२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
समाज

हुम्ला र मुगुलाई जोड्ने बेलिब्रिज : कर्णालीको नयाँ यात्रा

तस्बिरः बेलिब्रिजको उद्घाटन गर्दै कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही।

तोली कर्णालीमा बेलिब्रिज बनेपछि हिमाली जिल्ला हुम्ला र मुगु सडक सञ्जालसँग जोडिएका छन्। बेलिब्रिज सञ्चालनमा आएपछि कर्णाली नदी तर्न तुइनको जोखिमपूर्ण यात्रा गर्नुपर्ने स्थानीयको बाध्यता हटेको छ।  

हुम्लाको चंखेली गाउँपालिका वडा नं.-२ र ४ लाई जोड्ने यो बेलिब्रिज उत्तरी हुम्लाका नाम्खा, खार्पुनाथ, सिमकोट र सर्केगाड गाउँपालिकाका बासिन्दालाई प्रदेश राजधानी सुर्खेत र देशका अन्य भागमा यात्रा गर्ने वैकल्पिक मार्ग पनि हो।  

दुई जिल्लालाई जोड्ने तोली कर्णाली नदीमाथिको बेलिब्रिज कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले उद्घाटन गरे। पूर्वमुख्यमन्त्री शाहीले मुगु, जुम्ला हुँदै अन्य प्रदेश राजधानी र तराईका जिल्लासँग हुम्ला सदरमुकाम सिमकोटको पहुँच स्थापित भएको बताए। उनले यो वैकल्पिक सडकलाई डबल लेनमा विस्तार गर्न पहल भइरहेको बताए। ‘२०५५ सालदेखि सुरु गरिएको हुम्ला सडक अभियान अहिले आएर साकार हुँदैछ,’ उनले भने, ‘तीन तहका सरकार र जनस्तरको निरन्तर प्रयासले यो उपलब्धि सम्भव भएको हो।’ 

हिमाली जिल्ला हुम्ला सदरमुकाम अघिल्लो महिना मात्र राष्ट्रिय सडक सञ्जालसँग जोडिएको थियो। कर्णाली करिडोरअन्तर्गत सुर्खेत-दैलेख, कालिकोट-बाजुरा हुँदै हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएको एक महिनामै अर्को वैकल्पिक मार्गले पनि पूर्णता पाएको छ। यो सडक सुर्खेत-दैलेख-कालिकोट-जुम्ला-मुगु हुँदै हुम्ला जोडिन्छ। यसलाई हिल्सा-सिमकोट-मुगु-सुर्खेत मार्ग पनि भनिन्छ। ‘यसले केवल रणनीतिक दृष्टिले मात्र होइन, नेपाल-भारत-चीन त्रिपक्षीय व्यापार र कर्णालीसहित सम्पूर्ण राष्ट्रिय विकासमा पनि प्रभाव पार्छ,’ उनले भने।  

चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले ४ करोड ९८ लाख रुपैयाँको लागतमा बेलिब्रिज बनेको बताए। उनले बेलिब्रिज बनेपछि तुइनको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता अन्त्य भएको र सदरमुकाम सिमकोट जान सुदूरपश्चिमको बाजुराको बाटो तय गर्नुपर्ने बाध्यता पनि हटेको बताए। ‘हाम्रो पालिकाका तीन वडाका नागरिकले पालिकाको केन्द्र पिप्लाङ आउन तुइनको जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था थियो,’ उनले भने, ‘त्यो बाध्यता बेलिब्रिज सञ्चालनमा आएपछि हटेको छ।’ ४२ मिटर लामो बेलिब्रिजले मुगुबासीलाई हुम्ला सदरमुकाम हुँदै मानसरोवरसम्म पुग्न र हुम्लाका नागरिकलाई मुगुको रारातालको यात्रा गर्न छोटो र सहज भएको छ।  

जनता सडकको अनुगमन  

पूर्वमुख्यमन्त्री शाहीले खार्पु-ताकुलेख जनता सडकको अनुगमन गरे। हुम्लाको खार्पुनाथ गाउँपालिका-५ खार्पुदेखि सिमकोट गाउँपालिका-१ ताकुलेखसम्मको ९० किलोमिटर सडक योजनामध्ये हालसम्म खार्पुदेखि लिलीकाँधसम्म करिब ३० किलोमिटर सडक निर्माण सम्पन्न भएको छ। 

शाहीले निर्माणाधीन सडकको भौतिक प्रगति र निर्माणको गुणस्तरका विषयमा सरोकारवाला निकाय र स्थानीय बासिन्दासँग संवाद गरे। ‘यो सडक बनेपछि गाउँ-सहरबिचको दूरी मात्र घट्ने होइन, स्थानीय जनताको जीवनस्तर पनि बदलिन्छ,’ उनले भने, ‘कृषि उत्पादनको बजार पहुँच, स्वास्थ्य र शिक्षा सेवा सहज उपलब्ध हुनेछ।’ पूर्वमुख्यमन्त्री शाहीले सडक निर्माणमा स्थानीय जनशक्ति परिचालन गरी रोजगारी सिर्जना गर्ने खाका प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।  

पूर्वमुख्यमन्त्री शाहीले खार्पु-ताकुलेख सडकलाई सिमकोट, खार्पु हुँदै ताकुलेखसम्म जोड्ने दीर्घकालीन लक्ष्य रहेको बताए। यो आयोजना कर्णाली प्रदेशको आर्थिक र सामाजिक रूपान्तरणको आधारशिला बन्ने उनको विश्वास छ।

प्रकाशित: १४ श्रावण २०८२ १४:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App