गाईघाटदेखि खोटाङ सदरमुकाम दिक्तेल जोड्ने निर्माणाधीन सगरमाथा लोकमार्ग ३ दशकसम्म पनि सम्पन्न नभएपछि जिल्लावासीलाई वैकल्पिक सडक दिने व्यवस्था खोजी सुरु भएको छ। ०५३ सालदेखि निर्माण सुरु भएको सो लोकमार्ग अहिलेसम्म सम्पन्न नहुँदा वाक्क दिक्क भएका खोटाङवासीलाई प्रदेश सरकारले वैकल्पिक सडक व्यवस्था गर्न लागेको हो।
प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईले खोटाङतर्फ लोकमार्गको विकल्प अपनाउँदै सदरमुकाम दिक्तेलदेखि दक्षिण क्षेत्र रेग्मीटारसम्म आवतजावत सहज बनाउने योजना अघि सारेका छन्। जसअनुसार वर्षौंदेखि निर्माण अलपत्र परिरहेको लोकमार्गको रेग्मीटारदेखि दिक्तेल जोड्ने गरी नयाँ सडक निर्माण प्रक्रिया अघि बढेको छ।
रेग्मीटार-दिक्तेल जोड्ने सडक निर्माण थाले पनि प्रमुख बाधक रहेको घर्तीभीरको जोखिमपूर्ण भूभाग फुटाएर सडक बनाउन लागिएको छ। त्यसका लागि मन्त्री राईले भर्खरै घर्तीभीरको स्थलगत अनुगमन गरेका छन्। प्राविधिक टोलीसहित स्थलगत अनुगमन गरेर फर्केका मन्त्री भूपेन्द्र राईले सोमबार उदयपुरमा पत्रकारहरूसँग कुरा गर्दै रेग्मीटारदेखि दिक्तेल जोड्ने सडक यसै वर्ष निर्माण सुरु गर्न योजना अघि बढाएको बताए।
सगरमाथा लोकमार्गको काम कछुवा गतिमा भइरहेकोप्रति असन्तुष्टि जनाउँदै मन्त्री राईले जनताले पाउने सेवा-सुविधाका लागि द्रुत गतिमा काम गर्नुपर्नेमा जोड दिए। लगातार ३ दशकदेखि बनिरहेको सडक अहिलेसम्म ५० प्रतिशत पनि काम नभएको भन्दै उनले आफू खोटाङको जनप्रतिनिधि भएको नाताले सक्दो प्रयास गरेर जिल्लावासीलाई सडक सुविधा दिन वैकल्पिक सडक बनाउन लागेको बताए।
दिक्तेल-रेग्मीटार सडक निर्माणका लागि प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षमा २ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी पनि उनले दिए। सो बजेट तत्काल कार्यान्वयनमा लाने गरी प्राविधिक टोलीसहित स्थलगत अनुगमन गरेर फर्केको जानकारी दिँदै मन्त्री राईले यसै वर्ष घर्तीभीर फोर्ने कार्य प्रारम्भ हुने बताए।
घर्तीभीरको चट्टान फुटाउन सके लामो समयदेखि निर्माण अवरुद्ध रहेको रेग्मीटारदेखि दिक्तेल जोड्ने सडक बनाउने प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ।
प्रकाशित: १६ मंसिर २०८२ १४:१५ मंगलबार





