इलाममा जेनजी आन्दोलनक्रममा गत भदौ २३ र २४ गते भएको तोडफोड तथा आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ। मंसिर २० र २१ मा पक्राउ पर्नेहरू इलामसहित झापा र ताप्लेजुङका बासिन्दासमेत छन्।
पक्राउ पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष टीकाराम चौहानसमेत छन्। इलाम नगरपालिका ९ का ४६ वर्षे चौहानलाई पनि पक्राउ गरिएको हो। प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार इलाम ७ का ५२ वर्षे कमलकुमार साह हलुवाई, इलाम ६ का २९ वर्षे विशाल नोभाङ, इलाम ७ का ४० वर्षे पवित्तर मल्लिक, इलाम ९ का ३९ वर्षे होमबहादुर खवास, फाकफोकथुम ३ का २३ वर्षे आदर्श राई, इलाम ४ का ३६ वर्षे यादव तिवारी, इलाम ६ का ३० वर्षे अर्जुन तित्रखी, सन्दकपुर २ की २५ वर्षीया अन्जु राई, इलाम १ का ३० वर्षे सागर संग्रौला छन्।
यसैगरी, ताप्लेजुङ मिक्वाखोला २ का ३२ वर्षे तेजकुमार बिक, इलाम १२ का २८ वर्षे अनिश राई, इलाम ५ का २३ वर्षे मोहन भनिने मोहनकुमार लिम्बू (फत्र), झापा पृथ्वीनगर घर भई इलाम ५ बस्ने सुरज राई भनिने ४३ वर्षे सुरज गुरुङ र इलाम ९ का ३६ वर्षे सविन राई छन्।
उनीहरूलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिइन्। ‘पक्राउ परेकाहरूलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ,’ उनले भनिन्।
जेनजी समूहले भदौ २४ मा गरेको आन्दोलनक्रममा आगजनी र तोडफोड हुँदा इलामका विभिन्न सरकारी कार्यालय, पार्टी कार्यालय, प्रहरी बिट, सवारी साधनलगायतमा क्षति भएको थियो। तोडफोडबाट प्रशासन कार्यालयमा आंशिक क्षति भएको थियो। चोकबजारको प्रहरी पोस्टमा तोडफोड र कागजपत्र आगजनी, बिब्ल्याँटे बजारस्थित प्रहरी पोस्ट तोडफोड र आगजनी गरिएको थियो।
यस्तै, इलाम नगरपालिका कार्यालयमा आगजनी र तोडफोड गर्दा करिब पाँच करोड रुपैयाँको क्षति भएको नगरले अनुमान गरेको छ। नगरपालिका कार्यालयका सवारी साधन भवन, झ्याल, ढोका, फर्निचर, कागजात, ल्यापटप, दराजलगायत क्षति भएको थियो।
जिल्ला निर्वाचन कार्यालयका ल्यापटप, एउटा गाडी, दुई मोटरसाइकल, भवनका झ्याल-ढोका, मतपेटिका, फर्निचर, फोटोकपी, कम्प्युटरलगायतमा तोडफोड गरी क्षति भएको थियो। प्रहरीले निर्वाचन कार्यालयको करिब तीन करोड रुपैयाँको क्षति अनुमान गरेको थियो। करदाता सेवा कार्यालयमा समेत क्षति भएको थियो भने कार्यालयका सबैजसो कागजात बाहिर निकालेर डढाइएको थियो। कार्यालयको एउटा गाडी तोडफोड गरिएको थियो।
माई नगरपालिकाका चार मोटरसाइकल र एउटा गाडी तोडफोड गरिएको थियो। कार्यालयका कागजात र सामग्री बाहिर निकालेर जलाइएको थियो। माईकै वडा १, २, ३, ४, ७, ८, ९ र १० नम्बर वडा कार्यालयका कागजात र सामग्री बाहिर निकालेर जलाइएको थियो। माईकै सुखानी अध्ययन केन्द्रमा तोडफोड र आगजनी गरिएको थियो। माई नगरपालिका ४ को दानबारी सामुदायिक सिकाइ केन्द्रमा आगजनी हुँदा करिब १३ लाखको क्षति अनुमान गरिएको थियो। रोङ गाउँपालिका २ को वडा कार्यालयमा तोडफोड र कागजपत्रमा आगजनी गरिएको थियो।
इलाम ७ स्थित नेपाली सेनाको अतिथिगृह तोडफोड गरिएको थियो। इलाम बजारमा रहेका नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी)लगायत पार्टी कार्यालयमा तोडफोड गरिएको थियो। कागजात निकालेर जलाइएको थियो।
माओवादी कार्यालयसँगै रहेको सहिद स्मृति प्रतिष्ठान, प्रतिष्ठानसँगै रहेको पुस्तकालय र एमाले कार्यालयसँगै रहेको सूर्यरत्न बचत तथा ऋण सहकारी संस्थामा समेत क्षति भएको थियो। इलाम बजारस्थित रेडियो नेपालवाणी एफएमको कार्यालयमा क्षति पुगेको थियो। माई नगरपालिका २ को एमाले कार्यालयमा क्षति भएको थियो। इलामस्थित नेपाल बार एसोसिएसन भवनमा पनि तोडफोडबाट आंशिक क्षति भएको थियो। एक म्यानपावर कम्पनीको कार्यालयमा तोडफोड गरिनुका साथै कागजपत्र जलाइएको थियो। कतिपय क्षतिको विवरण अझै उल्लेख हुन बाँकी छ।
आन्दोलनपछि ‘जेनजी इलाम’ लेखी जारी गरिएको विज्ञप्तिमा आफूहरूले शान्तिपूर्ण आन्दोलन घोषणा गरेपनि तोडफोड र आगजनीमा परिणत भएको भन्दै विध्वंश मच्चाउनेको छानबिन गरी कारबाही गर्न माग गरिएको थियो।
प्रकाशित: २३ मंसिर २०८२ १३:२५ मंगलबार





