२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
समाज

राउटे युवामा देखिएको परिवर्तन : रुख मास्दै हिँड्नेले बिरुवा रोप्न थाले

कर्णालीका विभिन्न जिल्लाहरूमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदाय काठका सामग्री बनाउन रुख काट्ने गर्दछ। रुख काटेर राउटेले कौसी, मधुस, पिर्का, डाडु, पन्यूलगायतका सामग्रीहरू बनाउँछन् र त्यसैले गुजारा चलाउँछन्। 

दुई दशक अघिसम्म पैसा छोएमा पाप लाग्छ भन्ने यो समुदायले दैनिकी चलाउने एउटै मात्र विकल्प रुख हो। पछिल्लो समय वन संरक्षणका लागि सामुदायिक वन गठन हुन थालेपछि भने राउटे समुदायलाई सामग्री बनाउन काठको समस्या हुन थाल्यो।  

‘सामुदायिक वनमा रुख काट्न समस्या हुन थाल्यो,’ राउटे युवा प्रकाश शाहीले भने, ‘त्यही भएर पछिल्लो समय हामी रुख मात्र काट्दैनौँ, बिरुवा रोप्ने र हुर्काउने काममा पनि लागेका छौँ।’ अहिले राउटे समुदाय सुर्खेतको लेकवेशी नगरपालिका–१० स्थित चन्द्रपुरमा बस्दै आएको छ। आइतबार राउटे समुदायले खाँणदेवी सामुदायिक वनमा पुगेर दुई सयभन्दा धेरै बिरुवाहरू रोपे।  

‘हामी रुख–बुटाहरू मात्रै मास्दैनौँ, पछिका सन्तानका लागि बिरुवाहरू पनि रोप्छौँ,’ बिरुवा रोप्दै गरेका राउटे युवा प्रकाशले भने, ‘अहिले बिरुवा रोप्यौँ भने ठूलो भए पनि काट्न पाइन्छ।’ कर्णाली प्रदेश सरकारले सात वर्षअघि नै कर्णालीका डिभिजन वन कार्यालयलाई पत्राचार गरेर सामुदायिक वनको विधान र कार्य योजना नवीकरण गर्दा तथा नयाँ सामुदायिक वन हस्तान्तरण गर्दा राउटे समुदायलाई अनिवार्य रूपमा उपभोक्ताका रूपमा समावेश गर्न पत्राचार गरेको थियो। प्रदेश सरकारको निर्देशन कार्यान्वयन नहुँदा समुदाय र राउटे समुदायबिच रुख काट्ने विषयमा बेलाबेलामा विवाद हुने गरेको छ।  

लेकवेशी नगरपालिकाका मेयर उमेश पौडेलले राउटे समुदाय र अन्य समुदायबिचको सम्बन्ध प्रगाढ बनाउन तथा बिरुवाको महत्त्व बताउनका लागि राउटेलाई वृक्षारोपण कार्यक्रममा सहभागी गराइएको बताए। ‘तपाईँहरू आठ–दस वर्षमा एक पटक आउनुहुन्छ, रुख काट्नुहुन्छ, रुख हुर्काउन धेरै समय लाग्छ, बिरुवा रोप्ने र हुर्काउने काममा पनि लाग्नुहोस् भन्ने सन्देश दिन खोजेका हौँ,’ उनले भने, ‘राउटे समुदायले पनि आफू जहाँ जहाँ जान्छौँ, त्यहाँ बिरुवा रोप्ने र साना बिरुवालाई नोक्सान नगर्ने बताएका छन्।’  

राउटे समुदायको अहिलेको जनसङ्ख्या १३५ छ। तीमध्ये ४० जना राउटे पुरुषहरू वृक्षारोपणमा सहभागी थिए। लेकवेशी नगरपालिका–८ का वडाध्यक्षसमेत रहेका सामुदायिक वनका अध्यक्ष टिमाराम छन्तेलले राउटे समुदाय रुख काट्न मात्र होइन, बिरुवा रोप्न पनि सिपालु रहेको बताए। ‘खाल्डा खन्ने र रोप्ने मामिलामा हामीभन्दा पनि उनीहरू सिपालु छन्,’ छन्तेलले भने, ‘आगामी दिनहरूमा पनि बिरुवा रोप्ने, लगाएका बिरुवाको संरक्षण गर्नेलगायतका काममा निरन्तर सहभागी गराउँछौँ।’  

यसअघि दैलेखको गुराँस गाउँपालिकाले वडा नं. ५ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत नौ दिनसम्म बिरुवा रोप्ने काम लगाएको थियो। त्यति बेला राउटे समुदायले पाँच सय टिमुरका बिरुवा रोपेका थिए। उनीहरूलाई दैनिक पाँच सय १७ रुपियाँका दरले ज्याला उपलब्ध गराइएको थियो।

प्रकाशित: ११ श्रावण २०८२ १७:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App