२९ वैशाख २०८३ मंगलबार
image/svg+xml
समाज

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रतिवद्धता

ओझेलमा परेको कपिलवस्तुको ऐतिहासिक तथा पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्ने उद्देश्यले कपिलवस्तुको तौलिहवामा १०औँ प्राचीन कपिलवस्तु महोत्सव सुरु गरिएको छ । वैशाख ४ देखि १५ गतेसम्म तौलिहवास्थित बुद्धपद्म उच्च माविको मैदानमा महोत्सव सञ्चालन हुनेछ ।

तौलिहवा उद्योग वाणिज्य संघको आयोजनामा सुरु गरिएको महोत्सवको पानसमा दीप प्रज्वलन गरी सांसद विक्रम सिंह थापाले उद्घाटन गरेका हुन् । रात्रीकालीन रूपमा सञ्चालन हुने महोत्सव उद्घाटन गर्दै उनले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रतिबद्धता व्यक्त गरे ।

उनले कपिलवस्तु ओझेलमा पर्नुको कारण सबैले जिम्मेवारी लिनुपर्ने बताउँदै समग्र विकासका लागि कपिलवस्तु विकास समिति गठन आवश्यक रहेको उल्लेख गरे । साथै, उनले कपिलवस्तुको समग्र विकासका लागि आफू सबैसँग सहकार्य र समन्वय गर्न तयार रहेको बताए ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले मेला–महोत्सवले व्यापारी तथा उद्योगीहरूको आर्थिक कारोबारमा वृद्धि हुने बताए । उनले खुला संग्रहालयका रूपमा रहेको कपिलवस्तुको विकासमा सबैले पहल गर्नुपर्नेमा जोड दिए ।

पूर्वमन्त्री दानबहादुर चौधरीले जिल्लाबाट आधा दर्जनभन्दा बढी मन्त्री भए पनि तिलौराकोटको विकासमा खासै काम हुन नसकेको स्वीकार गरे ।

त्यस्तै, लुम्बिनी प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णचन्द्र शर्माले ऐतिहासिक पहिचान बोकेको कपिलवस्तुको आर्थिक विकासका लागि ठोस पहल आवश्यक रहेको बताए ।

तीन वटा बुद्धका क्रिडास्थल भए पनि उपेक्षित बनेको ऐतिहासिक भूमि कपिलवस्तुबाट भगवान गौतम बुद्धको शान्तिको सन्देश विश्वभर फैलाउने तथा यहाँका बुद्धसँग सम्बन्धित स्थलहरूको प्रचार–प्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादीन कुर्मीले बताए ।

महोत्सवमा कृषि, पर्यटन, घरेलु तथा लघु उद्यम, बाल उद्यानलगायतका स्टल रहनेछन् । करिब एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र एक करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान गरिएको मेला संयोजकले बताएका छन् । महोत्सवमा एक सयभन्दा बढी स्टल रहने जनाइएको छ ।

प्रकाशित: ५ वैशाख २०८३ १८:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App