पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनिवेशी नगरपालिका–६, चालिसेमा शनिबार अपराह्न भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ।
शनिबार दिउँसो करिब ४ बजे ७ वटा सवारी साधन एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा ३५ जना घाइते भएका थिए। तीमध्ये उपचारका क्रममा दुई पुरुषको साँझ ६:१५ बजे निधन भएको प्रहरीले पुष्टि गरेको छ।
मृत्यु हुनेमा दुर्घटनामा परेको लु ९५ प ३०७ नम्बरको मोटरसाइकलका चालक रहेका छन्।
धादिङको थाक्रे गाउँपालिका–६ महादेववेशी बस्ने ५९ वर्षीय सेख खलि एसको उपचारका क्रममा काठमाडौंस्थित शिक्षण अस्पताल (टिचिङ) मा मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक श्यामकुमार बस्नेतले जानकारी दिए।
शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका उनको साँझ ६:१५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
त्यस्तै, दुर्घटनामा परी गम्भीर घाइते भएका अर्का एक पुरुषको पनि साँझ ६:१५ बजे नै मृत्यु भएको छ। मृतक अन्दाजी ३०/३५ वर्षको देखिए पनि हालसम्म उनको नाम, थर र वतन खुल्न सकेको छैन। उनको सनाखत गर्ने प्रयास भइरहेको प्रहरी निरीक्षक बस्नेतले जनाए।
शनिबार अपराह्न काठमाडौं र गोरखातर्फ आउँदै–जाँदै गरेका बस, स्कुल बस, भारतीय कन्टेनर, ट्रक र मोटरसाइकल गरी जम्मा ७ वटा सवारी साधन चालिसे मोडमा एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा चितवनको कालिका नगरपालिकास्थित श्री सेकेन्डरी स्कुल रेडक्रस ग्रामका विद्यार्थीहरू, शिक्षक र अन्य सवारीका यात्रुहरू गरी ३३ जना घाइते भएका छन्।
घाइतेमध्ये केहीको काठमाडौंका विभिन्न अस्पतालमा र केहीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ भने सामान्य घाइतेहरू डिस्चार्ज भइसकेका छन्।
प्रकाशित: २० मंसिर २०८२ २१:५३ शनिबार





