हराउँदै गइरहेका रैथाने बालीको जगेर्ना, स्थानीय खाद्य परिकारको प्रवर्द्धन र नवीकरणीय ऊर्जामा आधारित दिगो कृषि प्रणालीलाई अघि बढाउने उद्देश्यसहित जुम्लामा कृषि जैविक विविधता तथा खाद्य परिकार प्रदर्शनी मेला हुने भएको छ।
चन्दननाथ नगरपालिका कृषि शाखाको आयोजनाामा मंसिर २७ गते (शनिबार) जिल्ला खेलकुद विकास समितिको मैदानमा हुने मेला जुम्लाको कृषि,सांस्कृतिक पहिचानलाई देशभर परिचित गराउने अवसरका रूपमा हेरिएको छ।
आइतबार गरिएको पत्रकार सम्मेलनमा चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढ्थापाले स्थानीय उत्पादन र मौलिक बालीको प्रवर्द्धन नगरपालिकाको प्राथमिकता रहेको बताए।
‘लोपोन्मुख रैथाने बाली र ती बालीबाट बन्ने परिकार मेला,स्थलको प्रमुख आकर्षण हुनेछन्,’ उनले भने, ‘यस्तो मेला किसान, उपभोक्ता र सरोकारवालाबीच प्रत्यक्ष संवाद र सहकार्य बढाउने माध्यम बन्छ।’
उनका अनुसार जैविक विविधता र परम्परागत खाद्य संस्कृतिको पुनर्जीवन अहिलेको प्रमुख आवश्यकता बनेको छ। यता कृषि विकास शाखाका प्रमुख शरद पोखरेलले स्थानीय उत्पादनले समुदायको स्वास्थ्यमा पुर्याएको सकारात्मक प्रभाव स्मरण गर्दै मेलाले जनस्तरमा पोषण, सुरक्षित भोजन र जैविक कृषि प्रवर्द्धनबारे महत्वपूर्ण सन्देश दिने बताए।
‘परम्परागत प्रजातिको संरक्षण र कृषिमा नयाँ सम्भावनाको पहिचानमा यो मेला टेवा पुग्नेछ,’ पोखरेलले भने। मेलामा चन्दननाथ नगरपालिका, तातोपानी र पातारासी गाउँपालिकाका किसानहरूले १२ वटा स्टलमार्फत मौलिक बिउ,विजन, स्थानीय उत्पादन र परिकार प्रदर्शनी गर्नेछन्।
कृषि सहकारीहरूले संरक्षित र विकसित गरेका रैथाने खाद्य सामग्री पनि सार्वजनिक गर्नेछन्। जुम्लाका सिमी, मार्सी चामल, चिनो, कागुनो, कोदो, फापरदेखि परम्परागत परिकारसम्म एकै ठाउँमा देखिने आयोजकको दाबी छ।
चन्दननाथ नगरपालिका तथा तातोपानीका अभिभावक र विद्यार्थीलाई रैथाने बालीमा आधारित दिवाखाजाबारे जानकारी दिने कार्यक्रम पनि मेलाले समेटेको छ। यसले विद्यालयमा रैथाने दिवाखाजा नियमित प्रयोगमा टेवा पुग्ने विश्वास आयोजकको छ।जैविक विविधता, परम्परागत संस्कार, पोषण र स्थानीय उत्पादनलाई एउटै मञ्चमा जोडेर प्रस्तुत गरिने मेलाले जुम्लाको कृषि,सांस्कृतिक पहिचानलाई दीर्घकालीन रूपमा सुदृढ बनाउने अपेक्षा गरिएको छ।
स्थानीय भेष, भाषादेखि खान,पिनसम्मको मौलिकता जोगाउँदै दिगो कृषि प्रणाली निर्माणको प्रयासलाई संस्थागत गर्न मेलाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास राखिएको छ।
यसैबीच, कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले जिल्लाको कृषिगत अवस्थाबारे जानकारी दिएका छन्। उनका अनुसार जुम्लाको कुल क्षेत्रफल २ लाख ५३ हजार १ सय ६ हेक्टरमध्ये ३८ हजार ४ सय ८६ हेक्टर (१५.२१ प्रतिशत) खेतीयोग्य जमिन छ।
तीमध्ये १२ हजार ५१ हेक्टर (३१.३१ प्रतिशत) जमिन बाँझो छ। आर्थिक वर्ष २०८०/८१ को तथ्यांकअनुसार जुम्लामा १४ हजार ५ सय ३३ हेक्टरमा खाद्यान्न बाली खेती भई २४ हजार २ सय ३१ मेट्रिक टन उत्पादन भएको छ।
धान २ हजार ८ सय ९० हेक्टरमा ५ हजार ९ सय ८७ मेट्रिक टन, गहुँ २ हजार २ सय हेक्टरमा, मकै ४ हजार ४ सय ५० हेक्टरमा १० हजार ५ सय मेट्रिक टन, कोदो २ हजार ७ सय ४० हेक्टरमा ३ हजार ८ सय ५० मेट्रिक टन, जौँ १ हजार ९ सय ३५ हेक्टरमा ३ हजार ५ सय १५ मेट्रिक टन उत्पादन भएको अधिकारीले बताए।फापर ९५ हेक्टरमा १ सय १० मेट्रिक टन, उवा १० हेक्टरमा १५ मेट्रिक टन, चिनो २ सय हेक्टरमा २ सय ४० मेट्रिक टन तथा कागुनो १३ हेक्टरमा १४.३ मेट्रिक टन उत्पादन भएको छ।कृषि तथा परम्परागत खाद्य संस्कृतिको संरक्षणलाई स्थानीय तहबाटै सुदृढ बनाउने स्वर उठिरहेका बेला जुम्लामा आयोजना हुँदै गरेको यो मेला कृषि क्षेत्रको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण मोड बन्ने आयोजकहरूको अपेक्षा छ।
प्रकाशित: २१ मंसिर २०८२ २०:२३ आइतबार





