जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ गोठिज्युलास्थित प्रहरी चौकीले स्थापनाको झण्डै १४ वर्षपछि आफ्नै भवन पाएको छ।
लामो समयदेखि साँघुरो र जीर्ण भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको यो चौकी अब आफ्नै आधुनिक र सुविधा सम्पन्न भवनमा सरेको हो।
स्थानीयवासीले निःशुल्क उपलब्ध गराएको जग्गामा ४ करोड १० लाख रुपैयाँको लागतमा साढे तीन तले पक्की भवन निर्माण गरिएको हो। नवनिर्मित भवनको बुधबार कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) माधवप्रसाद श्रेष्ठले उद्घाटन गरे।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै डिआइजी श्रेष्ठले सुविधा सम्पन्न भवन प्राप्त भएसँगै प्रहरीले उच्च मनोबलका साथ जनताको जिउधनको सुरक्षा गर्नुपर्नेमा जोड दिए।
उनले भने, ‘भौतिक पूर्वाधारको विकासले मात्र पुग्दैन, प्रहरीले प्रवाह गर्ने सेवा पनि गुणस्तरीय हुनुपर्छ। यो नयाँ भवनले समुदाय र प्रहरीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिएको छु।’
नवनिर्मित भवन भूकम्पप्रतिरोधी मापदण्डअनुसार निर्माण गरिएको छ। भवनमा कार्यालय कक्ष, गार्ड रुम, सञ्चार कक्ष, महिला तथा पुरुषका लागि छुट्टाछुट्टै हिरासत कक्ष, ब्यारेक, भान्सा, मनोरञ्जन कक्ष र अपाङ्गतामैत्री शौचालयको व्यवस्था गरिएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डिएसपी) रविन्द्र रेग्मीले वर्षौँदेखि भोग्नुपरेको कष्टकर अवस्थाको अन्त्य भएको बताए।
‘हिजोसम्म हावाहुरी चल्दा छाना चुहिने र अत्यधिक चिसो कोठामा बसेर डिउटी गर्नुपर्ने बाध्यता थियो,’ डिएसपी रेग्मीले भने, ‘अब गोठिज्युला प्रहरी चौकी जिल्लाकै सबैभन्दा सुविधा सम्पन्न युनिट बनेको छ। यसले नागरिकलाई सेवा दिन थप सहज हुनेछ।’
जुम्लामा रहेका १३ वटा स्थायी प्रहरी चौकीमध्ये गोठिज्युला, रारालिही र कुडारी मात्र आफ्नै भवनमा सञ्चालनमा आएका छन्। बाँकी १० वटा चौकी अझै भाडाकै घरमा छन्। जिल्लाभर ६ वटा अस्थायी पोस्टसहित २९ वटा प्रहरी युनिट क्रियाशील छन्।
कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदरप्रसाद आचार्यले भवन निर्माणलाई प्रहरी र स्थानीय सरकारबीचको सहकार्यको उत्कृष्ट नमुना भएको बताए।
प्रकाशित: १८ मंसिर २०८२ १३:५० बिहीबार





