयवासी खटेरश्रमले सडक चलाउने सहभागिता जनाएको स्थानीयले बताएका छन्।

प्रकाशित: १० जेष्ठ २०८३ २०:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App