८ वैशाख २०८१ शनिबार
समाज

कोप-२७ मा पाकिस्तान सबैभन्दा बढी चर्चामा

राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२७) मा जलवायु परिवर्तनका कारण भइरहेको हानिनोक्सानीको शोधभर्ना एक प्रमुख मुद्दा भइरहेका बेला भीषण बाढीले तहसनहस भएको पाकिस्तान सबैभन्दा बढी चर्चामा रहेको छ। विश्वका अधिकांश नेताले यस वर्ष पाकिस्तानमा आएको भीषण विपद्, यसले निम्त्याएको वितन्डा र आगामी संकेतको प्रसंग आफ्ना मन्तव्यमा समावेश गरेका छन्।

विश्वका नेताहरूको दुईदिने वल्र्ड लिडर्स समिटको पहिलो दिन सोमबार अपराह्न पाकिस्तानी प्रधानमन्त्री सेवाज सरिफ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनिओ गुटरेसले एउटै मञ्चमा बसेर संकटबारे ऐक्यबद्धता जनाएका छन्।

सम्मेलन स्थलमा स्थापित पाकिस्तानी पेभिलियनमा सोमबार अपराह्न यी दुई जनाको संयुक्त उपस्थित हुँदा  सञ्चारकर्मीको थामिनसक्नु भीड जम्मा भएको थियो। आफ्ना परराष्ट्रमन्त्री विलावल भुट्टोसहित आफ्नो पेभिलियनमा उपस्थित भएका प्रधानमन्त्री सरिफले सुरुमा आफ्नो भनाइ राख्दै बाढीले ३० अर्ब अमेरिकी डलरबराबरको आर्थिक नोक्सान गरेको जानकारी दिएका थिए।

महासचिव गुटरेसले उठाउँदै आएको जलवायु न्यायको प्रसंगलाई इंगित गर्दै प्रधानमन्त्री सरिफले भने, ‘मेरो उद्देश्य तपाईंको जस्तै छ। तपाईंले भन्ने गरेझैं असहायता मृत्युदण्ड बन्नुहँदैन। यो समयविरुद्धको दौडमा हामीले मिलेर काम गर्न आवश्यक छ। जुन अवस्था पाकिस्तानमा सिर्जना भएको छ, त्यो अवस्था पाकिस्तानमा मात्रै रहने छैन।’

‘धेरै ढिला हुनुअघि नै हामीले मिलेर काम गर्नुपर्छ,’ प्रधानमन्त्री सरिफले भने। उनले त्यसअघि भने, ‘विश्वमा भइरहेको तापमान वृद्धिले पाकिस्तानजस्तो देश सबैभन्दा बढी जोखिममा रहेको छ। पाकिस्तानका दक्षिणी क्षेत्रमा अझै ठुलो जमिनको भाग जलमग्न छ। कैंयन भौतिक संरचना नष्ट भएका छन्, बाढीले जनस्वास्थ्यमा प्रभाव पारेको छ र समग्र रूपमा जलवायु परिवर्तनले पाकिस्तानको सामाजिक तथा आर्थिक रूपमा नराम्ररी प्रभावित भएको छ।’ सरिफका अनुसार यो संकट समाधान गर्न पाकिस्तानले सक्दो प्रयास गरे पनि त्यो अपर्याप्त छ र हिउँदअघि नै लाखौं मानिसको बसोबासको सुनिश्चितता गर्नुपर्नेछ।

सरिफपछि आफ्नो मन्तव्य राख्ने क्रममा महासचिव गुटरेसले अन्तर्राष्ट्रिय समुदायले ठूलो स्तरमा पाकिस्तानलाई सहयोग गर्ने कर्तव्य रहेको बताए। सम्मेलनमा सहभागी जलवायु परिवर्तन सम्बन्धी संरचना महासन्धिका पक्षधर राष्ट्रका प्रतिनिधिहरूलाई सम्बोधन गर्दै गुटरेसले पाकिस्तानको विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने औंल्याउँदै जलवायुजन्य हानि-नोक्सानीलाई सम्बोधन गर्न संस्थागत संरचना आवश्यक रहेको र यस प्रकारको संरचनाले पाकिस्तानको हित हुने बताए।

सम्मेलनमा हानिनोक्सानीको विषयलाई पहिलोपटक औपचारिक वार्ताको विषयमा समावेश गरिएको छ। विकासोन्मुख तथा अल्पविकसित राष्ट्रले धैरै पहिलादेखि नै जलवायुजन्य हानिनोक्सानीको सम्बोधन गर्न छुट्टै निकाय र वित्तीय कोष हुनुपर्ने माग गरे पनि धनी राष्ट्रले बेवास्ता गर्दै आएका छन्।

यसैगरी पाकिस्तान जस्तो मध्यम आय भएका राष्ट्रको ऋण मिनाहा गर्ने विषय जटिल रहेको प्रसंग उद्धृत गर्दै महासचिव गुटरेसले बालीमा छिट्टै हुन लागेको जी २० समूहको बैठकमा प्राकृतिक विपद्ले आक्रान्त पाकिस्तान जस्ता देशलाई वित्तीय सहयोग र ऋण मिनाहा गर्ने विषयमा निर्णय हुनुपर्ने बताए।

जलवायु परिवर्तनका कारण अत्यधिक प्रभावित मध्यम आय भएको देश पाकिस्तानले सहुलियतपूर्ण वित्तीय सहायता पाउनबाट वञ्चित हुन नहुने उनको तर्क थियो। ‘पाकिस्तानको सन्दर्भमा जलवायुजन्य हानि-नोक्सानी एउटा वास्तविकता हो। यसलाई सम्बोधन गर्न वित्तीय संरचनाको आवश्यकता छ। मलाई विश्वास छ, कोप–२७ ले यो विषयमा निर्णय लिनेछ,’ उनको भनाइ थियो।

यसैबीच सम्मेलनको दोस्रो दिन मंगलबार पाकिस्तानका प्रधानमन्त्री सरिफले जलवायुजन्य हानिनोक्सानीको विषयलाई केन्द्रीय मुद्दा बनाउन आग्रह गरेका छन्। जलवायु विपद् मानवीय कारणले सिर्जना भएको चर्चा गर्दै उनले पाकिस्तानलगायत जलवायुजन्य संकटको उच्च जोखिममा रहेका राष्ट्रहरूलाई जलवायु वित्त प्रवाह सुनिश्चित हुनुपर्ने बताए।  

प्रकाशित: २३ कार्तिक २०७९ ०१:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App